Skip to main content

काठमाडौं रेड्सले सगरमाथालाई पराजित गर्दै नेपाल भलिबल लिग रोमाञ्चक चरणमा प्रवेश

काठमाडौं, २३ भदौ । काठमाडौं रेड्सले नेपाल भलिबल लिग (एनभीएल) मा मंगलबार सगरमाथा स्म्यासर्सलाई ३-१ सेटले पराजित गर्दै दोस्रो जित हासिल गरेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा काठमाडौंले पहिलो सेट २५-१२ ले सजिलै आफ्नो पक्षमा ल्याउँदै अग्रता बनाएको थियो। तर, दोस्रो सेट सगरमाथाले २५-२२ ले जितेर खेल बराबर गर्‍यो। त्यसपछि काठमाडौंले लगातार दुई सेट २५-१८ र २५-२० ले जित्दै खेलमा विजय प्राप्त गर्यो।

काठमाडौंको यो दोस्रो जित हो भने सगरमाथाले लगातार दोस्रो हार व्यहोरेको छ। यस नतिजापछि लिग रोमाञ्चक अवस्थामा पुगेको छ। काठमाडौं ३ खेलबाट ५ अंकसहित चौथो स्थानमा छ। लिग चरणमा अझै दुई खेल बाँकी रहेकोले काठमाडौंका लागि यो जित महत्वपूर्ण मानिन्छ। अब काठमाडौंले लिगको शीर्ष स्थानमा रहेको कर्णाली शिवराज र खप्तड फाल्कन्ससँग खेल्न बाँकी छ।

सगरमाथाले ४ खेल खेलिसकेको छ र ७ अंकसहित दोस्रो स्थानमा रहेको छ। सगरमाथाले लिग चरणको अन्तिम खेलमा अन्नपूर्ण स्पाइकर किंग्ससँग प्रतिस्पर्धा गर्नेछ। मंगलबारको पहिलो खेलमा मधेश वारियर्सले खप्तड फाल्कन्सलाई ३-० को सेटमा पराजित गर्दै पहिलो जित हात पारेको छ। खप्तड भने लगातार तीन खेलमा पराजित भएर अंकविहीन छ। लिगमा बुधबार पनि दुई खेल हुनेछन्। पहिलो खेल अन्नपूर्ण र खप्तडबीच अपरान्ह ४ बजे सुरु हुनेछ।

केडिया ग्रुपको आयोजना अन्तर्गत पहिलो पटक भएको पुरुष भलिबल फ्रेन्चाइज लिगमा ६ टोली भाग लिइरहेका छन्। लिग चरणपछि शीर्ष स्थानमा रहने टोली सिधै फाइनलमा पुग्नेछ भने दोस्रो र तेस्रो स्थान प्राप्त टोलीले फाइनल प्रवेशका लागि प्लेअफ खेल्नेछन्। फाइनल खेल भदौ २७ गते सञ्चालन हुनेछ। विजेताले नगद २० लाख पुरस्कार प्राप्त गर्नेछन्।