Skip to main content

जीवनसाथीका कमजोरीहरूको खोजी गर्ने बानीबाट कसरी मुक्ति पाउने?

वैवाहिक जीवन केवल दुई व्यक्तिबीचको कानुनी वा सामाजिक सम्बन्ध मात्र होइन, यसले विश्वास, सम्मान, स्वीकार्यता, सहकार्य र भावनात्मक निकटतामा आधारित दीर्घकालीन साझेदारीलाई जनाउँछ। स्वस्थ वैवाहिक सम्बन्धमा दुवैले आफूलाई सुरक्षित, मूल्यवान् र स्वीकार गरिएको महसुस गर्नुपर्छ। पछिल्ला वर्षहरूमा सामाजिक सञ्जालको प्रयोग, अरूसँग तुलना गर्ने बानी, फिल्म र सिरियलमा देखाइने अवास्तविक सम्बन्धका चित्रणहरूको प्रभाव धेरैमा परेको देखिन्छ। यस्ता प्रभावका कारण धेरैले जीवनसाथीका सकारात्मक पक्षभन्दा कमजोरीहरू खोज्न थाल्छन्। जब मानिसहरूले आफ्ना सम्बन्धहरूलाई वास्तविक आधारमा नभई अरूको जीवनसँग तुलना गरेर मूल्यांकन गर्छन्, तब सम्बन्धमा असन्तुष्टि, निराशा र तनाव बढ्ने जोखिम हुन्छ। साँच्चिकै, सम्बन्ध बिगार्ने धेरै समस्या अवास्तविक अपेक्षा र निरन्तर तुलनाबाट उत्पन्न हुन्छन्।

मनोविज्ञानमा सामाजिक तुलना सिद्धान्त ‘सोसल कम्प्यारिजन थ्योरी’ भनिन्छ। सन् १९५४ मा मनोवैज्ञानिक लियोन फेस्टिङ्गरले मानिसहरूले आफूलाई बुझ्न र मूल्यांकन गर्न अरूसँग तुलना गर्ने स्वाभाविक प्रवृत्ति रहेको बताएका थिए। सीमित मात्रामा तुलना सामान्य भए पनि अत्यधिक तुलना सम्बन्धका लागि हानिकारक हुन सक्छ। सामाजिक सञ्जालमा, जस्तै फेसबुक, इन्स्टाग्राम, टिकटकमा, मानिसहरूले प्रायः आफ्ना जीवनका उत्तम, आकर्षक र सफल क्षणहरू मात्र देखाउँछन्। त्यहाँ झगडा, आर्थिक चुनौती, मानसिक तनाव, पारिवारिक मतभेद वा व्यक्तिगत संघर्ष देखिँदैन। फलस्वरूप, धेरैले अरूको हाइलाइटलाई आफ्ना वास्तविक जीवनसँग तुलना गर्न थाल्छन् जसले आफ्नै सम्बन्धलाई कम मूल्यवान् वा अपूर्ण देखाउन बाध्य बनाउँछ। अमेरिकाको युनिभर्सिटी अफ पेन्सिल्भेनियामा गरिएको अध्ययनले सामाजिक सञ्जालको अत्यधिक प्रयोगले तुलना गर्ने प्रवृत्ति, असन्तुष्टि र एक्लोपनको भावना बढाउन सक्ने देखाएको छ।

