वृद्धका १२ दाँत निकालेर सम्पूर्ण बैंक रकम हडप्ने डेन्टल क्लिनिक माथि कारबाही
चीनको शाङ्सी प्रान्तमा एक वृद्धको १२ वटा दाँत निकालेर उनको बैंक खाताबाट सम्पूर्ण रकम हडप्ने डेन्टल क्लिनिकलाई स्थानीय प्रशासनले बन्द गराएको छ। क्लिनिकले बिरामीको स्वास्थ्य अवस्था जोखिमपूर्ण हुँदाहुँदै नक्कली डकुमेन्ट बनाउँदै गलत उपचार गरेको र रकम ठगी गरेको पाइएको छ। अधिकारीहरूले क्लिनिकलाई बिरामीको सम्पूर्ण उपचार शुल्क फिर्ता गर्न आदेश दिँदै कानुनी कारबाही अघि बढाएका छन्।
उत्तरी-पश्चिमी चीनको शाङ्सी प्रान्तका ६३ वर्षका ली थरका ती वृद्ध गत सेप्टेम्बरमा दाँत दुखेर दातुआनयुआन डेन्टल क्लिनिक गएका थिए। क्लिनिकका कर्मचारीले उनलाई लिन गाडी पठाएका थिए र निःशुल्क परीक्षण पनि गरिदिएका थिए। विज्ञापनका प्रलोभनमा परेर ती वृद्धले बाँकी रहेका १२ वटा दाँत निकाल्न र १० वटा इम्प्लान्ट लगाउन मन्जुरी दिएका थिए।
त्यसपछि क्लिनिकका कर्मचारीले उनको बैंक अकाउन्ट र डिजिटल वालेटबाट १८ हजार ८ सय युआन रकम निकालेका थिए। उनीहरूले ६ हजार २ सय युआनको बिल बाँकी राखेर ती वृद्धसँग जम्मा ३० युआन मात्र छोडिदिएका थिए। वृद्धको यस्तो अवस्था देखेर उनका छोराले स्वास्थ्य कार्यालयमा क्लिनिकविरुद्ध उजुरी दिएका थिए।
ती वृद्धलाई कोरोनरी मुटुको रोग, मधुमेह र उच्च रक्तचाप जस्ता गम्भीर समस्याहरू थिए र उनलाई चार वटा स्टन्ट पनि राखिएको थियो। यस्तो अवस्थामा दाँत निकाल्न र तुरुन्तै इम्प्लान्ट गर्न अत्यन्त जोखिमपूर्ण मानिन्छ। क्लिनिकले बिरामीको मेडिकल रेकर्डमा महिला लेखेको र नक्कली डकुमेन्ट बनाएको पनि खुलासा भएको छ। स्थानीय स्वास्थ्य ब्यूरोले छानबिन गर्दा क्लिनिकले पूर्ण रूपमा प्रि-अपरेटिभ एसेसमेन्ट नगरेको र सही रेकर्ड नराखेको फेला पारेको छ।