छाडा छोडिएका चौपायाले किसानका बाली नष्ट गर्ने र सडक दुर्घटनाको जोखिम बढाउने भएका कारण केही वर्षदेखि बाँकेका स्थानीय तहहरूले गौशाला निर्माण गरी गाई संरक्षणको प्रयास सुरु गरेका छन्। तर गौशाला भरिँदै गएसँगै नयाँ समस्या पनि देखिएको व्यवस्थापकहरूले बताएका छन्। बाँकेको राप्ती सोनारी, नरैनापुर र डुडुवा गाउँपालिकामा सञ्चालनमा रहेका आठ वटा गौशालामा हाल २६५१ भन्दा बढी गाई आश्रित रहेका छन्। यीमध्ये सबैभन्दा धेरै गाई राप्ती सोनारी गाउँपालिका–२ को मङ्गल राधिका षदानन्द धाममा रहेको गौशालामा छन्, जसको क्षमता करिब ९०० गाई राख्न सक्ने भए तापनि अहिले त्यहाँ करिब ११०० गाई छन्। गौशालाका गाई सेवक तथा महन्त प्रीतम दासका अनुसार यहाँको अधिकांश गाई सडकबाट उद्धार गरिएका हुन्। “राप्ती सोनारी गाउँपालिका, कोहलपुर नगरपालिका र नेपालगञ्ज उपमहानगरपालिकाबाट सङ्कलन गरिएका गाईहरू यहाँ ल्याइन्छन्। सम्भवतः यो नेपालकै सबैभन्दा ठूलो गौशाला हो,” दासले बताए। तर गाईको संख्या बढ्दै गएसँगै व्यवस्थापन झन् कठिन हुँदै गएको उनी बताउँछन्। “स्थानीय सरकारले प्रतिवर्ष दुईदेखि चार लाख रुपैयाँ सहयोग गर्दा धेरै सहयोगजस्तो देखिन्छ, तर गौशाला चलाउन त्यो रकम हात्तीको मुखमा जिराका जस्तै हो,” महन्त दास भन्छन्, “गाईको आहारा र कर्मचारीको पारिश्रमिकमै दैनिक एक लाखभन्दा बढी खर्च हुन्छ।”