अवास्तविक अपेक्षाहरू पनि एक ठूलो समस्या हुन्। धेरैले विवाहपछि जीवनसाथीले सबै भावनात्मक, आर्थिक, सामाजिक अपेक्षा पूरा गर्नुपर्ने सोच राख्छन्। जब वास्तविकता त्यो अनुरूप हुँदैन, तब उनीहरू अरूका सम्बन्धसँग तुलना गर्न थाल्छन्। साथीभाइ र परिवार पनि कहिलेकाहीँ अरूका अनुभव सुनेर प्रभाव पार्न सक्छ। ‘ऊको श्रीमान् यति रोमान्टिक छ’, ‘उसकी श्रीमतीले यस्तै गर्छिन्’ जस्ता टिप्पणीहरूले आफ्नै सम्बन्धमा असन्तुष्टि निम्त्याउन सक्छ। पूर्णताको खोजी गर्दा कतिपय व्यक्तिहरू पूर्ण जीवनसाथी खोजेका हुन्छन्, तर वास्तविकता के हो भने संसारमा कुनै व्यक्ति पूर्ण हुँदैन। प्रत्येक व्यक्तिसँग बलियो र सीमित पक्ष दुबै हुन्छन्।

तुलना र आलोचनाले सम्बन्धमा अनेक नकारात्मक असर पार्छ। आत्मसम्मान कमजोर हुन्छ। जीवनसाथीलाई बारम्बार अरूसँग तुलना गर्दा उसले आफू पर्याप्त नभएको महसुस गर्न थाल्छ। समयक्रममा यसले आत्मविश्वास र आत्मसम्मानमा गम्भीर असर पार्छ। भावनात्मक दूरी बढ्छ। निरन्तर आलोचना सुनेर व्यक्तिले आफ्नो भावना व्यक्त गर्न छोड्छ र आफूलाई बुझिँदैन वा स्वीकार गरिँदैन भनेर महसुस गर्न थाल्छ। यसले सम्बन्धमा भावनात्मक दूरी थप्छ। विश्वास कमजोर हुन्छ। स्वीकार्यता नै स्वस्थ सम्बन्धको आधार हो। जीवनसाथीले आफूलाई निरन्तर जाँचिएको, तुलना गरिएको वा अस्वीकार गरिएको महसुस गरेमा सम्बन्धको विश्वास कमजोर हुन्छ। झगडा र तनाव बढ्छ। आलोचना, दोषारोपण र तुलना बारम्बार दोहोरिँदा साना विषयहरू पनि ठूलो विवादमा परिणत हुन सक्छन्। सम्बन्ध विज्ञहरूले आलोचना, तिरस्कार, प्रतिरक्षात्मक व्यवहार र संवादबाट भाग्ने प्रवृत्तिलाई सम्बन्ध विघटनका प्रमुख संकेत मान्छन्। लामो समयसम्म आलोचना र तुलनाबाट तनाव, चिन्ता, हीनता, उदासीनता र सम्बन्धजन्य थकानको जोखिम बढ्न सक्छ। आत्मीयता घट्छ। निरन्तर आलोचित महसुस गर्दा सम्बन्धमा भावनात्मक र शारीरिक आत्मीयता दुवै घट्ने सम्भावना बढ्छ र यसले सम्बन्धलाई अझ कमजोर बनाउँछ।

तुलना गर्ने बानीले वास्तवमा कसलाई बढी नोक्सान पुर्‍याउँछ? धेरैले तुलना गर्दा जीवनसाथी मात्र असर पर्ने ठान्छन्, तर अनुसन्धानले तुलना गर्ने व्यक्तिको मानसिक स्वास्थ्यमा पनि नकारात्मक प्रभाव पर्छ भन्ने देखाएको छ। निरन्तर अरूको जीवन हेरेर तुलना गर्नुले असन्तुष्टि बढाउने, कृतज्ञता घटाउने, खुसी कम गर्ने, चिन्ता र तनाव बढाउने र सम्बन्ध सन्तुष्टि घटाउने गर्दछ। अर्थात् तुलना गर्ने बानीले सम्बन्ध मात्र होइन, व्यक्तिगत सुख र मानसिक शान्तिलाई पनि कमजोर बनाउँछ।

