Skip to main content

जीवनशैली: आधा शरीरको सग्लो सास

मीनभवनस्थित सिभिल अस्पतालको सघन उपचार कक्षमा हावामा स्पिरिटको कडा राग र निराशाको ओसिलो गन्ध फैलिएको थियो। कुनामा राखिएको यान्त्रिक मनिटरले ‘बिप… बिप… बिप…’ को चिसो र निर्मम लयमा मेरो बाँकी रहेको सासको हिसाब गरिरहेको थियो। बाहिर नयाँ वर्षका भित्तेपात्रोहरू भर्खरै भित्तामा टाँगिएर नयाँ वसन्तका सपनाहरू विज्ञापन गरिरहेका थिए, तर मेरो जीवनको सग्लो ऐना भने कतै टुक्रिइसकेको थियो। म कृत्रिम श्वासको एउटा पातलो त्यान्द्रो समातेर बेहोसी र होसको कुरुप खेलमा अल्झिएकी थिएँ। मेरो यो अन्धकारले सबैभन्दा बढी कसैको छातीमा पहिरो परेको थियो भने, त्यो मेरा बा थिए। दाइलाई भन्नुभएको रहेछ, ‘बहिनी उँभो लाग्दिन क्यार।’ सायद बुवाले छोरासँग पीडा बाँडेर आफूलाई अलि हल्का बनाउन खोज्नुभयो होला। म त, आमालाई पनि भन्न नसक्ने आघातले थिचिएकी थिएँ।

सिभिल अस्पताल भर्ना हुनुअघि नै मेरो जीवनले अर्कै एउटा अँध्यारो बाटो समातिसकेको थियो, जसको कथा लेख्ने हिम्मत ममा अझै छैन। मानिसहरू जब मृत्युको नजिक पुग्छन्, तिनले बाँच्न चाहन्छन् भनिन्छ। तर मलाई त्यहाँ मर्नुसँग अलिकति पनि डर थिएन। मलाई त बाँच्नुसँग डर थियो। मैले जिवित रहँदा आफ्नो हृदयमा लुकाएर हिँड्नुपर्ने थुप्रै घाउहरू आफूसँग बोकेकी थिएँ। अप्रेसन थिएटरको त्यो अँध्यारो कोठाबाट बाहिर निस्केको तेस्रो दिन, डाक्टरका तिखा र चिसा शब्दहरू मेरो कानमा पर्दा म बारम्बार बेहोस भएकी थिएँ। डाक्टर अरुण कुमार जोशीले केही दिनअघि नै मलाई अप्रेशन थिएटरमा लैजाँदाको सम्भावित क्षति र लाभ देखाउनु भएको थियो।

तर, विज्ञानका सबै प्रयास विफल भएपछि, मैले आफ्नो शरीरको एउटा स्थायी अंश त्यहीँ छोडेर आधा शरीरसहित निस्कनु पर्‍यो। अन्ततः डाक्टर जितेन्द्रले बिहानीको राउन्डमा आउँदा शून्य स्वरमा भने, ‘भित्रभित्रै फैलिएको इन्फेक्सनका कारण हामीले तिम्रा ओभरी र ट्युबहरू बचाउन सकेनौँ।’ त्यो कुरा सुनेर मेरो दाहिने हात काँप्दै मेरो पेटको तल्लो भागमा पुग्यो। म अब एउटा यस्तो रूख बनेकी थिएँ, जसमा कहिल्यै कुनै नयाँ ऋतुले वात्सल्यको हरियो पात फुलेन। म आधा शरीर लिएर निस्किएकी निश्चित हुँ। तर, मेरो चेतना टुक्रिएको छैन।