टप एन्ड क्रिकेटबाट बाढी प्रभावित बालबालिकाका लागि ४ हजार २६९ डलर सहयोग सङ्कलन भयो

२१ असोज, काठमाडौं । अस्ट्रेलियामा भएको टप एन्ड टी–२० सिरिजबाट नेपालका बाढी प्रभावित बालबालिकाका लागि ४ हजार २६९ अमेरिकी डलर सहयोग सङ्कलन गरिएको छ। सिरिजका क्रममा सङ्कलन गरिएको उक्त रकम युनिसेफ अस्ट्रेलियालाई हस्तान्तरण गरिने जानकारी प्राप्त भएको छ। उक्त रकम नेपालमा आएको आकस्मिक बाढीबाट प्रभावित बालबालिकाको सहयोगका लागि प्रयोग गरिनेछ। युनिसेफ अस्ट्रेलियामार्फत उक्त रकम प्रभावित बालबालिकालाई जीवनरक्षक स्वास्थ्य सेवा, पोषण तथा सुरक्षित खानेपानी उपलब्ध गराउनमा खर्च गरिने जनाइएको छ।
सहयोग अभियानमा साथ दिने नेपाली समुदाय, चिठ्ठा कार्यक्रम सञ्चालनमा सहयोग गर्ने स्टडी एनटीका राजदूत तथा टिकट खरिद गर्ने, चिठ्ठामा सहभागी हुने र प्रत्यक्ष सहयोग गर्ने सबैलाई आयोजकले धन्यवाद दिएको छ। नेपाल ए क्रिकेट टोली अस्ट्रेलियामा भएको टप एन्ड टी-२० सिरिजमा सहभागी थियो। उक्त सिरिज चलिरहेको समयमा नेपालको रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा विनाशकारी बाढी आएको थियो। त्यसबेला बाढीबाट प्रभावित नेपालका नागरिकप्रति क्रिकेट अस्ट्रेलियाले एकता देखाएको थियो भने युनिसेफ अस्ट्रेलियाले नेपाल आपत्कालीन राहत अभियानमा सहयोगका लागि अपिल गरेको थियो।






