Skip to main content
Advertisementxtreme adv

स्माइलिङ डिप्रेशन: के हो र कसरी चिन्ने?

“डिप्रेशन” भएका व्यक्तिको कल्पना गर्दा सामान्यतया तपाईँले तस्बिर यस्तो देख्नुहुन्छ जहाँ उनीहरू ओछ्यानबाट उठ्न संघर्ष गर्दछन्। सायद उनीहरू प्रायः रुन्छन्, साथीबाट टाढा बस्छन् वा दिन बिताउनलाई मुस्किलले ऊर्जावान् हुन्छन्। तर “स्माइलिङ डिप्रेशन” भएका मानिसहरू यस्तै देखिन्नन्। कहिलेकाहीँ जो मूर्ख बनाइएको अनुभव गर्छ, त्यो साथी, साझेदार वा सहकर्मी होइन – त्यो तपाईँ आफैँ हुन सक्छ।

“स्माइलिङ डिप्रेशन” भनेको मुहारमा मुस्कान भए पनि भित्रभित्रै अनुभव गरिने डिप्रेशन हो। यो अहिले सम्म कुनै अधिकारिक रोगको निदान वा वर्गीकरणको रूपमा मानिएको छैन। यद्यपि, पछिल्लो पाँच वर्षमा यस शब्दको खोजी ५० प्रतिशतले वृद्धि भएको छ। ब्रिटेनको केम्ब्रिज विश्वविद्यालयकी मानसिक स्वास्थ्य अनुसन्धानकर्ता डा. ओलिभिया रेमेस भन्छिन्, “यसको अर्थ बाहिर देख्दा खुशी भए पनि भित्र निराश र उदास महसुस हुनु हो।” विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वभर ३२ करोड २० लाख मानिसहरूमा यस्तै भावना डिप्रेशनका रूपमा विकसित भइरहेको छ।

डिप्रेशन सधैंझैँ अपेक्षा गरेजस्तो देखिने कुरा होइन। अध्ययनहरूले देखाएका छन् कि डिप्रेशन भएका करिब ४० प्रतिशत मानिसहरूमा यस प्रकारको ‘‘असामान्य’’ समस्या देखा पर्दछ। यसलाई ‘क्यामफ्लाजिङ’ वा ‘मास्किङ’ भनिन्छ जसमा उनीहरूले आफूभित्रका केही लक्षणहरू वा भावनाहरुलाई लुकाएर अरूसँग मिल्ने वा सामान्य देखिन प्रयास गर्दछन्।

डिप्रेशन लुकाउनुका जोखिमहरू गम्भीर हुन सक्छन्। ब्रिटेनको एक्सटर विश्वविद्यालयका चिकित्सकीय मनोवैज्ञानिक प्राध्यापक बार्नी डन भन्छन्, “डिप्रेशनले हामीलाई अलग्गै बनाउँछ र एक्लोपनको अनुभूति गराउँछ।” रेमेस थप्छिन्, “यदि यी प्रारम्भिक लक्षणहरूलाई समयमै सम्बोधन नगरियो भने यसले दीर्घकालीन र गम्भीर समस्याको रुप लिन सक्छ र आत्महत्या जोखिमलाई बढाउन सक्छ।”