Skip to main content

सुवास अधिकारीको नाट्य कृति ‘नो सिग्नल’ को लोकार्पण सम्पन्न

डेढ दशकदेखि रंगमञ्चमा सक्रिय रहेका सुवास अधिकारीले आफ्नो नयाँ नाट्य कृति ‘नो सिग्नल’ आइतबार धरानमा लोकार्पण गरेका छन्। यो कृतिले डिजिटल युगमा हराउँदै गएको मानवीय संवेदना र आधुनिक समाजको एक्लोपनलाई बिम्बात्मक शैलीमा चित्रण गरेको छ। निर्देशक घिमिरे युवराजले प्रविधि जति उन्नत भए पनि मानवीय सम्बन्धको विकल्प नरहेको सन्देश कृतिले दिएको बताएका छन्।

धरान रिडर्स ग्रुपको आयोजनामा सार्वजनिक गरिएको यो नाट्य कृतिमा अधिकारीले डिजिटल प्रविधिमा हराइरहेको आधुनिक समाजमा मानवीय संवेदना उजागर गरेका छन्। उनले भनेका छन् कि डिजिटल प्रविधिले मानिसको जीवन सहज बनाएको भए पनि एक्लोपन हटाउन र जीवनलाई सजीव बनाउन मानवीय सम्बन्धको विकल्प छैन।

लोकार्पण समारोहमा शिल्पी थिएटर, काठमाडौंका निर्देशक घिमिरे युवराजले अधिकारीको कृति ‘नो सिग्नल’ले मानवीय सम्बन्ध, संयोग र जीवनको निस्सारतालाई बिम्बात्मक शैलीमा प्रस्तुत गरेको उल्लेख गरे। टिप्पणीकार र उपप्राध्यापक राजेश विद्रोहीले विज्ञान र प्रविधिमा प्रगति भए पनि मानवीय सम्बन्ध अपरिहार्य रहने र नाट्यकृतिले आधुनिकताको कारण सिर्जित एक्लोपना र छट्पटीलाई चित्रण गरेको बताए।