सामान्यतया युद्ध भन्नाले विनाशलाई बुझिन्छ। धुवाँले आकाश ढाकिएको, बमले जमिन चिरिएको, बस्ती उजाडिएको र भविष्य अनिश्चित बनेको अवस्था। जहाँ युद्ध हुन्छ, त्यहाँ जीवनको सम्भावना क्रमशः कम हुँदै जान्छ। तर, यो धारणा एउटा सानो जीवले गलत साबित गरिदिएको छ। युक्रेनको डोनबास क्षेत्रमा केही दिनअघि फेला परेको एउटा चराको गुँड अहिले विश्वभर चर्चाको विषय बनेको छ। पहिलो नजरमा यो साधारण गुँड जस्तो देखिन्छ। तर नजिकबाट हेर्दा थाहा हुन्छ, यसको भित्री संरचनामा हरियो घाँस र सुकेका पातसँगै चम्किला, पातला फाइबर–अप्टिक तारहरू पनि बुनिएका छन्। ती तार कुनै सञ्चार कम्पनीका होइनन्, कुनै घरका बिजुली लाइनका पनि होइनन्। ती युद्धमा प्रयोग भएका फाइबर–अप्टिक एफपीभी ड्रोनका तार हुन्। अर्थात्, मानिसले एकअर्कालाई मार्न बनाएको प्रविधिको अवशेष प्रयोग गरेर चराले आफ्नो सन्तान हुर्काउने गुँड बनाएको थियो। यो एउटा गुँड मात्र होइन। यो युद्ध र जीवनबीचको सबैभन्दा गहिरो संवाद हो।
एक तस्वीर, जसले संसार रोक्यो जुन २३, २०२६। युक्रेनी भ्रष्टाचारविरोधी अभियन्ता ओलेना ट्रेगुबले सामाजिक सञ्जालमा एउटा तस्वीर सार्वजनिक गरिन्। तस्वीरमा एउटा चराको गुँड थियो। सुरुमा धेरैले यो सामान्य तस्वीर ठाने। तर ध्यान दिएर हेर्दा सबैको नजर एउटै कुरामा अडियो, गुँडभित्र घाँससँग मिसिएका फाइबर–अप्टिक तारहरू। यो कुनै कलात्मक सजावट थिएन। यी तार युद्धमा प्रयोग भएका ड्रोनबाट छरिएका केबल थिए। ट्रेगुबले लेखेकी थिइन्, ‘युद्धले सबै कुरा नष्ट गर्न खोज्छ, तर जीवनले त्यही विनाशबाट पनि नयाँ सुरुवात गर्छ।’ इजरायलको द जेरुसालेम पोस्ट अनुसार, उनको पोस्ट केही घण्टामै हजारौँ पटक शेयर भयो। धेरैले त्यसलाई ‘लाइफ फाउन्ड द वे’ अर्थात् ‘जीवनले बाटो खोज्छ’ भन्ने सन्देशसँग जोडेर हेरे। यो वाक्यांश हलिउड चलचित्र जुरासिक पार्कबाट लोकप्रिय बनेको हो, जसको मूल अर्थ हो, परिस्थिति जति कठिन भए पनि जीवनले बाँच्ने उपाय खोज्छ। डोनबासको त्यो सानो गुँडले यही वाक्यलाई वास्तविकतामा उतारेको देख्न सकिन्छ।
यो गुँड बनाउने चरा कुन प्रजातिको हो भन्ने आधिकारिक रूपमा पुष्टि भएको छैन। तर गुँडको बनावट हेर्दा पन्छीविद्हरूले यो सम्भवतः युरेसियन च्याफिन्च वा त्यससँग मिल्दोजुल्दो सानो गीत गाउने चराको हुन सक्ने अनुमान गरेका छन्। युद्धको भग्नावशेषमा भेटिएका घर यो गुँड भेट्टाउने व्यक्ति थिए युक्रेनी अनुसन्धानकर्ता तथा सैनिक, ओलेह मालचेंको। उनी डोनबासको अग्रिम मोर्चामा खटिएका थिए। केही समयअघि भएको रूसी ग्लाइड बम आक्रमणपछि एउटा ठूलो रूख भुइँमा ढलेको थियो। विस्फोटपछिको क्षेत्र निरीक्षण गर्ने क्रममा मालचेंकोको नजर रूखको हाँगामा अडिएको एउटा सानो गुँडमा पर्यो। पहिलो नजरमा त्यो साधारण गुँड नै लाग्यो। तर नजिकबाट हेर्दा उनी आफैं अचम्ममा परे। घाँस, सुकेका पात, काठका रेशा र तिनको बीचमा चम्किरहेका फाइबर–अप्टिक केबल। मानिसले युद्धका लागि बनाएका तारलाई चराले जीवनका लागि प्रयोग गरेको थियो। मालचेंकोले गुँडलाई सावधानीपूर्वक क्यामेरामा कैद गरे। पछि उनले भने, ‘हामी यहाँ हरेक दिन मृत्यु देखिरहेका छौं। तर यही ठाउँमा एउटा चराले प्रकृति अझै बाँचिरहेको छ भनेर उदाहरण दिइरहेको छ।’

