Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

फ्रिज ह्याकपछि घरेलु उपकरणहरूको सुरक्षा जोखिम – युरोपेली संघका साइबर प्रमुखको चेतावनी

Advertisement800×200-1

३० कात्तिक, काठमाडौं । सुपरमार्केटका फ्रिजहरूमा हालै भएको साइबर आक्रमणपछि अब घरेलु उपकरणहरू पनि निसानामा पर्न सक्ने युरोपेली संघ (ईयू) का साइबर प्रमुखले मंगलबार एएफपीलाई बताएका छन्। उनले बढ्दो साइबर खतराहरूको सामना गर्न युरोपलाई थप लगानी गर्न आग्रह गरेका छन्। अक्टोबर र नोभेम्बरमा कम्तीमा १२ युरोपेली देशका सुपरमार्केटहरू साइबर आक्रमणको सिकार भएका थिए, जसमा फ्रान्स सबैभन्दा बढी प्रभावित भएको थियो।

ईयूको साइबर सुरक्षा एजेन्सी एनिसाका कार्यकारी निर्देशक जुहान लेपासारले भने, ‘सुरक्षालाई पछि मात्र सोचिने विषय बनाउनु हुँदैन र सकिँदैन,’ उनले थपे, ‘आज फ्रिज ह्याक भयो, भोलि राउटर हुन सक्छ, पर्सि घरेलु उपकरणहरू हुन सक्छन् र यो क्रम यस्तै चल्न सक्छ।’ लेपासारले ब्रसेल्समा एएफपीसँग कुरा गर्दै एथेन्सस्थित एजेन्सीको ईयूको साइबर सुरक्षा अवस्थासम्बन्धी पछिल्लो द्विवार्षिक रिपोर्ट सार्वजनिक गर्ने क्रममा यस्तो बताएका हुन्।

‘सबै घटनाहरूलाई रोक्न सकिन्छ, तर प्रश्न यो हो कि के हामी यसका लागि लगानी गर्न तयार छौँ? साइबर सुरक्षा सस्तो छैन,’ उनले भने। उनले निर्माताहरूलाई आफ्ना उत्पादनहरू निर्माणकै क्रममा सुरक्षित बनाउन आह्वान गरे। लेपासारले साइबर सुरक्षा अत्यन्त महत्त्वपूर्ण रहेको बताउँदै भने, ‘एक नागरिक र मानिसको रूपमा तपाईं निर्भर हुने हरेक सेवामा डिजिटल तत्त्व जोडिएको हुन्छ। त्यहाँ कोडको एउटा अंश हुन्छ, जसलाई सुरक्षित गरिएन भने ह्याक गर्न सकिन्छ।’

अक्टोबर ११ र १२ मा सयौँ फ्रान्सेली सुपरमार्केटहरू साइबर आक्रमणको सिकार भएका थिए। ह्याकरहरूले फ्रिज र फ्रिजरको तापक्रम बढाइदिएका थिए, जसले गर्दा धेरैले बिग्रिएका खानेकुराहरूको सम्पूर्ण स्टक फ्याँक्नुपरेको थियो। सोमबार फ्रान्सले सुपरमार्केटमा भएको यस साइबर आक्रमणका लागि इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्सलाई जिम्मेवार ठहराएको थियो। लेपासारले फ्रान्सको आरोपमाथि सिधै कुनै टिप्पणी गरेनन्, तर इरानी र रुसी राज्य-समर्थित तत्त्वहरूले युरोपलाई निसाना बनाउने गरेको कुरा जानकारीमा रहेको बताए।


Advertisementadv-800×200.png

सम्बन्धित खबर