Skip to main content

जीवन विकासको विशेष साधारणसभाबाट मर्जर सम्झौता पारित

१० असार, विराटनगर । जीवन विकास लघुवित्त वित्तीय संस्थाको विशेष साधारणसभाले तीनवटा लघुवित्तबीच भएको मर्जर सम्बन्धी प्रस्ताव सर्वसम्मतिमा पारित गरेको छ । बुधबार मोरङको कटहरीस्थित संस्थाको केन्द्रीय कार्यालयमा सम्पन्न विशेष साधारणसभामा अध्यक्ष बिक्रमराज सुवेदीद्वारा प्रस्तुत मर्जर प्रस्ताव पारित गरिएको हो । गत चैत २८ गते मोरङमा केन्द्रीय कार्यालय रहेको जीवन विकास लघुवित्त, बाँकेको कोहलपुरस्थित मुख्य कार्यालय भएको युनिक नेपाल लघुवित्त र काभ्रेपलाञ्चोक बनेपामा केन्द्रीय कार्यालय रहेको मानुषी लघुवित्त वित्तीय संस्थाबीच मर्जर सम्झौता भएको थियो । यो लघुवित्त क्षेत्रमा अहिलेसम्मकै सबैभन्दा ठूलो सम्झौता हो ।

उक्त सम्झौताप्रति स्वीकृति दिन जीवन विकासले विशेष साधारणसभा आह्वान गरेको थियो । विशेष साधारणसभाले संस्थाको नाम ‘जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड’ र केन्द्रीय कार्यालय मोरङको कटहरी गाउँपालिका–२ मा नै रहने प्रस्ताव पनि पारित गरेको छ । मर्जरपछि युनिक नेपाल र मानुषी लघुवित्तका हालका केन्द्रीय कार्यालयहरूलाई प्रादेशिक कार्यालयको रूपमा रूपान्तरण गरिनेछ । साथै, संस्थाको नेतृत्व जीवन विकास लघुवित्तका हालका प्रमुख कार्यकारी अधिकृत संजयकुमार मण्डलले गर्ने प्रस्ताव पनि साधारणसभाले स्वीकृत गरेको छ । साधारणसभाले मर्जरका लागि सञ्चालक समितिका अध्यक्षद्वारा प्रस्तुत प्रतिवेदन र अहिलेसम्मका सम्पूर्ण कार्यहरूलाई अनुमोदन गरेको छ ।

आगामी दिनमा अन्य लघुवित्तहरूसँग मर्जर वा प्राप्तिको प्रक्रिया अगाडि बढाउन समितिलाई विशेष अधिकार प्रदान गरिएको छ । हाल जीवन विकासको चुक्ता पुँजी १ अर्ब ७५ करोड १२ लाख ३२ हजार रुपैयाँ रहेको छ, युनिक नेपालको १४ करोड ८५ लाख ७५ हजार र मानुषी लघुवित्तको १० करोड ९३ लाख ७५ हजार रुपैयाँ रहेको छ । मर्जरपछि कुल चुक्ता पुँजी १ अर्ब ९८ करोड ८४ लाख ४ हजार ३१२ रुपैयाँ पुग्नेछ । एकीकृत कारोबारपछि कर्णाली प्रदेश बाहेक देशभर संस्थाको कार्यक्षेत्र विस्तार हुनेछ । ६ वटा प्रदेशमा २३३ शाखा रहने जानकारी साधारणसभामा दिइयो । जीवन विकासले हाल ३१ जिल्लामा सेवा प्रवाह गरिरहेको छ भने युनिक नेपाल १० र मानुषी लघुवित्तले १४ जिल्लामा सेवा दिइरहेका छन् । मर्जर प्रक्रिया पूरा गरी २०८३ साल असार मसान्तभित्रै एकीकृत कारोबार सुरु गर्ने तयारी छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