
समाचार सारांश सरकारले भारतबाट आयात हुने आँपमा पूर्ण प्रतिबन्ध नलगाएको र जैविक सुरक्षाका लागि कडा सर्त मात्र तोकिएको स्पष्ट पारेको छ। स्वदेशी बालीलाई रोगकिराबाट जोगाउन भारतबाट आयात गरिने आँपलाई ४८ डिग्री सेन्टिग्रेडको तातो पानीमा एक घण्टा उपचार गरेको हुनुपर्ने सर्त राखिएको छ। भारतमा आवश्यक सर्त प्रमाणित गर्ने प्रणाली नहुँदा नेपालमा आँप आयात ४ हजार टनबाट घटेर करिब ४ सय टनमा सीमित भएको छ। २८ जेठ, काठमाडौं। गर्मी मौसम सुरु भएसंगै यतिबेला नेपाली बजारमा ‘फलफूलको राजा’ मानिने आँप भित्रिन थालेको छ। तराईका विभिन्न जिल्लामा उत्पादित स्वदेशी आँपले बिस्तारै बजार लिन थालेको छ। हाल काठमाडौं उपत्यकाका फलफूलदेखि तरकारी पसलहरूसम्म पकाएका देखि काँचासम्म आँप उपलब्ध छ। गत वर्षसम्म आँपको सिजन सुरु हुनासाथ नेपाली बजारमा भारतबाट सस्तो मूल्यमा हजारौं टन आँप आयात हुने गर्थ्यो, जसले नेपाली बजारमा प्रभुत्व कायम राख्थ्यो। तर अहिले अवस्था केही फरक देखिएको छ। पछिल्ला केही दिनदेखि सामाजिक सञ्जाल र केही सञ्चारमाध्यममा एउटा समाचार फैलिएको छ– ‘सरकारले भारतीय आँप आयातमा प्रतिबन्ध लगायो!’ फेसबुकका भित्तादेखि टिकटकका भिडियोहरूसम्म एउटै दृश्य देख्न सकिन्छ– ‘छिमेकी देशबाट आउने आँपमा अत्यधिक विषादी भेटिएपछि सरकारले रोक लगायो, प्रतिबन्ध नै लगाइदियो, अब भारतीय आँप खानु भनेको विष खानु जस्तै हो।’ कतिपयले कृषि, वन तथा पर्यावरण मन्त्रालयलाई उद्धृत गर्दै प्रतिबन्ध लगाएको लेखेका छन्। नेपाली मात्र नभई भारतीय सञ्चारमाध्यमहरूले पनि नेपालले भारतीय आँप आयातमा पूर्ण प्रतिबन्ध लगाएको भन्दै समाचार सम्प्रेषण गरिरहेका छन्। एनडीटीभीदेखि टाइम्स अफ इन्डियासम्मका सञ्चारमाध्यमले ‘नेपालले भारतीय आँपमा प्रतिबन्ध लगायो’ शीर्षकमा समाचार, भिडियो र अडियो रिपोर्टहरू सार्वजनिक गरिरहेका छन्। एनडीटीभीले नेपालका प्रधानमन्त्री बालेन्द्र शाहको सक्रियता उल्लेख गर्दै ‘बालेन शाह सरकारले भारतीय आँपमा प्रतिबन्ध लगायो’ बताए। यी सञ्चारमाध्यमले युट्युब च्यानल र सामाजिक सञ्जालमा समेत जापानको प्रतिबन्धसँग तुलना गर्दै नेपाललाई ‘दोस्रो झड्का’ दिने देशको रूपमा प्रस्तुत गरेका छन्। धेरैजसो भारतीय न्युज च्यानलका भ्वाइस ओभर र ग्राफिक्समा नेपालले भारतीय किसानलाई मारमा पारेको र कूटनीतिक सम्बन्धमा असर पुर्याएको दाबी गरिएको छ। गुणस्तर र कीराको