
अत्यधिक गर्मीले गर्भवती महिलाहरू र नवजात शिशुहरूको स्वास्थ्य जोखिममा वृद्धि
१९ असोज, नाडी (फिजी) (रासस/एएफपी)। जलवायु परिवर्तनका कारण बारम्बार हुने अत्यधिक गर्मीले गर्भवती महिला र नवजात शिशुहरूको स्वास्थ्यमा गम्भीर खतरा उत्पन्न गरेको संयुक्त राष्ट्रसंघका जलवायु प्रमुख साइमन स्टिलले चेतावनी दिएका छन्। फिजीको नाडीमा आयोजना हुन लागेको ‘प्रि–कोप’ शिखर सम्मेलनमा उनले अत्याधिक गर्मीका कारण समयपूर्व जन्म, मृत शिशु जन्म, कम जन्मतौल र मातृत्वसम्बन्धी जटिलता वृद्धि भइरहेको अवस्था प्रस्तुत गर्ने भएका छन्।
पाँच महाद्वीपका स्वास्थ्यकर्मीहरू माझ गरिएको नयाँ सर्वेक्षणको उद्धरण गर्दै स्टिलले बताए कि पछिल्ला पाँच वर्षमा दुई तिहाइभन्दा बढी स्वास्थ्यकर्मीले अत्याधिक गर्मीका कारण गर्भवती महिला र नवजात शिशुहरूमा जटिलताहरू देखिएको जनाएको छ। वेलकम फाउन्डेसनले बेलायत, अस्ट्रेलिया, भारत, ब्राजिल र जिम्बाब्वेका एक हजार प्रसूति स्वास्थ्यकर्मी तथा चिकित्सकहरूको माझ गरेको सर्वेक्षणमा लगभग सबैले गर्मी सम्बन्धी समस्याका कारण आमा वा शिशुहरूको उपचार गरेको बताएका छन्।
फाउन्डेसनकी अध्यक्ष तथा अस्ट्रेलियाकी पूर्वप्रधानमन्त्री जुलिया गिलार्डले जलवायु परिवर्तनले आमा र बच्चाहरूलाई बढ्दो खतरा पुर्याएको बताइन्। उनले अत्याधिक गर्मीलाई ‘अदृश्य हत्यारा’को उपमा दिँदै आवश्यक प्रमाण र समाधान उपलब्ध भएकाले नेताहरूले तत्काल कदम चाल्नुपर्ने जोड दिइन्। वैज्ञानिकहरूले जलवायु परिवर्तनको प्रभावले चरम मौसम र तापक्रमका नयाँ रेकर्डहरू तोडिरहेका छन् भनी चेतावनी दिएका छन्। एएफपीका अनुसार यस वर्ष पश्चिमी युरोपदेखि साहेल क्षेत्र तथा मध्य अमेरिकासम्म करिब ३३ देशमा जुलाई महिनाको तापक्रम इतिहासमै सबैभन्दा उच्च दर्जामा पुगेको छ।
फिजीमा जारी प्रि–कोप ३१ तथा टुभालुको बैठकलाई प्रशान्त क्षेत्रीय नेताहरूले जलवायु परिवर्तनबाट प्रभावित समुदायका समस्या विश्वसामु उठाउने अवसरको रूपमा लिइरहेका छन्। यी बैठकहरू अर्को महिनामा टर्कीमा आयोजना हुने संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन कोप–३१ का तयारीका रूपमा भइरहेका छन्।