Skip to main content
Advertisementxtreme adv

ककरोच पार्टीको प्रदर्शन भोलिदेखि जन्तरमन्तरमा, दिल्ली प्रहरीले अनुमति दिएन

भारतीय निर्वाचन आयोगका मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्दै ककरोच जनता पार्टी (सीजेपी) ले भोलिदेखि दिल्लीको जन्तरमन्तरमा प्रदर्शन गर्ने घोषणा गरेको छ। तर, अहिलेसम्म दिल्ली प्रहरीले प्रदर्शनका लागि अनुमति प्रदान गरेको छैन। सीजेपीको प्रदर्शनलाई विपक्षी दलहरूले समर्थन गरेका छन्। प्रदर्शनअघि दिल्ली प्रहरीले ५७ वटा मेट्रो स्टेशनका प्रवेश तथा निकासद्वार बन्द गर्ने निर्णय गरेको छ। भारतीय रेलको निर्णयअनुसार नयाँ दिल्ली र हजरत निजामुद्दीन रेलवे स्टेशनबाट चल्ने रेल सेवा पनि १० घण्टाका लागि रोक लगाइनेछ।

शुक्रबार पत्रकार सम्मेलन गर्दै दिल्ली प्रहरीकी संयुक्त आयुक्त नुपुर प्रसादले सीजेपीका सहसंयोजक सौरभ दासबाट प्रदर्शनसम्बन्धी निवेदन प्राप्त भएको जानकारी गराइन्। उनका अनुसार निवेदनमाथि विचार गर्दा प्रदर्शनबारे अत्यन्तै कम समयअघि सूचना प्राप्त भएको थियो। नियम अनुसार प्रदर्शन गर्न कम्तीमा १० दिनअघि सूचना दिनुपर्ने व्यवस्था छ। प्रसादले भने कि यसअघि सीजेपीलाई सोही स्थानमा प्रदर्शन गर्न अनुमति दिइएको भएपनि पार्टीले कानुनी निर्देशन र प्रतिबद्धता पालना नगरेको आरोप पनि लगाइिन्। उनले भनिन्, ‘यसलाई ध्यानमा राखेर यसपटक प्रदर्शनको अनुमति दिइएको छैन।’

उनका अनुसार नयाँ दिल्लीमा भारतीय नागरिक सुरक्षा संहिताको धारा १६३ लागू छ। सार्वजनिक व्यवस्था र सुरक्षा कायम राख्न आवश्यक प्रतिबन्ध लगाइएको छ भने यसको उल्लङ्घन गर्ने विरूद्ध कानुनी कार्यवाही गरिने चेतावनी दिइन्। तर, सीजेपीले प्रदर्शनबाट पछि नहट्ने निर्णय गरेको छ। पार्टीले प्रहरीले आफ्ना समर्थकहरूलाई गैरकानुनी रूपमा नियन्त्रणमा लिइरहेको आरोप पनि लगाएको छ। सीजेपीका संस्थापक अभिजित दीपकेले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘अक्टोबर १० मा हुने हाम्रो प्रदर्शनअघि भाजपा सरकारले देशभरका हजारौँ युवालाई नियन्त्रणमा लिएको छ। मोदी, तपाईंको डर देखाउने र धम्क्याउने प्रयास सफल हुने छैन। देशका युवा अब तपाईंबाट डराउँदैनन्। म भोलि दिल्ली पुग्नेछु र जुनसुकै अवस्थामा पनि जन्तरमन्तरसम्म मार्च गर्नेछु।’

सात हजार सुरक्षाकर्मी परिचालन हुँदै प्रदर्शनअघि दिल्लीमा केन्द्रीय रिजर्भ प्रहरी बल (सीआरपीएफ) का कम्तीमा ७० कम्पनी परिचालन गरिने भारतीय समाचारहरूमा उल्लेख छ। ती कम्पनीहरूमा करिब सात हजार सुरक्षाकर्मी छन्। सीआरपीएफको एक कम्पनीमा करिब १०० सुरक्षाकर्मी हुन्छन्। ती सुरक्षाकर्मी हाल पश्चिम बंगाल र छत्तीसगढमा तैनाथ छन् र प्रदर्शनअघि दिल्ली पठाइनेछन्। छत्तीसगढमा रहेका सीआरपीएफ इकाइहरूलाई पूर्ण परिचालन क्षमतामा रहन, आवश्यक साजसज्जा, हतियार र गोली सहित तयारी अवस्थामा रहन निर्देशन दिइएको छ। उक्त परिचालन गृह मन्त्रालयको निर्देशनमा भइरहेकाे जनाइएको छ। प्रदर्शनलाई ध्यानमा राखेर जन्तरमन्तर र वरिपरिका क्षेत्रहरूमा व्यापक सुरक्षा व्यवस्था मिलाइँदैछ। सीजेपीले मतदाता नामावलीको विशेष सघन पुनरावलोकन (एसआईआर) का क्रममा अनियमितता भएको आरोप लगाउँदै मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग्दै प्रदर्शन आह्वान गरेको हो।