बौद्ध धर्मावलम्बीहरूको प्रमुख आस्थाको केन्द्र लप्ची धार्मिक तथा साहसिक पदयात्राका लागि परिचित गन्तव्य हो। नेपाल–चीन सीमा क्षेत्रको ५६ नम्बर सीमास्तम्भ नजिक रहेको लप्ची दोलखा जिल्लाको बिगु गाउँपालिका–१ अन्तर्गत पर्ने गौरीशङ्कर संरक्षण क्षेत्रमा अवस्थित छ। काठमाडौँबाट करिब एक दिनको सवारी यात्रापछि लामा बगरमा विश्राम गरियो। त्यसपछि अर्को दिन बिहान बोलेरो रिजर्भ गरेर करिब तीन घण्टाको यात्रा गर्दै थान्द्रुक पुगियो। तामाकोशी जलविद्युत् आयोजनाका सुरुङ मार्ग, अग्ला पहाड, विशाल चट्टान, मन दहला पार्ने भीर र पहराहरू छिचोल्दै गरिएको यो यात्रा अत्यन्त रोमाञ्चक रह्यो। थान्द्रुक पुगेपछि बोलेरो यात्रा समाप्त भयो। त्यहाँबाट तामाकोशी करिडोर हुँदै पैदल यात्रा सुरु गरियो। बाटोभरि निर्माणाधीन जलविद्युत् आयोजनाहरू र चट्टान छिचोलेर बनाइएका संरचनाहरूले यस क्षेत्रको तीव्र विकासको झल्को दिन्छन्। पदयात्राका क्रममा मनमोहक झरनाहरू, सुसाइरहेको तामाकोशी नदीको आवाज तथा विभिन्न वन्यजन्तु र चराचुरुङ्गीको दृश्यले यात्रालाई अझ रोचक बनाएको थियो। बाटोभरि थकित मुद्रामा भारी बोकेर अघि बढिरहेका भरियाहरू भेटिए। उनीहरूले गुम्बाका लागि आवश्यक खाद्यान्नदेखि निर्माण सामग्रीसम्म बोकेका थिए। ५० देखि १०० केजीसम्म भारी बोकेर उकालो ओरालो गर्दै थिए। उनीहरूमध्ये धेरैजसो रामेछाप, दैलेख, जाजरकोट र सल्यान जिल्लाका थिए। भारी बोकेर परिवारको जीविकोपार्जन गरिरहेका ती भरियाहरूको संघर्ष देख्दा केही भावुक बन्ने अवस्था थियो। कठिन पहाडी भूगोलसँग संघर्ष गर्दै जीवन यापन गरिरहेका थिए। हामी उनीहरूसँगै पदयात्रा गर्दै यस क्षेत्रको पर्यटन सम्भावना, प्राकृतिक सौन्दर्य र भौगोलिक अवस्थाको अवलोकन गर्दै अघि बढ्यौं। यस भ्रमण टोलीमा तामाकोसी गाउँपालिकाका वडा अध्यक्ष मीनकुमार शिवाकोटी, इलाका प्रशासन कार्यालय सिंगटीका प्रमुख भरत दास, सीमा प्रशासन कार्यालयका प्रतिनिधि तथा बिगु र गौरीशङ्कर गाउँपालिकाका कर्मचारीहरूको सहभागिता थियो। आफ्नो कार्यक्षेत्रभित्र पर्ने दुर्गम भूगोललाई नजिकबाट बुझ्ने अवसर पाउँदा हामी सबै अत्यन्त उत्साहित थियौं। यात्राभर मोबाइल क्यामराले भिडियो र तस्बिर खिच्न भ्याइनभ्याइ थियो। नेपाल–चीन सीमा क्षेत्रको ५६ नम्बर सीमास्तम्भ नजिक रहेको लप्ची दोलखा जिल्लाको बिगु गाउँपालिका–१ अन्तर्गत पर्ने गौरीशङ्कर संरक्षण क्षेत्रमा अवस्थित छ। यो स्थान आध्यात्मिक, प्राकृतिक सौन्दर्य र साहसिक यात्राको अनुपम गन्तव्य हो। विभिन्न स्थानमा विश्राम गर्दै करिब चार घण्टाको उकालो, भीर र झरना पार गरेपछि लप्ची गुम्बा पुगियो। लामा गुरुहरू र गुम्बा व्यवस्थापन टोलीले आत्मीय स्वागत गर्नुभयो। करिब ४००० मिटरको उचाइमा अवस्थित गुम्बा, वरिपरि फैलिएका सेताम्मे हिमशृंखला, तामाकोशी नदीको गर्जन र अग्ला चट्टानहरूको दृश्यले यात्राको सम्पूर्ण थकान क्षणमै मेटाइदियो। चिया–खाजा खाएपछि हामी वरपरका प्राकृतिक तथा धार्मिक स्थलहरूको अवलोकन गर्न निस्कियौं। कठोर भौगोलिक बनावट, दुर्गम