
फ्रान्सको पेरिसमा जारी पब्जी मोबाइल विश्वकपको ग्रान्ड फिनालेमा नेपालबाट होरा ईस्पोर्ट्स सोझै प्रवेश गरेको छ। समूह ‘बी’ अन्तर्गत प्रतिस्पर्धा गर्ने होरा ईस्पोर्ट्सले ९८ अंकका साथ चौथो स्थानमा रहँदै तालिकामा शीर्ष पाँचमा स्थान बनाएको छ। छैटौंदेखि १३औं स्थानसम्म रहेका टिमहरूले सर्भाइभल स्टेजमा प्रतिस्पर्धा गरेर फाइनल प्रवेश गर्ने छन्। २४ साउन, काठमाडौं।
आइतबार सम्पन्न खेलहरूमध्ये समूह ‘बी’ का १६ टिममध्ये शीर्ष ५ मा परेको होराले फिनालेमा स्थान बनाएको हो। होराले एक चिकेन डिनरसहित कुल ९८ अंक जोड्दै चौथो स्थानमा रहेर फाइनल प्रवेश गरेको छ। समूह ‘बी’ बाट भाइटालिटी मिसनले १४८ अंकका साथ फिनालेमा स्थान बनाएको छ भने आईडीए, एसटुजी र गडलाइक पनि होरासँगै फाइनलमा पुगेका छन्।
पहिलो दिन ५९ अंकसहित तेस्रो स्थानमा रहेको होराले दोस्रो दिन ६ खेलमा ३९ अंक थप्दै टिमको प्रदर्शनलाई मजबुत बनाएको थियो। अन्तिम खेलअघि शीर्ष पाँचमा रहेको होरा अन्तिम खेलमा छैटौं स्थानमा भए पनि शीर्ष पाँचमा रहन सफल भयो। होराले पहिलो दिन दुई खेलमा शानदार प्रदर्शन गर्दै दोस्रो खेलमा चिकेन डिनर जितेको थियो। कुलमा ३७ प्लेसमेन्ट पोइन्ट र ६१ किलसहित ९८ अंक बनाउँदै होराले उत्कृष्ट प्रदर्शन गरेको छ।
समूहमा चौथो स्थान प्राप्त गरेपछि होराले ५७ हजार ५०० अमेरिकी डलर पुरस्कार पक्का गरेको छ। अब ग्रान्ड फिनालेमा जैतको लागि करोडौँ डलर पुरस्कारको खेल हुनेछ। ग्रान्ड फिनालेको विजेताले ५ लाख अमेरिकी डलर पुरस्कार प्राप्त गर्नेछ। समूह ‘ए’ बाट पनि शीर्ष पाँच टोली फाइनलमा पुगेका छन्। पाकिस्तानको फोर थ्राइभ, भारतको ओरानगुटान, मंगोलियाको अउरोरा, भियतनाम/सिंगापुरको टिम फ्ल्यास र मिडल ईस्टको निग्मा ग्यालेक्सी शीर्ष पाँचमा रहेर फाइनलमा स्थान बनाएका छन्।
अब दुवै समूहका छैटौँदेखि १३औं स्थानका १६ टोलीले सर्भाइभल स्टेजमा प्रतिस्पर्धा गर्नेछन्, जहाँबाट शीर्ष ६ टोली फाइनलमा प्रवेश गर्नेछन्। समूह चरणको अन्तिम तीन स्थानमा रहेका ६ टोली बाहिरिने छन्। अगष्ट १४ देखि १६ सम्म हुने ग्रान्ड फिनालेमा कुल १६ टोलीबीच प्रतिस्पर्धा हुनेछ। जसमा १० टोलीले स्थान सुनिश्चित गरिसकेका छन्। बाँकी ६ टोलीको निर्णय अगष्ट ११ र १२ मा हुने सर्भाइभल स्टेज खेलबाट हुनेछ। पब्जी मोबाइल ग्रान्ड फिनालेमा प्रतिस्पर्धा गर्ने १६ टोली सबैले नगद पुरस्कार पाउनेछन्। विजेताले ५ लाख अमेरिकी डलर, उपविजेताले २ लाख ५० हजार डलर र तेस्रो हुने टोलीले १ लाख ५० हजार डलर प्राप्त गर्नेछन्। चौथो स्थानले १ लाख २० हजार, पाँचौले १ लाख, छैटौले ९० हजार, सातौंले ८० हजार र आठौंले ७० हजार डलर पुरस्कार पाउनेछन्। नवौँदेखि १६औं स्थानसम्म टोलीहरूले क्रमशः ६० हजारदेखि २५ हजार डलर पुरस्कार पाउनेछन्।