यस अवस्थालाई कसरी नियन्त्रण गर्ने? खुला र सम्मानजनक संवाद स्थापना गर्नु आवश्यक छ। भावना दबाउनुको सट्टा शान्त र सम्मानजनक तरिकाले जीवनसाथीसँग कुराकानी गर्नुपर्छ। ‘तिमी सधैं मेरो तुलना अरूसँग गर्छौ’ भन्नुभन्दा, ‘मेरो तुलना अरूसँग गर्दा मलाई नराम्रो लाग्छ र आफू अपर्याप्त महसुस हुन्छ’ भन्नु बढी प्रभावकारी हुन्छ। सामाजिक सञ्जाललाई वास्तविकता नठान्नुहोस्। त्यहाँ देखिने जीवन वास्तविकताको एक सानो अंश मात्र हो। अरूको जीवन चाहे जति आकर्षक देखिए पनि तिनीहरूको आफ्नै संघर्ष र चुनौतीहरू हुन्छन्। सकारात्मक पक्षमा ध्यान दिनुहोस्। सफल दांपत्य सम्बन्धहरूमा सकारात्मक अन्तरक्रिया नकारात्मकभन्दा बढी हुन्छ। जीवनसाथीका असल गुण, प्रयास र योगदानलाई सम्मान र प्रशंसा गर्ने बानी बसाल्नु उचित हुन्छ। कृतज्ञता अभ्यास गर्नुहोस्। प्रत्येक दिन जीवनसाथीका तीन सकारात्मक पक्षहरू लेख्ने वा सम्झने अभ्यासले सम्बन्धप्रति दृष्टिकोणमा सुधार ल्याउँछ। अनुसन्धानले पनि कृतज्ञता अभ्यासले सम्बन्ध सन्तुष्टि बढाउने प्रमाणित गरेको छ।

सम्बन्धका आफ्नै मापदण्ड बनाउनुहोस्। हरेक दम्पती फरक हुन्छन्। कसैको सम्बन्ध आर्थिक रूपमा बलियो हुन सक्छ, कसैको भावनात्मक रूपमा। कसैलाई घुमफिर मनपर्छ भने कसैलाई परिवारसँग समय बिताउन। त्यसैले आफ्नै मूल्य र प्राथमिकताका आधारमा आफ्नो सम्बन्धको मूल्याङ्कन गर्नुपर्छ। गुणस्तरीय समय बिताउनुहोस्। मोबाइल, सामाजिक सञ्जाल र बाह्य प्रभावबाट केही समय टाढा भई एकअर्कासँग समय बिताउनु सम्बन्ध सुधारका लागि प्रभावकारी हुन्छ। सँगै खाना पकाउने, घुम्न जाने, पुराना सम्झना साटासाट गर्ने वा साझा रुचिका क्रियाकलाप गर्ने अभ्यासले भावनात्मक निकटता बढाउँछ।

पूर्णता होइन, स्वीकार्यता खोज्नुहोस्। स्वस्थ सम्बन्धको आधार पूर्णता होइन, स्वीकार्यता हो। दुवै व्यक्तिले कमजोरीसहित एकअर्कालाई स्वीकार गर्न सिक्नुपर्छ। ‘किन ऊ अरूजस्तो छैन?’ भन्दा ‘उसका कुन विशेषताले हाम्रो सम्बन्धलाई बलियो बनायो?’ भन्ने सोच बढी उपयोगी हुन्छ। सीमारेखा निर्धारण गर्नुहोस्। यदि तुलना गर्ने बानीले तपाईंलाई निरन्तर मानसिक पीडा दिन्छ भने त्यसबारे स्पष्ट रूपमा जनाउनुहोस्। सम्बन्धमा सम्मानजनक व्यवहारको अपेक्षा राख्नुपर्छ। आवश्यक परे विशेषज्ञको सहयोग लिनुहोस्। लामो समयदेखि समस्या भए वा संवाद प्रभावकारी नभएमा वैवाहिक परामर्शदाता वा मनोवैज्ञानिकको सहयोग आवश्यक हुन सक्छ।