भारतीय निर्वाचन आयोग अगाडि वामपन्थी दलहरूको प्रदर्शन, केही नेताहरू पक्राउ

भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए बेबीलाई प्रहरीले पक्राउ गरेको छ। नयाँ दिल्लीस्थित भारत निर्वाचन आयोगको मुख्यालयबाहिर वामपन्थी दलहरूले गरेको विरोध प्रदर्शनका क्रममा उनलाई हिरासतमा लिइएको हो। उनीसँगै सीपीआई (एमएल) की केन्द्रीय समिति सदस्य सुचेता डे र श्वेता राजलाई पनि हिरासतमा लिइएको छ।
वामपन्थी दलहरूले निर्वाचन आयोगको कार्यालयबाहिर संयुक्त रुपमा प्रदर्शन गर्दै मुख्य निर्वाचन आयुक्त (सीईसी) ज्ञानेश कुमारको राजीनामाको माग गरेका थिए। सीपीआई (एम) ले जारी गरेको विज्ञप्तिमा प्रदर्शनकारीको कुरा सुन्नुको सट्टा प्रहरीले उनीहरूमाथि बल प्रयोग गरेको आरोप लगाएको छ। विज्ञप्तिमा भनिएको छ, ‘हामीलाई हिरासतमा लिइएको छ र हामीलाई कहाँ लगिँदैछ वा कहिले छाडिनेछ भन्ने थाहा छैन।’
प्रदर्शनमा सीपीआई (एमएल) का विभिन्न नेता, सीपीआई (एम) का नेता, सीपीआई (एमएल) की नेतृ कमरेड सुचेता डे, श्वेता राज, एआईसीटीयू र एआईएलएजेका कार्यकर्ता, अन्य वरिष्ठ नेता तथा ट्रेड युनियन नेताहरू सहभागी थिए।





