Skip to main content

वैदेशिक रोजगारी: विदेशमा लाखौँ नेपाली श्रमिकको खर्च र आम्दानीको अवस्था

विदेशमा काम गर्न जाने नेपाली श्रमिकहरूको खर्च र तिनीहरूको आम्दानीको विश्लेषण गरिएको एक सर्वेक्षणले देखाएको छ कि धेरै नेपाली अझै उच्च दक्षता वा नेतृत्व भूमिकामा छैनन्। नेपालको राष्ट्रिय तथ्याङ्क कार्यालयले अन्तर्राष्ट्रिय श्रम सङ्गठनको प्राविधिक सहयोगमा पहिलो पटक “श्रम आप्रवासी भर्ना लागत सर्वेक्षण २०२३” को प्रतिवेदन हालै सार्वजनिक गरेको हो। “त्यस क्रममा धेरैजसो अत्यन्तै राम्रो सीप भएका व्यक्ति बाहिर गएको देखिदैन,” राष्ट्रिय तथ्याङ्क कार्यालयका उप-प्रमुख तथ्याङ्क अधिकारी तथा प्रवक्ता ढुण्डीराज लामिछानेले भने। “उच्च दक्षता वा व्यवस्थापन भूमिकामा जानेहरू मात्र १.६ प्रतिशत छन्। अदक्ष श्रमिक ४४ प्रतिशत छन् भने अर्ध दक्ष वा सीमित दक्षता भएका ५५ प्रतिशत छन्।” श्रमविज्ञ मीना पौडेल भन्छिन्, “अत्याधुनिक श्रम बजार अनुरूप नेपालले आफ्ना जनशक्ति तयार पार्न सकेको छैन र त्यसैले प्रतिस्पर्धी हुन सकिरहेको छैन।”

“२० वर्ष अघि खाडी मुलुकहरूमा नेपाली श्रमिकहरू जान थालेका बेला त्यहाँ निर्माण क्षेत्रमा काम भइरहेको थियो। अहिले त्यही गन्तव्यहरू पर्यटन, प्रविधि र यातायातका केन्द्र बन्न थालेका छन्। तर हाम्रो क्षमतामा त्यस्तो परिवर्तन आएको छैन,” उनी भन्छिन्। सरकारका अधिकारीहरूले उच्च सीपयुक्त श्रमिकहरू पठाउने स्पष्ट नीतिगत अभिवृद्धि भएको र क्रमशः त्यसको सकारात्मक प्रभाव देखिन थालेको बताएका छन्। मन्त्रालयका प्रवक्ता तथा वैदेशिक रोजगार व्यवस्थापन महाशाखा प्रमुख पिताम्बर घिमिरेले इजरायल, दक्षिण कोरिया, जापान जस्ता देशहरूसँग भएको सरकार सरकारबीचको ‘जीटुजी’ सम्झौताका कारण सुरक्षा र आम्दानीका दृष्टिले फरक स्थिति रहेको र सबै देशका लागि त्यसमा प्रयास भइरहेको बताएका छन्। “हामीले गरिरहेका पछिल्ला श्रम सम्झौतामा सीप आवश्यकतालाई उच्च प्राथमिकतामा राखेका छौँ र त्यसमा सहजीकरण गर्ने विषयलाई जोड दिएका छौँ,” घिमिरे भन्छन्।

सर्वेक्षणअनुसार करिब २५ लाख जना बाहिर गएर फर्किएकाको तथ्याङ्क छ। तथ्याङ्क कार्यालयका लामिछानेका अनुसार यदि यी सबै सीपयुक्त भने अवस्थामा फरक हुने थियो। “त्यस्तो भए आम्दानीको तस्वीर नै फरक हुन्छ। अहिले विदेशमा काम गर्नेहरूको औसत आम्दानी लगभग ५४-५५ हजार रुपैयाँ मात्रै देखिन्छ,” उनले भने। “महिला श्रमिकहरूमा आम्दानी अझै कम देखिएको छ। मासिक आम्दानी बढाउन शिक्षा र सीपले ठूलो भूमिका खेल्दछ।” सर्वेक्षण अनुसार लगभग ८ प्रतिशत जनसंख्या विदेश गएर फर्किएकाहरू अन्तर्राष्ट्रिय श्रम बजारमा रहेका छन् र उनीहरूको सीप र ज्याला विश्लेषण गरिएको छ।