बजारमा राखिएका चम्किलो देखिने तरकारीहरू वास्तवमा विषले ढाकिएका हुन्छन्। यीलाई सामान्य पानीले अलिकति धोए पनि शरीरमा विषादी प्रवेश गर्न सक्छ। यी रासायनिक विषादीहरू दीर्घकालीन रूपमा क्यान्सर, स्नायु प्रणालीको समस्या, प्रजननमा कठिनाइ, र प्रतिरक्षा प्रणाली कमजोर बन्ने खतरा बढाउँछन्। फर्सीको मुन्टा, रायोको साग, गोलभेडा, काँक्रो जस्ता दैनिक सेवन गरिने तरकारीहरूमा विषादीको मात्रा धेरै हुन थालेको छ। त्यसैले हाम्रो दैनिक खाना विषादीयुक्त बन्न गएको छ। किन यो गम्भीर छ? तरकारीमा विषादी छर्ने प्रक्रिया अत्यन्तै चिन्ताजनक छ। जसले गर्दा ती तरकारीहरू स्वास्थ्यका लागि निकै खतरनाक हुन्छन्। बजारमा हरियो र आकर्षक देखिए पनि यस्ता तरकारीहरूले बिस्तारै शरीरलाई विषाक्त बनाइरहेका छन् र विभिन्न रोग निम्त्याउँछन्। बजारबाट ल्याएका तरकारीलाई वैज्ञानिकले सिफारिस गरे अनुसार पखालेर सेवन गर्दा धेरै हदसम्म सुरक्षित बनाउन सकिन्छ।
कसरी धुने? तरकारी पकाउनु अघि तपाईंले तिनीहरूलाई राम्ररी बगेको पानीमा मिचेर पखाल्नुपर्छ। यस क्रममा चिसो पानीमात्र प्रयोग गर्नुहोस्। विज्ञानले प्रमाणित गरेका ती भिजाउने तीन विधिहरू अपनाउनुहोस्, जसले तरकारीको सतहमा रहेका विषादी र रसायनहरूलाई निष्क्रिय पार्छन्।
१. नुनपानीमा डुबाउने: चिसो पानीमा प्रति लिटर एक चम्चा नुन मिसाएर राम्ररी घोल्नुहोस्। त्यसमा पहिले धुलेका तरकारीलाई करिब १०-१५ मिनेट डुबाउनुहोस्। नुनपानीको घोलले अस्मोटिक प्रेसर र आयोनिक अन्तरक्रियाद्वारा विषहरूलाई तरकारीबाट अलग गरी पानीमा पखाल्नुका साथै हटाउँछ। यो विधिले हटाउने विषहरूमध्ये अर्गानोफस्फेट, क्लोरोपाइरिफस, मालाथियन, सिन्थेटिक पाइरोथ्रोवाइड्स जस्तै साईपरमेथ्रिन आदि पर्दछन्। यो विधिले सम्पर्कमा आउने अधिकांश कीटनाशकहरूलाई हटाउन अत्यन्त सहयोग पुर्याउँछ। काउली, बन्दा, ब्रोकाउली र विभिन्न सागपातमा यसलाई प्रयोग गर्न सकिन्छ।
२. भिनेगरको घोलमा डुबाउने: यसका लागि करिब तीन भाग चिसो पानीमा एक भाग भिनेगर मिसाउनुपर्छ। त्यसपछि तरकारी र फलफूललाई १०-१५ मिनेट डुबाएर राख्नुपर्छ र त्यसपछि राम्ररी पखाल्नुपर्छ। भिनेगर एसिडिक प्रकृतिको हुन्छ जसले एसिड हाइड्रोलाइसिस गराएर कीटनाशक र ढुँसीनाशक औषधिको रासायनिक संरचनामा रहेको इस्टर बन्धलाई आक्रमण गरी तोडिदिन्छ र विषलाई निष्क्रिय बनाउँछ। भिनेगरको घोलले टल्किने रूपमा देखिने फलफूलहरूको माथिल्लो आवरण पगाल्दछ र त्यसभित्र रहेको विषहरूलाई पनि हटाउन सहयोग गर्छ। यसले हटाउन सक्ने रासायनिकहरूमा डाइथियो कार्वामेट, म्यान्कोव, ग्लाइफोसेटजस्ता छन्। यस विधिबाट गोलभेडा, काँक्रो, भिडे खुर्सानी, अङ्गुर, स्याउ आदि विषादीरहित बनाउन सकिन्छ।
३. बेकिङ सोडाको प्रयोग: यो खाद्य प्रयोग हुने सोडा हो जसको रासायनिक नाम सोडियम बाइकार्बोनेट हो। प्रतिलिटर पानीमा एक चम्चा बेकिङ सोडा घोलेर राम्ररी मिक्स गर्नुहोस्। पछि यसमा तरकारीलाई १०-१५ मिनेट डुबाउनुहोस्। सोडियम बाइकार्बोनेट अल्कालाइन प्रकृतिको हुन्छ र यसले अल्कालाइन हाइड्रोलाइसिस गराउँछ। यसले इस्टर तथा फस्फेट बन्धहरूलाई एसिडिक हाइड्रोलाइसिसभन्दा समेत प्रभावकारी रूपमा तोड्ने काम गर्दछ। खाने सोडाको घोलले क्लोरोपाइरिफस, मालाथियन र प्रणालीगत कीटनाशकहरू जस्तै इमिडाक्लोरपिडलाई पनि हटाउन मद्दत गर्दछ। यो बहुआयामिक विधि हो र गोलभेडा, भन्टा, भिन्डी, करेला, गाजर, मूल, काउली आदिमा प्रयोग गर्न सकिन्छ। यी तीनै विधिले तरकारीको सतहमा रहेको विषादीलाई मात्र हटाउन सक्छन्। तर, जराबाट भित्र पसिसकेको प्रणालीगत विषादलाई यी विधिले हटाउन सकिँदैन। त्यसैले सबैभन्दा राम्रो उपाय भनेको विषादीरहित तरिकाले उत्पादित तरकारी र फलफूल सेवन गर्नु हो।