क्षेत्र र प्रतिकूल मौसमका कारण लप्ची अझै धेरै पर्यटकहरूको पहिलो रोजाइ बन्न सकेको छैन। यही कारण यहाँ स्थायी रूपमा बसोबास गर्ने स्थानीयहरूको संख्या क्रमशः घटिरहेको छ। लप्ची पुगेपछि भ्रमणलाई विभिन्न खण्डमा विभाजन गरेर अवलोकन गर्न सकिन्छ। प्रमुख आकर्षणहरूमा नेपाल–चीन सीमा क्षेत्र, लप्ची गुम्बा, मेरापिक गुम्बा, फूलचोकी डाँडा, लप्ची गाउँ, चौरीखर्क लगायतका धार्मिक, प्राकृतिक तथा सांस्कृतिक स्थलहरू पर्दछन्। यी सम्पूर्ण गन्तव्यहरूले लप्चीलाई धार्मिक आस्था, प्राकृतिक सौन्दर्य र साहसिक पदयात्राको अद्वितीय मेलजोलका रूपमा स्थापित गरेका छन्। नेपाल–चीन सीमा नाका (५६ नं. सीमास्तम्भ) लप्ची गुम्बाबाट करिब १ घण्टा ३० मिनेटको पैदल यात्रापछि नेपाल–चीन सीमा क्षेत्रको ५६ नं. सीमास्तम्भसम्म पुग्न सकिन्छ। नेपाल र चीनबीच करिब १,४३९ किलोमिटर लामो अन्तर्राष्ट्रिय सीमा रहेको छ। यस सीमामा रहेका ९९ वटा सीमास्तम्भ हिमालका चुचुरा, डाँडाका धार, साँघुरा भञ्ज्याङ, नदी तथा खोल्साहरू हुँदै नेपालको ताप्लेजुङस्थित ओलाङचुङगोला देखि दार्चुलाको टिंकर, कालापानी र लिम्पियाधुरासम्म फैलिएका छन्। ५६ नं. सीमास्तम्भ रहेको क्षेत्र अत्यन्त रमणीय छ। वरिपरि रहेका सेताम्मे हिमशृंखलाले नेपाल–चीनबीचको मैत्रीपूर्ण सम्बन्धलाई हिमाल जत्तिकै दृढ र अटल बनाएको अनुभव गराउँछ। हाल यस स्थानबाट औपचारिक रूपमा व्यापारिक गतिविधि वा सीमा आवागमन सञ्चालन नभए पनि चौरी गोठालाहरू सरकारबाट जारी गरिएको पासको आधारमा नियमित रूपमा आवतजावत गर्ने गर्दछन्। स्थानीय वासिन्दाका अनुसार दुर्गम भूगोल, न्यून जनघनत्व तथा सीमित आवागमनका कारण यस क्षेत्रमा हालसम्म कुनै सीमा विवाद देखा परेको छैन। सीमावर्ती भूगोलको अध्ययन, दुई देशबीचको सम्बन्धलाई नजिकबाट बुझ्ने अवसर तथा छोटो दूरीको साहसिक पदयात्राका दृष्टिले यो गन्तव्य अत्यन्त महत्त्वपूर्ण मानिन्छ। भविष्यमा उत्तर–दक्षिण राजमार्गको अवधारणाअनुसार जलेश्वर–मन्थली–तामाकोसी–सिंगटी–लप्ची हुँदै नेपाल–चीन सीमा नाका जोड्ने सडक विस्तार गर्न सकिएमा यस क्षेत्र व्यापार, पर्यटन तथा सीमापार सहकार्यका दृष्टिले महत्वपूर्ण केन्द्र बन्न सक्छ। यसले आर्थिक गतिविधिको वृद्धि र समग्र क्षेत्रीय विकासमा योगदान पुर्याउने अपेक्षा गरिएको छ। फूलबारी बस्ती (लालुङ) सेताम्मे हिमालहरूको बीचमा रहेको सानो मैदानमा फुलेका पहेँलो फूलहरूले यस क्षेत्रको सौन्दर्यलाई थप आकर्षक बनाएका छन्। करिब ४२०० मिटर उचाइमा फुलेका यी फूलले पर्यटकहरूलाई फोटो र भिडियो खिच्न तानिरहेका छन्। केही समयअघि मात्र सामाजिक सञ्जालमार्फत चर्चामा आएको लालुङ (फूलबारी बस्ती) पछिल्ला समयहरूमा विशेषगरी युवा पुस्ताको रोजाइको गन्तव्य बन्दै गइरहेको छ। वरिपरि सेताम्मे हिमाल, खुला चरन क्षेत्रमा चरिरहेका सयौं चौरी र याकहरूको दृश्यले यस क्षेत्रको आकर्षण अझ बढाएको छ। यस्तो दृश्य धेरैका लागि नयाँ र अविस्मरणीय अनुभव बन्ने गर्दछ। गुम्बाहरू शताब्दीयौँ पुरानो इतिहास बोकेको लप्ची गुम्बा आज बौद्ध धर्मावलम्बीहरूको