Skip to main content

धन कमाउने प्रतिस्पर्धामा हराउँदै गएको जीवनको अर्थ

विगत दुई-तीन दशकअघिसम्म नेपाली समाजको मुख्य पहिचान सामूहिकता, पारिवारिक नजिकत्व, सांस्कृतिक सहअस्तित्व र प्रकृतिसँगको सहज सम्बन्ध थियो। व्यक्तिको सफलता केवल उसको व्यक्तिगत उपलब्धिबाट होइन, परिवार र समुदायको सम्मानसँग जोडिएर मापन गरिन्थ्यो। गाउँका चौतारीहरू संवादका केन्द्र थिए, छिमेकीहरू सुख-दुःखका साझा साझेदार र परिवार मात्र रगतको सम्बन्ध नभई जीवनको आधार थियो। तर २१औं शताब्दीमा आइपुग्दा यो सामाजिक संरचना तीव्र गतिमा रूपान्तरण भइरहेको छ। आज नेपाली समाजको स्वरूप बदल्ने तीन प्रमुख शक्ति बनेका छन्- बाध्यात्मक वैदेशिक रोजगारी, अनियन्त्रित शहरीकरण र चौबीसै घण्टा मानिसको चेतनालाई प्रभाव पारिरहेको सामाजिक सञ्जाल। यी तीनै तत्वले आर्थिक अवसर, उपभोग क्षमता र जीवनशैलीमा अभूतपूर्व परिवर्तन ल्याएका छन्। तर, यही परिवर्तनले समाजलाई एउटा भौतिकवादी प्रतिस्पर्धातर्फ धकेलेको छ, जहाँ साधन प्राप्त गर्ने दौडमा मानिसले जीवनको वास्तविक उद्देश्य र सम्बन्धहरूको मूल्य बिर्सिन थालेको छ।

वैदेशिक रोजगारी, शहरीकरण र सामाजिक सञ्जालको प्रभावले हामी भौतिक समृद्धिको दौडमा अन्धाधुन्ध कुदिरहेका छौँ। तर, यो दौडले हाम्रा पारिवारिक मूल्य, आत्मिक शान्ति र सामाजिक सद्भावलाई कमजोर बनाइरहेको छ। यस संकटको सबैभन्दा पहिलो र प्रत्यक्ष असर परिवारमाथि परेको छ। रेमिट्यान्सले देशको अर्थतन्त्रलाई धान्दै गरिबीको रेखाबाट परिवारहरूलाई माथि उठाएको छ। कर्णालीका विकट गाउँदेखि मधेशका फाँटका साथै पहाडसम्म ठूला पक्का घरहरू बनेका छन्। तर, यिनै कङ्क्रिटका घरहरूभित्र भावनात्मक शून्यता बढिरहेको छ। लाखौँ युवा खाडीको मरुभूमिमा पसिना बगाउँदा घरमा एउटा पुस्ता अभिभावकको नजिकविना हुर्कन बाध्य छन्।

श्रीमान्-श्रीमती लामो समय अलग रहेपछि भएको अविश्वासले सम्बन्धविच्छेद बढेको छ। गत वर्ष देशभर करिब २४ हजार ५२२ सम्बन्धविच्छेदका मुद्दाहरू दर्ता भएका थिए, जुन अहिलेसम्मकै सबैभन्दा बढी संख्या हो। बालबालिका बुबाको काँध र आमाको काख पाउनुको साटो महँगा बोर्डिङ स्कूलको होस्टलमा हुर्किंदैछन्। वृद्ध आमाबाबुहरू गाउँका खाली घरहरू वा शहरका आधुनिक घरहरूमा भावनात्मक शून्यता र एक्लोपनसँग जुदिरहेका छन्। परिवारमा भौतिक समृद्धि आए पनि आन्तरिक सम्बन्ध र भावना भत्किँदै छन्। अर्कोतर्फ, फेसबुक, इन्स्टाग्राम र टिकटकले मानिसलाई अरूको जीवनको सम्पादित संस्करण देखाउँछन्। सफलताको झल्को देखिन्छ, संघर्ष लुकाइन्छ। उपलब्धि देखिन्छ, असफलता लुकाइन्छ। अर्थशास्त्री रिचर्ड इस्टरलिनको अध्ययनले पनि यो देखाएको छ- मानिसको सन्तुष्टि उसको वास्तविक आयभन्दा अरूको तुलनामा “आफू कहाँ छु” भन्ने अनुभूतिसँग बढी सम्बद्ध हुन्छ।

नतिजामा, मानिस आफूलाई सन्तुष्ट पार्न सक्दैन। प्रविधिले मानवीय सम्बन्धहरू पहिलेभन्दा धेरै जोडिएको देखिए पनि भावनात्मक रूपमा टाढिएका छन्। संवादका माध्यमहरू विस्तार भए तापनि आत्मीयता साँघुरिएको छ। सम्पर्कको संख्या बढेको छ, तर सम्बन्धहरूको गहिराइ कमजोर हुँदै गएको छ। गाउँहरू क्रमशः खाली हुँदैछन् र शहरहरू अनियन्त्रित रूपमा फैलिरहेका छन्। सामाजिक सञ्जालले वास्तविक जीवनभन्दा आभासी संसारलाई अधिक आकर्षक र प्रभावशाली बनाएको छ। यसले व्यक्तिको मनोविज्ञानमा प्रत्यक्ष प्रभाव पार्न थालेको छ। तुलना, असन्तुष्टि, मानसिक तनाव र एक्लोपना आजका साझा सामाजिक समस्याहरू बनेका छन्। बाहिरीतर्फ परिवार र समाज सम्पन्न, आधुनिक र विकसित देखिए पनि अंदरमा सम्बन्धहरूको विस्थापन, मानवीय मूल्यहरूको क्षय र आत्मिक शून्यताको संकट गहिरिँदै गएको छ। यसैले अहिलेको सबैभन्दा ठूलो चुनौती आर्थिक समृद्धि मात्र होइन, मानवीय संवेदना, सामाजिक सद्भाव र सम्बन्धहरूको न्यानोपन जोगाउनु पनि हो।