
विराटनगर किङ्सको मुख्य प्रशिक्षकमा धम्मिका प्रसादको निरन्तरता
२२ असोज, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि विराटनगर किङ्सले श्रीलंकाका पूर्व अन्तर्राष्ट्रिय क्रिकेटर धम्मिका प्रसादलाई मुख्य प्रशिक्षकको रूपमा निरन्तरता दिएका छन् । प्रसादले आगामी सिजन पनि विराटनगरको प्रशिक्षण र रणनीतिक नेतृत्वको जिम्मेवारी सम्हाल्नेछ । उनको बलिङ प्रशिक्षण, खेलाडी विकास र टोली व्यवस्थापनमा प्राप्त अनुभवको आधारमा टोलीले उनलाई पुनः नियुक्त गरेको जनाएको छ ।
दायाँ हाते द्रुत बलर प्रसादले श्रीलंकाका लागि २५ टेस्ट, २४ एकदिवसीय तथा १४ टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् । प्रशिक्षकको रूपमा उनले अमेरिका राष्ट्रिय क्रिकेट टोलीमा सहायक र बलिङ प्रशिक्षकको भूमिका निर्वाह गरेका छन् । साथै, उनले नेपाल र ओमान राष्ट्रिय टोलीको बलिङ प्रशिक्षकको रूपमा पनि काम गरिसकेका छन् । फ्रेन्चाइज क्रिकेटमा प्रसादले लङ्का प्रिमियर लिग अन्तर्गत कोलम्बो किङ्सको बलिङ प्रशिक्षक, क्यान्डी बोल्ट्सका प्रशिक्षण निर्देशक र क्यान्डी रोयल्सका सहायक प्रशिक्षकको भूमिकामा अनुभव प्राप्त गरेका छन् ।
विराटनगरमा पुनः जिम्मेवारी पाउँदा प्रसादले खुशी व्यक्त गर्दै भने, गत सिजन प्लेअफबाट बाहिरिनु उनको लागि पीडादायी अनुभव थियो । उनले यसपटक टोली अझ सशक्त भएर फर्कने र उत्कृष्ट प्रदर्शन गर्ने आशा व्यक्त गरे । ‘म विराटनगर किङ्ससँग यो सिजन पनि जोडिन पाउँदा धेरै खुशी र उत्साहित छु । गत सिजन प्लेअफबाट बाहिरिनुपर्दा त्यो क्षण धेरै पीडादायी र निराशाजनक थियो,’ उनले बताए।
एनपीएलको तेस्रो संस्करणको तयारीका लागि विराटनगर किङ्स हाल भारतको उत्तर प्रदेशस्थित पूर्वाञ्चल क्रिकेट एकेडेमीमा प्रशिक्षणमा जुटिरहेका छन् । टोलीले त्यहाँ रणजी ट्रफी खेलिसकेका भारतीय खेलाडीहरूसँग फ्लडलाइट मुनि अभ्यास खेल खेलेर तयारीलाई मजबुत बनाएको छ । प्रसादले भारतमा भइरहेको प्रशिक्षणबाट टोलीको तयारी अझ सुदृढ भइरहेको बताए । ‘हाम्रो भारतमा प्रशिक्षण राम्ररी भइरहेको छ र खेलाडीहरूले राम्रो प्रशिक्षण प्राप्त गरिरहेका छन्,’ उनले भनाए।