पवित्र आस्थाको केन्द्र बनेको छ। यहाँका गुम्बाहरू, शान्त प्राकृतिक वातावरण र आध्यात्मिक ऊर्जाले भरिएको परिवेशले आउने जोकोहीलाई आत्मिक शान्तिको अनुभूति गराउँछ। तिब्बती बौद्ध परम्पराअनुसार लप्ची, कैलाश र योल्मो (हेलाबु)लाई अत्यन्त शक्तिशाली आध्यात्मिक केन्द्रका रूपमा मानिन्छ। नेपाल–तिब्बत सीमा नजिक रहेको लप्चीकाङ र मिलारेपा गुफा बौद्ध धर्मावलम्बीहरूका लागि महत्वपूर्ण तीर्थस्थल हुन्। लप्ची गुम्बा जति आकर्षक छ, यसको इतिहास पनि त्यत्तिकै गौरवपूर्ण छ। ध्यान केन्द्रका रूपमा विकास गरिएको यस क्षेत्रका एकान्त चट्टानी स्थानहरूमा रहेका साना गुम्बाहरूमा विश्वका विभिन्न देशका मानिसहरू ध्यान, योग तथा मेडिटेसन गर्न आउँछन्। मुख्य पदमार्गबाट करिब चार घण्टाको पैदल यात्रापछि पुगिने यस शान्त र मनोरम स्थानमा विभिन्न देशका साधकहरू ध्यान गरिरहेको दृश्य अत्यन्त मनमोहक देखिन्छ। हाल गुम्बाका लामा डोजिन नुपडुप रेमजिनको नेतृत्वमा गुम्बाको संरक्षण, विस्तार तथा निर्माणका कार्यहरू अघि बढिरहेका छन्। लप्ची बस्ती लप्ची गुम्बाबाट करिब एक घण्टाको पैदल यात्रापछि नेपाल–चीन सीमाको नजिक रहेको नेपालको अन्तिम हिमाली बस्ती लप्ची गाउँ पुग्न सकिन्छ। सानो बस्ती, ढुङ्गाले बनेका परम्परागत घरहरू र वरिपरि चरिरहेका चौरीका झुण्डले यस गाउँको सौन्दर्यमा थप आकर्षण थपेका छन्। करिब ४००० मिटरको उचाइमा रहेको यस बस्तीका चौरी गोठालाहरू नेपाल–चीन सीमासम्म चौरी चराउन जिल्ला प्रशासन कार्यालयबाट जारी गरिएको सीमा पास प्रयोग गरी आवतजावत गर्छन्। पछिल्लो समय ‘एक घर, एक धारा’ अभियानअन्तर्गत घर–घरमा खानेपानीको धारा जडान गर्ने कार्य भइरहेको छ। चिसो हिमाली सिरेटो, वरिपरिका हिमालबाट बगेका स्वच्छ नदीहरूको सुसाइ र शान्त वातावरणले यस क्षेत्रलाई आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक गन्तव्य बनाएको छ। उचित होमस्टे, बासस्थान र खानपिनको व्यवस्था गर्न सके पर्यटनबाट स्थानीयहरूलाई राम्रो आम्दानी हुने सम्भावना देखिन्छ। यस क्षेत्रमा पानीको स्रोत प्रशस्त भएकोले जलविद्युत् विकासको राम्रो सम्भावना छ। भविष्यमा नेपाल–चीन सीमा नाकाबाट सहज आवागमन र व्यापारिक सहजीकरण हुन सके लप्ची गाउँको आर्थिक तथा पर्यटन महत्व अझ बढ्ने देखिन्छ। चिसो मौसममा यहाँका वासिन्दा तल्लो क्षेत्र लुम्राकतर्फ बसाइँ सर्न समेत गर्छन्। हिमाली भालुको आक्रमणले खेतीबाली नष्ट गर्ने भएकाले स्थानीयहरूले खाद्यान्न अभावको समस्या पनि भोगिरहेका छन्। लप्चीका अधिकांश वासिन्दाको मुख्य पेशा याक, चौरी तथा घोडा पालन हो। उनीहरूले याकका बाछाबाछी बिक्री, सामान ओसारपसार, दूध, घ्यु र छुर्पी उत्पादन तथा बिक्रीबाट आफ्नो जीविकोपार्जन गर्दै आएका छन्। प्रकृतिले विशाल सम्भावना दिएको यस क्षेत्रमा चुनौतीहरू पनि कम छैनन्। यातायात, शिक्षा, स्वास्थ्य, सञ्चार तथा अन्य आधारभूत सेवाको पहुँच सीमित भएकाले स्थानीयहरूले धेरै कठिनाइ भोग्नुपरेको छ। यही कारण कतिपय परिवार शहरतिर बसाइँ सर्न बाध्य भएका छन्.