समस्याका कारण भारतीय आँपले अन्तर्राष्ट्रिय बजारमा पटक–पटक प्रतिबन्ध भोग्दै आएको उदाहरणहरू छन्। सन् २०१४ मा युरोपेली संघले भारतीय आँपमा ‘फ्रुट फ्लाई’ नामक किराको भेटिएपछि आयातमा रोक लगाएको थियो। त्यसैगरी जापानले झन्डै २० वर्षसम्म प्रतिबन्ध लगाएर सन् २००६ मा मात्र सर्तसहित फुकुवा गरेको थियो, तर हालै फेरि प्रशोधनमा समस्या देखिएपछि आयात रोकिएको छ। के छ नेपालसँगको अवस्था? सरकारले भारतबाट आयात हुने आँपमा पूर्ण प्रतिबन्ध लगाएको खबर पूर्णतया गलत भएको स्पष्ट पारेको छ। कृषि मन्त्रालयअन्तर्गत प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रले स्वदेशी कृषि उत्पादनलाई रोग र किराबाट जोगाउन अन्तर्राष्ट्रिय कानुन र नेपालको ‘बिरुवा संरक्षण ऐन २०६४’ अनुसार आयातमा कडा सर्त मात्र लागू भएको जानकारी दिएको छ। केन्द्रले बुधबार सूचना जारी गरी भारतबाट आँप आयातमा पूर्ण प्रतिबन्ध नलगाइएको स्पष्ट पारेको छ। केन्द्रका वरिष्ठ बाली संरक्षण अधिकृत प्रकाश पौडेलले बजार र सञ्चारमाध्यममा अफवाह फैलिएको बताउँदै आँप आयातमा सर्तसहित अनुमति जारी रहेको बताएका छन्। पौडेलका अनुसार सरकारले आँप आयातमा रोक लगाएको होइन, हानिकारक रोगी जीव नियन्त्रणका लागि मात्र नियमन गरेको हो। ‘आँपमा पूर्ण प्रतिबन्ध लगाएको होइन, केहि मानिसहरू नबुझी हल्ला फिँजाउँछन् र त्यो हल्लाको पछि अरू लाग्छन्,’ उनले भने, ‘यो जैविक सुरक्षाका लागि चालेको कदम हो, आयातमा पूर्ण प्रतिबन्ध होइन।’ कस्तो सर्त र किन कडाइ? भारतबाट आयात हुने आँपको स्वस्थता प्रमाणित गर्दै हानिकारक रोगजनक जीव नभएको र ‘हट वाटर ट्रिटमेन्ट’ (तातो पानी उपचार) गरिएको ठोस प्रमाण नहुँदा सरकारले कडा सर्त तोकेको हो। केन्द्रका अनुसार भारतबाट आयात हुने आँपमा ‘ब्याक्टोसेरा कारम्बोलाई’, ‘ब्याक्टोसेरा क्यारीआई’, ‘फिस्टुलोकोकस पोकफुलामेन्सिस’ (आँपको सफ्ट स्केल), ‘क्रिप्टोराइनकस फ्रिगिडस’, ‘ज्यान्थोमोनास एक्जोनोपोडिस पिभी म्यान्जिफेरिइन्डिकी’, ‘लासियोडिप्लोडिया स्युडोथियोब्रोमी’, ‘नियोफ्युजिकोकम म्यान्जिफेरी’ र ‘कोलेटोट्राइकम सियामेन्स’ जस्ता गम्भीर रोगजनक जीवहरू पाइने जोखिम छ जसले नेपाली आँप खेतीलाई ठूलो नोक्सान पु-याउन सक्छ। ‘यी रोग र किरा नेपाल भित्रिए भने हाम्रो स्वदेशी आँप खेती पूर्णरूपमा नष्ट हुन सक्छ,’ उनले भने, ‘त्यसकारण हामीले सर्त राखेका छौं– भारतबाट आउने आँपलाई ४८ डिग्री सेन्टिग्रेड तापक्रमको पानीमा एक घण्टा उपचार गरिएको प्रमाणित हुनुपर्छ, त्यसपछि मात्र नेपाल भित्र्याउन अनुमति दिइनेछ। यो पूर्ण रूपमा विषादी नभई जैविक सुरक्षा सम्बन्धी विषय हो। खाद्य स्वच्छता तथा गुणस्तर परीक्षण खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण विभागको जिम्मा हो भने क्वारेन्टिनले जैविक सुरक्षा नियमन गर्दछ। यी कडाइ सचिवस्तरको निर्णयबाट लागू गरिएको हो। नयाँ सर्तको कारण आँप आयातमा ठूलो गिरावट आएको छ। भारतमा ‘हट वाटर ट्रिटमेन्ट’ गरेपछि प्रमाणित गर्ने व्यवस्थित प्रणाली नभएकाले व्यवसायीहरूले सर्त पूरा गर्न कठिनाइ भोगिरहेका छन्। ‘हामीले सर्त पूरा गरेर आउने आँपलाई रोकिएको छैन, अहिले पनि भित्रिरहेको छ,’ पौडेलले भने, ‘तर भारतमा प्रमाणिकरणको व्यवस्था नभएकाले थोरै मात्र ती सर्त पूरा गर्न सक्छन्, विगतमा ४ हजार टन आँप आयात हुनेमा अहिले करिब ४ सय टन मात्र आएको छ।’ ‘भन्सार तिरेपनि अवैध आँप वैध हुँदैन, कर्मचारीलाई कारबाही हुन्छ’ केन्द्रले भन्सार र क्वारेन्टिन प्रक्रिया फरक रहेको भन्दै राजस्व तिरेका भरमा रोगग्रस्त वा सर्तमा नपुग्ने मालसामान ल्याउनु गैरकानुनी हुने चेतावनी दिएको छ। ‘क्वारेन्टिन प्रक्रिया पूरा नहुँदा र छोडपुर्जी नदिई भन्सार प्रज्ञापनपत्र भरेर राजस्व तिरेर ल्याए पनि त्यो पूर्णरूपमा अवैध हुन्छ,’ उनी भन्छन्, ‘यदि क्वारेन्टिन छोडपुर्जी बिना भन्सार भयो भने जिम्मेवार कर्मचारीलाई कारबाही गरिन्छ।’ आँप आयातमा कडाइको खबर आउने र बजारमा भारतीय आँप भेटिनुले सर्वसाधारण र सञ्चारमाध्यममा भ्रम सिर्जना भएको उनले बताए। ‘सर्त पूरा नगर्नेलाई मात्रै रोकिएको छ, तर नियम लागु हुनु अघि अनुमति पाएका व्यापारीहरूले पुरानै सर्तअनुसार आँप ल्याइरहेका छन्,’ पौडेलले भने, ‘पर्मिटको म्याद तीन महिनासम्म हुन्छ, त्यसैले बजारमा कतै रोकेको छ भने कतै ल्याइरहेको छ भन्ने भ्रम छ।’ पूर्ववर्षहरूमा नेपालमा आँप सिजन सुरु हुनासाथ सस्तो मूल्यमा ठूलो परिमाणमा भारतबाट आँप भित्रिन्थ्यो जसले स्वदेशी उपभोक्तालाई सस्तो आँप उपलब्ध गराउने र नेपाली किसानलाई उचित बजार नपाउने समस्यासमेत बढाउँथ्यो। तर यसपालि रोग र कीराको जोखिमलाई मध्यनजर गर्दै गरिएको कडाइले गर्दा नेपाली आँप उत्पादन संरक्षणमा मद्दत पुग्ने र स्वदेशी किसानलाई बजार पाउन सहज हुने सरकारको विश्वास छ। फोटो : चन्द्रबहादुर आले






