भाजपा अध्यक्ष नितिन नवीनको आरोप – राहुल गान्धी घुसपैठियाहरूको पक्षमा संघर्ष गरिरहेका छन्

भारतीय सत्तारुढ पार्टी भाजपा का राष्ट्रिय अध्यक्ष नितिन नवीनले विपक्षी नेता राहुल गान्धीमाथि घुसपैठियाहरूको पक्षमा संघर्ष गरिरहेको आरोप लगाएका छन्। बुधबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लोकसभा निर्वाचन क्षेत्र वाराणसीमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले राहुल गान्धीलाई कडा आलोचना गरेका छन्। भाजपा अध्यक्षको यो अभिव्यक्ति भारतभरि मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्दै भइरहेका आन्दोलनको बेला आएको हो।
ज्ञानेश कुमारको राजीनामा माग्दै राहुल गान्धीसहितका विपक्षी दलका नेताहरू निरन्तर आन्दोलनरत छन्। उनीहरूलाई लगातार दुई दिन दिल्ली प्रहरीले नियन्त्रणमा लिएर राति छोडेको छ। त्यसैगरी ककरोच जनता पार्टीले पनि मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग्दै आन्दोलन गरिरहेको छ।
‘आज दिल्लीमा केही असामाजिक तत्वद्वारा फैलाइएको अराजकताबारे,’ भाजपा अध्यक्ष नवीनले भने, ‘म विपक्षी दलका नेता राहुल गान्धीलाई भन्न चाहन्छु– जसरी तपाईं घुसपैठियाहरूलाई अधिकार दिलाउने प्रयासमा हुनुहुन्छ, त्यसलाई भारतीय जनता कहिल्यै स्वीकार गर्ने छैनन्।’ उनले राहुललाई प्रश्न गर्दै भने, ‘तपाईं कसको चिन्ता गरिरहनुभएको छ र कसका लागि संघर्ष गरिरहनुभएको छ?’ ‘यदि एसआईआरका कारण घुसपैठियाहरूको नाम मतदाता सूचीबाट हटाइए र त्यस आधारमा तपाईंले देशको लोकतन्त्रमाथि प्रश्न उठाइरहनुभएको छ भने कतै न कतै प्रश्न तपाईंमाथि पनि उठ्नेछ,’ उनले थपे। नितिन नवीनले जारी राख्दै भने, ‘म विश्वास गर्छु, भारतका जनताले यस प्रकारको अराजकतावादी मानसिकता र विचारलाई कडा जवाफ दिनेछन्।’






