Skip to main content

बालबालिकाको खेल्ने अधिकार कागजमै सीमित छैन

नेपालका नीतिहरूले खेलमा आधारित सिकाइ समावेश गरे पनि व्यवहारमा अभिभावक र विद्यालयले खेल र पढाइलाई फरक तरिकाले बुझ्ने गरेका छन्। बालबालिकाको समग्र विकासका लागि खेललाई सिकाइको आधार मान्दै विद्यालयको गुणस्तर मापन गर्ने दृष्टिकोणमा परिवर्तन आवश्यक देखिन्छ। ‘बालबालिकाहरू खेल्दै जाँदा सिक्छन्। सबैभन्दा महत्त्वपूर्ण कुरा, खेलमा बच्चाहरूले कसरी सिक्ने भनेर सिक्छन्।’ – ओ. फ्रेड डोनाल्डसन। ११ जुन अन्तर्राष्ट्रिय खेल दिवस हो। संयुक्त राष्ट्रसंघले सन् २०२४ देखि औपचारिक रूपमा मान्यता दिएको यस दिवसले विश्वभरिका बालबालिकाको खेल्ने अधिकार र खेलको महत्त्वलाई सम्झाउँछ। खेल केवल मनोरञ्जनको माध्यम मात्र होइन, बालबालिकाको समग्र विकास, सिकाइ र स्वस्थ बाल्यकालको आधार हो भन्ने सन्देश दिन्छ।

हरेक वर्ष यस दिवस आउँदा म, प्रारम्भिक बालजन्म विकास र शिक्षामा काम गर्ने व्यक्ति, आफैंलाई प्रश्न गर्छु– के हाम्रा बालबालिकाले साँच्चै खेल्न पाएका छन्? नेपालका नीति, पाठ्यक्रम र प्रारम्भिक बालविकास सम्बन्धी मार्गदर्शकहरू हेर्दा उत्तर सकारात्मक देखिन्छ। खेलमा आधारित सिकाइ, बालकेन्द्रित शिक्षा, अनुभवबाट सिकाइ जस्ता अवधारणाहरू स्पष्ट छन्। तर विद्यालय, शिक्षक र अभिभावकहरूसँगको दैनिक सहकार्यमा कहिलेकाहीँ लाग्छ – हामीले खेलको महत्त्व कागजमा त स्वीकार गरेका छौं, तर व्यवहारमा अझै पूर्ण रूपमा अपनाउन सकेका छैनौं। विद्यालय सञ्चालनको अनुभवले मलाई बारम्बार महसुस गराएको छ। हरेक अभिभावक आफ्नो बालबालिकाको राम्रो भविष्य चाहन्छन्। शिक्षकहरू पनि बालबालिकाले राम्रो सिकुन् भन्ने चाहन्छन्। विद्यालयको उद्देश्य पनि त्यही हो। तर कहिलेकाहीँ राम्रो भविष्य खोज्दा हामी बालबालिकाको वर्तमान आवश्यकतालाई कम महत्त्व दिन्छौं।

केही समयअघि एक अभिभावकसँग कुरा भइरहेको थियो। उहाँले भन्नुभयो, ‘मेरो बच्चा दिनभर खेल्छ, पढाइ कहिले गर्छ?’ उहाँको प्रश्नमा माया र चिन्ता थियो, तर यसले हाम्रो समाजमा रहेको एउटा सोचलाई पनि देखाउँछ। धेरैले खेल र पढाइलाई दुई फरक कुरा ठान्छन्। खेललाई रमाइलो र पढाइलाई सिकाइको रूपमा बुझ्छन्। तर प्रारम्भिक बाल्यावस्थामा हकीकत फरक छ। बालबालिकाका लागि खेल नै सिकाइ हो। जब बालबालिका साथीहरूसँग भूमिका निभाएर खेल्छन्, उनीहरूले भाषा सिकिरहेका हुन्छन्। जब ब्लक मिलाउँछन्, आकार, सन्तुलन र गणितीय सोच विकास भइरहेको हुन्छ। समूहमा खेल्दा पालो पर्खन, सहकार्य र समस्या समाधान गर्दै छन्। यी सीपहरू भविष्यमा आवश्यक पर्ने महत्वपूर्ण आधारहरू हुन्। तर आजको परिवेशले प्रारम्भिक शिक्षाप्रतिको अभिभावक र विद्यालय दुवैका अपेक्षालाई परिवर्तन गरिरहेको छ।

