
गुरु पूर्णिमा गुरुको सम्मानमा मनाइने एक पर्व हो। ती गुरुहरू आध्यात्मिक वा प्राज्ञिक हुनसक्छन्। मानिसको जीवनको आरम्भदेखि नै गुरुहरूको महत्वपूर्ण भूमिका र प्रभाव रहन्छ। कुनै पनि व्यक्ति सफल वा असफल हुने कुरा गुरुले कस्तो शिक्षा दिनेछन् भन्ने कुरामा निर्भर पनि रहन्छ। ती गुरुहरू केवल औपचारिक शिक्षा दिने शिक्षक मात्रै नभएर जो कोही हुनसक्छन्। “त्यसरी सफल जीवनका लागि मार्गदर्शन गर्ने व्यक्तिप्रति सम्मान र कृतज्ञता व्यक्त गर्ने दिवस गुरु पूर्णिमा हो,” संस्कृतिकर्मी र प्राध्यापक माधवप्रसाद भट्टराई बताउँछन्।
विशेषगरी हिन्दू धर्मावलम्बीहरूले आश्विन शुक्ल पूर्णिमाको दिनलाई गुरु पूर्णिमाको रूपमा मनाउने गर्छन्। हिन्दू संस्कृतिको प्रभावले तथा त्यो संस्कृतिलाई पछ्याउँदै अन्य केही धार्मिक सम्प्रदायले पनि नेपालमा गुरु पूर्णिमा मनाउने प्रचलन छ। यस वर्ष गुरु पूर्णिमा सोमबार परेको छ र नेपालसहित हिन्दूहरूको बसोबास भएका भारत लगायत देशहरूमा यो पर्व धुमधामले मनाइँदै छ।
पौराणिक मतअनुसार गुरु पूर्णिमा वेद व्यासको जन्मदिनको रूपमा पनि मानिन्छ। केही जानकारहरू भन्छन् कि गुरु पूर्णिमा उन्हैको सम्मानमा मनाइने भयो र यसलाई व्यास पूर्णिमा पनि भनिन्छ। केही हिन्दू शास्त्रहरूमा गुरु पूर्णिमाको दिन महर्षि वेद व्यासले चारवटा वेदहरूको रचना गरेको दिन मानिन्छ र त्यसैले उनले व्यास भन्ने नाम पाएका हुन्।
अर्को पौराणिक मान्यता अनुसार भगवान् शिवले गुरु पूर्णिमाको दिनदेखि सात ऋषिलाई योग सिकाउन थालेका थिए। बौद्ध धर्मजनहरू पनि गौतम बुद्धको सम्झनामा गुरु पूर्णिमा मनाउने गर्छन्। उनीहरूको विश्वास अनुसार गौतम बुद्धले यसै दिन आफ्नो पहिलो उपदेश दिएका थिए।
आजकाल गुरु पूर्णिमा आधुनिक शिक्षालयहरूमा पनि धूमधामले मनाइन्छ। यो दिनमा विद्यार्थीहरूले गुरुहरूको महिमा गाउने, सम्मान गर्ने कार्यक्रम राख्ने तथा उपहार दिने चलन छ। “अहिले आधुनिक ढंगले गुरु पूर्णिमा मनाउनुमा केही राम्रो पहलहरू छन्, तर गुरु र शिष्यबीचको पहिलेको जस्तो सम्मान अब कम छ,” भट्टराई भन्छन्। “आजको समाजमा सबै कुरालाई आर्थिक रूपमा हेर्ने भएकाले पूर्वीय सभ्यतामा गुरु-शिष्यको सांस्कृतिक परम्परामा ठूलो परिवर्तन आएको छ।”






