मेटाले सामाजिक सञ्जालमा गोपनीयता कायम राख्न भ्यानिस मोड सुविधा उपलब्ध गराएको छ। हाम्रा प्रत्येक डिजिटल क्रियाकलाप वा इन्टरनेटमा भएका कार्यहरू कतै न कतै रेकर्ड हुँदै जान्छन्। साथीभाइसँग गरिएको सहज छलफलदेखि मध्यरातमा लामा कुराकानीहरू वर्षौंदेखि च्याट हिस्ट्रीका रूपमा सुरक्षित रहन सक्छन्। तर, के हरेक कुराको ‘रेकर्ड’ राख्नु आवश्यक हुन्छ? पक्कै होइन। कतिपय कुराहरू हावाजस्तै हुनुपर्छ – आउँछन्, छुन्छन् र हराउँछन्। इन्टरनेटको यस्तो स्थायी प्रवृत्तिमाझ ‘अस्थायी’ र निजी कुराकानीको सुविधा दिने एउटा फिचर हो – भ्यानिस मोड।
सामान्य भाषामा भ्यानिस मोड मेटाका सामाजिक सञ्जालहरूमा उपलब्ध एउटा ‘अस्थायी च्याटिङ फिचर’ हो। यो मोड अन गरेर कसैसँग च्याट गर्दा, तपाईंले पठाएका टेक्स्ट, फोटो, भिडियो वा भ्वाइस नोटहरू अर्को व्यक्तिले हेरेपछि च्याट बक्स बन्द गरिरहेको बेला स्वचालित रूपमा मेटिन्छन्। सबैभन्दा रोचक कुरा के भने, भ्यानिस मोडमा कुराकानी भइरहँदा कसैले स्क्रिनसट वा स्क्रिन रेकर्ड गर्न खोज्दा तत्काल अर्को प्रयोगकर्तालाई ‘सूचना’ जान्छ। यसले प्रयोगकर्ताको गोपनीयतामा थप सुरक्षा थप्दछ।
मेटाले सन् २०२० को नोभेम्बरमा आफ्नो म्यासेन्जर र इन्स्टाग्राममा यो सुविधा पहिलो पटक आधिकारिक रूपमा रोलआउट गर्यो। तर डिजिटल स्पेसमा सन्देश स्वतः मेटिने अवधारणा नयाँ होइन। यसको श्रेय मुख्यत: स्न्यापच्याटलाई जान्छ, जसले सन् २०११ मा ‘डिसएपियरिङ म्यासेज’ ल्याएको थियो। उक्त लोकप्रियता र युवापुस्ताको आकर्षणलाई ध्यानमा राख्दै मेटाले आफ्नो प्रणालीमा ‘भ्यानिस मोड’ थपेको हो। अहिले यो सुविधा इन्स्टाग्राम, मेसेन्जर (फेसबुकको इनबिल्ट मेसेजिङ एपमा छैन), र स्न्यापच्याटमा उपलब्ध छ। तैपनि, टिकटकमा यो सुविधा अहिलेसम्म उपलब्ध छैन।
इन्टरनेटमा मानिसहरूले सुरक्षा र स्वतन्त्रता दुवै चाहन्छन्। ठूला सामाजिक सञ्जाल कम्पनीहरूले यिनै कारणले भ्यानिस मोड ल्याएका हुन्। डिजिटल फुटप्रिन्टबाट मुक्ति इन्टरनेटमा बोलेका सबै कुरा सुरक्षित हुँदा भविष्यमा दुरुपयोग हुन सक्ने डर हुन्छ। भ्यानिस मोडले प्रयोगकर्तालाई ‘मैले के लेखें’ भनेर पछुताउनु नपर्ने स्वतन्त्रता दिन्छ। अनौपचारिक कुराकानीको जग हरेक कुराकानी गम्भीर वा सुरक्षित राख्नुपर्ने हुँदैन। कहिलेकाहीं मानिसहरू हल्का र अनौपचारिक कुराकानी गर्न चाहन्छन्। त्यसका लागि यो मोड उत्तम हुन्छ।
यो मोडमा हल्का, व्यक्तिगत र संवेदनशील कुराकानी गरिन्छ। प्रयोगकर्ताले आफ्ना आवश्यकता र मूडअनुसार फरक किसिमले प्रयोग गर्दछन्। गसिप साथीभाइबीच हुने मज्जाको जिस्क्याइँ, मजाकिया मिम्स वा अरूको बारेमा गरिने गसिप यस मोडमा गरिन्छ। यसले प्रमाण नबाँकी सहजता दिन्छ। निजी कुराकानी प्रेमी-प्रेमिकाहरू बीचका व्यक्तिगत भावना, प्रेमका कुरा वा फ्लर्टिङका लागि यो मोड प्रायः प्रयोग हुन्छ। कतिपयले आफ्नो निजी तस्बिरहरू पनि शेयर गर्छन्।