विश्वसँग जोडिनुपर्ने, अन्तर्राष्ट्रिय भाषाको महत्त्व र भविष्य चिन्ताले धेरै अभिभावक बालबालिकाले सानै उमेरदेखि अक्षर चिन्न, लेख्न र भाषा प्रयोग गर्न सिकुन् भनी अपेक्षा राख्छन्। यो स्वाभाविक पनि हो। विद्यालयहरू पनि यिनै अपेक्षालाई सम्बोधन गर्न खोज्छन्। यस कारण कहिलेकाहीँ खेल, कथा, गीत, अभिनय र अनुभव आधारित सिकाइको महत्त्व पर्याप्त देखिन सक्दैन। मलाई लाग्छ समस्या चाहना वा प्रतिबद्धताको होइन, सिकाइको प्रकृतिबारे साझा बुझाइको कमी हो। हामी सबै बालबालिकाले राम्रो सिकुन् चाहन्छौं। तर प्रारम्भिक वर्षहरूमा सिकाइका धेरै महत्वपूर्ण पक्षहरू खेलभित्रै लुकेका हुन्छन् भन्नेमा व्यापक संवाद र सचेतनाको आवश्यक छ। खेललाई पढाइभन्दा अलग नभई सिकाइको आधारका रूपमा देख्ने संस्कृतिलाई बलियो बनाउनु जरुरी छ।

अर्को महत्वपूर्ण विषय बाहिरी वातावरणमा हुने सिकाइ हो। आज धेरै बालबालिकाको समय चार पर्खालभित्र बित्छ। तर सिकाइको संसार कक्षाभन्दा ठूलो छ। माटोमा खेल्दा, बोटबिरुवा नियाल्दा, पानीसँग प्रयोग गर्दा, खुला आकाशमुनि दौडिँदा वा प्रकृतिसँग समय बिताउँदा प्राप्त अनुभव कुनै पुस्तकले दिन सक्दैन। शिक्षा क्रान्तिमा एउटा भनाइ छ— उत्कृष्ट सिकाइहरू केही बाहिर नै भेटिन्छन्। साँचो भन्नुपर्दा, बालबालिकाका लागि प्रकृति नै खुला पाठशाला हो। नेपालजस्तै प्राकृतिक विविधता भएको देशमा आउटडोर लर्निङको अवसर झन् बढी छ। विद्यालयको आँगन, बगैंचा, सामुदायिक खुला ठाउँ, खेतबारी वा गाउँको परिवेश आफैंमा सिकाइका स्रोत हुन सक्छ। तर हामी अझै पनि सिकाइलाई धेरै हदसम्म किताब, कापी र कक्षामा सीमित गरिरहेका छौं।

त्यसो भए नीति र व्यवहारबीचको दूरी किन छ? मेरो अनुभवअनुसार यसको मुख्य कारण सचेतनाको कमी हो। धेरै अभिभावकलाई खेलबाट सिकाइ हुन्छ भन्ने कुरा पर्याप्त जानकारी पुगेको छैन। धेरै शिक्षकहरूले खेललाई महत्त्वपूर्ण बुझ्छन्, तर दैनिक शिक्षण प्रक्रियामा खेललाई कसरी प्रभावकारी रूपमा जोड्ने भन्नेमा निरन्तर सहयोग आवश्यक छ। विद्यालयहरूले अभिभावकको अपेक्षा र बालबालिकाको आवश्यकताको सन्तुलन गर्न खोजिरहेका छन्। यो दूरी घटाउन सबैको साझा प्रयास जरुरी छ। अभिभावकले खेललाई समयको बर्बादी नभई सिकाइको माध्यमका रूपमा बुझ्नुपर्छ। विद्यालयले बालबालिकाको समग्र विकासलाई प्राथमिकता दिनुपर्छ। शिक्षकहरूलाई निरन्तर व्यावसायिक सहयोग चाहिन्छ। नीति निर्माताले पनि कक्षामा खेलमा आधारित सिकाइ साँच्चै भइरहेको छ कि छैन ध्यान दिनुपर्छ। सबैभन्दा महत्वपूर्ण कुरा, विद्यालयको गुणस्तर मापन गर्ने दृष्टिकोण परिवर्तन गर्नु हो। राम्रो विद्यालय त्यो होइन जहाँ बालबालिकाले छिट्टै लेख्न वा अंग्रेजी बोल्न सिक्छन्। राम्रो विद्यालय त्यो हो जहाँ बालबालिका खुशी हुन्छन्, प्रश्न गर्न पाउँछन्, गल्ती गर्न पाउँछन्, खोज्न पाउँछन् र खेल्दै सिक्न पाउँछन्। अन्तर्राष्ट्रिय खेल दिवस मनाइरहँदा म सबै अभिभावक, शिक्षक, विद्यालय र सरोकारवालालाई अनुरोध गर्नेछु– बालबालिकालाई खेल्न दिऔं। माटोसँग खेल्न दिऔं। कथा सुन्न दिऔं। गीत गाउन दिऔं। प्रश्न गर्न दिऔं। दौडन दिऔं। प्रकृतिसँग जोडिन दिऔं। किनभने बालबालिकाहरू खेल्दा मात्र रमाइलो गरिरहेका हुँदैनन्, उनीहरू सिकिरहेका छन् र आफ्नो भविष्य निर्माण गरिरहेका छन्। सायद त्यहि दिन हामी भन्न सक्नेछौँ– खेल्ने अधिकार अब कागजमै सीमित छैन, यो हरेक बालबालिकाको दैनिक जीवनमा पनि देखिन थालेको छ। (रति शर्मा विद्यालय नेतृत्व, शिक्षक क्षमता विकास र बालकेन्द्रित सिकाइका क्षेत्रमा कार्यरत छिन्।)