सम्मान भनेको डर वा दबाबमा आधारित आज्ञापालन नभई व्यक्ति, अधिकार र अस्तित्वको गरिमालाई स्वीकार गर्ने एउटा पारस्परिक अभ्यास हो। मनोवैज्ञानिक र बाल विकासका विज्ञहरूले डरभन्दा विश्वास, सुरक्षा र प्रेममा आधारित सम्बन्ध नै दीर्घकालीन विकास र चरित्र निर्माणका लागि आवश्यक रहेको बताएका छन्। स्वस्थ सीमा र असहमति व्यक्त गर्ने स्वतन्त्रता नै साँचो सम्मानको आधार हो, जसले सम्बन्धलाई मर्यादित र सुरक्षित बनाउन सहयोग गर्दछ।
सम्मान- हामी सबैले सर्वाधिक प्रयोग र अपेक्षा गर्ने शब्द। यति परिचित कि यसको अर्थ बुझाउनुपर्ने आवश्यकता नै नपर्ला जस्तो लाग्छ। तर कहिलेकाहीं सबैभन्दा परिचित शब्दहरू नै पुनः सोच्नुपर्ने विषय बन्छ। स्वाभाविक प्रश्न उठ्छ। हामीले जीवनभर सिकेको सम्मान वास्तवमा के थियो? के त्यो मनबाट आएको आदर थियो, कि कतै न कतै डरले निर्माण गरेको व्यवहार? यो प्रश्न अरूलाई होइन, पहिले आफैंलाई सोध्नुपर्ने हो।
हामीमध्ये धेरै यस्तो समाजमा हुर्कियौं जहाँ ठूलालाई सम्मान गर्नुपर्छ भनेर धेरै राम्रो कुरा सिकाइन्छ। शिक्षक, अभिभावक, हाकिम, धर्मगुरु – उहाँहरूलाई आदर गर्नु हाम्रो संस्कारको हिस्सा हो। त्यसमा धेरै सुन्दर पक्ष छन्। तर समयसँगै अर्को प्रश्न पनि उठ्न थालेको छ- के सम्मान उमेरले मात्र निर्धारण गर्छ? पदले मात्र निर्धारण गर्छ? वा सम्मान त्यस्तो कुरा हो जुन सम्बन्धमा दुवैतर्फबाट बग्नुपर्छ? आज हामी पारस्परिक सम्मानको कुरा गर्छौं।
डर शत्रु कि एउटा सीमासम्म आवश्यक साथी? डरको बारेमा कुरा गर्दा हामी प्रायः यसलाई नकारात्मक रूपमा बुझ्छौं। तर सत्य के हो भने, डर मानव जीवनको अत्यन्त आवश्यक भावना हो। विज्ञानले बताउँछ, जब हामी डराउँछौं, शरीर तुरुन्तै सतर्क अवस्थामा पुग्छ। यही प्रणालीले हजारौं वर्षदेखि मानव जातिलाई बचाउँदै आएको छ। तर एउटा महत्वपूर्ण प्रश्न फेरि यहाँ उठ्छ: के जुन भावना जीवन बचाउन बनेको हो, त्यही भावनाले सम्बन्धहरू पनि फस्टाउन सक्छन्?






