
१८ असोज, काठमाडौं । नेपाली महिला क्रिकेट टोलीकी कप्तान इन्दु बर्मा सहभागी टोरन्टो सिक्सर्सले क्यानडा सुपर ६० महिला क्रिकेट प्रतियोगितामा उपाधि जितेको छ । आइतबार बिहान सम्पन्न फाइनलमा टोरन्टोले भ्यानकुभर वारियर्सलाई ६ विकेटले पराजित गर्दै उपाधि आफ्नो बनाएको हो । ८६ रनको लक्ष्य टोरन्टोले ३ बल बाँकी छँदा पूरा गर्यो । इन्दुले विजयी रन प्रहार गर्दै १५ रनमा अविजित रहिन् । उनले बलिङमा पनि १ विकेट लिँदै एक रनआउट पनि गराएकी थिइन् । इन्दुले प्रतियोगितामा ४ खेलमा ४ विकेट लिइन् । टोरन्टोले पहिलो खेलमा भ्यानकुभर वारियर्ससँग पराजित भएको भए पनि पछि भ्यानकुभर एङ्कर्सलाई हराएको थियो भने इलिमिनेटर खेलमा पुनः भ्यानकुभर एङ्कर्सलाई हराएर फाइनलमा पुग्न सफल भयो ।






