Skip to main content

फेयरफोर्ड एयरबेसमा आतङ्ककारी आक्रमणको खतरा, अमेरिकाले बी–१ बमवर्षक फिर्ता बोलायो

२१ असोज, काठमाडौं । बेलायतको ‘आरएएफ फेयरफोर्ड’ वायुसेना बेसमा सम्भावित आतङ्ककारी आक्रमणको जोखिम बढेपछि अमेरिकाले त्यहाँ तैनाथ दर्जनौँ बी–१ बमवर्षक विमानहरूलाई फिर्ता बोलाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो घटना र भर्खरै भएको ‘फ्लाईदुबई’ विमानमाथि आक्रमण प्रयासको पछाडि इरानको हात रहेको दाबी गरेका छन्। पिसिएस फेयरफोर्ड एयरबेस (ब्रिटेन) मा तैनाथ बी–१ ‘ल्यान्सर’ बमवर्षक विमानहरू अमेरिकाले आकस्मिक रूपमा फिर्ता फर्काएको छ।

अमेरिकी विदेश मन्त्री मार्को रुबियोले यो प्रक्रियालाई नियमित कूटनीतिक र सैन्य ‘रोटेसन’ भएको र कुनै प्रत्यक्ष खतरासँग सम्बन्धित नभएको बताएका थिए। तर केही घण्टाभित्रै राष्ट्रपति ट्रम्पले रुबियोको भनाइ अस्विकार गर्दै इरान समर्थित सुरक्षा खतराका कारण विमानहरू हटाउनुपर्ने स्पष्ट पारे। “ती विमानहरू आकस्मात् फिर्ता उडेका होइनन्, त्यहाँ वास्तविक खतरा थियो,” ट्रम्पले पत्रकारहरूसँग भने।

बेलायतमा पक्राउ र इजरायली गुप्तचर: बेलायती सुरक्षा निकायहरूले गत हप्ता फेयरफोर्ड बेस नजिकै आक्रमण योजना बनाएको आशङ्कामा बेलायती–इरानी दोहोरो नागरिकता भएको केहि व्यक्तिहरूलाई पक्राउ गरेका थिए। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले उक्त आक्रमण योजनाबारे इजरायलले बेलायतलाई गुप्तचर सूचना उपलब्ध गराएको बताएका छन्। राष्ट्रपति ट्रम्पलाई ‘फ्लाईदुबई’ उडानमा भएको आतङ्ककारी हमलाको प्रयासबारे सोध्दा उनले त्यस घटनामा पनि इरानकै प्रत्यक्ष संलग्नता या उक्साहट भएको आरोप लगाए।

गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अवीवतर्फ उडिरहेको ‘फ्लाईदुबई’ को सह–चालक हम्माम अल–हम्मामी (ओमानी नागरिक) ले अचानक विमानका मुख्य पाइलटमाथि ककपिटमा रहेको ‘क्रश एक्स’ बाट आक्रमण गरेका थिए। आक्रमणपछि सह–चालकले विमान तीव्र गतिमा तल झारेका थिए जसले ३० सेकेन्डमै करिब १६,००० फिट उचाइ गुमाएको थियो। उनी विमानलाई बेन गुरियन विमानस्थल या तेल अवीवको टावरमा ठोक्काएर आत्मघाती हमला गर्ने प्रयासमा थिए। घाइते क्याप्टेन, दुई अवकासप्राप्त पाइलट र साहसी यात्रुहरूले ककपिटमा प्रवेश गरी आक्रमणकारीलाई नियन्त्रणमा लिएपछि ठूलो दुर्घटना टरेको थियो। पश्चात विमानलाई साउदी अरबको तबुक (टाबुक) विमानस्थलमा आपतकालीन अवतरण गर्न बाध्य भयो। पेन्टागनले आफ्ना बी–१, बी–२ र बी–५२ जस्ता रणनीतिक बमवर्षक विमानहरू अमेरिकाभित्रैबाट उडान भरेर विश्वको जुनसुकै कुनामा तत्काल ‘सटिक प्रहार’ (प्रिसिजन स्ट्राइक) गर्न पूर्ण सक्षम र तयार रहेको जनाएको छ।