Skip to main content

प्रेम भन्न सजिलो छ, जिउन गाह्रो छ

समाचार सारांश संपादकीय समीक्षा सहित। मान्छेले खोज्ने पूर्ण प्रेममा परमेश्वरको उपस्थिति हुन्छ र यसले व्यक्ति स्वार्थबाट मुक्त भएर दिव्य चेतनातर्फ उन्मुख हुन्छ। परिवार हाम्रो चरित्रको पहिलो विद्यालय हो जहाँ साना व्यवहार र जिम्मेवारीमार्फत अध्यात्मलाई दैनिक जीवनमा उतार्ने अवसर प्राप्त हुन्छ। आसक्तिले स्वामित्व खोज्दछ भने प्रेमले स्वतन्त्रता दिन्छ, त्यसैले परिपक्व प्रेममा स्वार्थी इच्छा हुँदैन र यसले जीवनलाई असाधारण बनाउँछ। मान्छे जीवनभर सफलता, सम्मान, सुरक्षा, सम्पत्ति र सुख खोज्न भुल्दैन। तर ती सबै खोजहरूको भित्री तहमा अर्को मौन खोज निरन्तर चलिरहन्छ– पूर्ण प्रेमको खोज। यही चाहनाले बच्चालाई आमाको आँचलतर्फ तान्छ, साथीलाई मित्रतामा बाँध्छ, जीवनसाथीलाई एकअर्काप्रति समर्पित बनाउँछ र साधकलाई अन्ततः ईश्वर खोजतर्फ डोर्याउँछ। विभिन्न रूपका भए पनि यसको लक्ष्य एउटै हुन्छ: यस्ता प्रेम, जुन परिस्थितिले बदलेन, शर्तले बाँधेन र जसको स्रोत स्वयं परमात्मा हो। यसैले संसारका महान आध्यात्मिक परम्पराहरूले प्रेमलाई आत्मिक जीवनको केन्द्रमा राखेका छन्। उपनिषदहरूले प्रत्येक जीवमा एउटै आत्मा देख्न सिकाउँछन्; बुद्धले करुणालाई मुक्तिको द्वार बनाउनु भयो; येशूले प्रेममा धर्मको सार देखाउनुभयो; पैगम्बर मुहम्मदले दया र करुणालाई ईश्वरीय गुणका रूपमा प्रस्तुत गर्नुभयो। श्रीरामकृष्ण, परमहंस योगानन्द र स्वामी क्रियानन्दले पनि फरक शब्दमा यही सत्य बताउनुभयो: ईश्वरलाई प्रेम गर्ने साधना मान्छेले प्रेम गर्न सिक्नु बिना सम्भव छैन। तर प्रेमबारे कुरा गर्न सजिलो छ, तर त्यसलाई सही तरिकाले जिउन गाह्रो छ। यदि सबैमा ईश्वर हुन्छ भने, के सबैसँग एउटै किसिमको सम्बन्ध राख्नुपर्छ? सार्वभौमिक प्रेमको अर्थ परिवार, विवाह, मित्रता र व्यक्तिगत जिम्मेवारीलाई गौण गर्नु हो? प्रेम र आसक्तिको फरक के हो? अनि ध्यानमा अनुभूत शान्तिलाई दैनिक व्यवहारमा कसरी उतार्ने? प्रेम र अध्यात्मको वास्तविक सम्बन्ध यिनमा खुल्छ। ईश्वर अनुभवका आठ दिव्य पक्षदेखि प्रेम परमहंस योगानन्दका अनुसार ईश्वरलाई आठ दिव्य पक्षमा अनुभूति गर्न सकिन्छ—प्रकाश, नाद, शान्ति, स्थिरता, प्रेम, आनन्द, ज्ञान र शक्ति। यहाँ प्रेमलाई ‘ईश्वरका आठ भाग मध्ये एक’ भन्न खोजिएको होइन; ईश्वर अखण्ड र पूर्ण हुन्। प्रेम भनेको ईश्वरलाई प्रत्यक्ष अनुभूत गर्ने आठ दिव्य पक्षमध्ये एउटा पक्ष हो। साधकको हृदय शुद्ध हुँदै गएपछि प्रेम कुनै व्यक्तिप्रति आकर्षण ना रही सम्पूर्ण जीवनमा फैलिएको परमात्माको उपस्थिति देखाउने द्वार हुन्छ। यो प्रेम अहंकारका अपेक्षा, स्वामित्व वा प्रतिफलमा आधारित छैन। यो असीम, निःस्वार्थ र सर्वग्राही दिव्य प्रेम हो। अहंकारी चेतनामा बाँच्ने मान्छेलाई ‘निर्वैयक्तिक प्रेम’ चिसो वा अमूर्त लाग्न सक्छ किनभने अहंकारले प्रेमलाई प्रायः ‘मलाई के प्राप्त भयो?’ भन्ने प्रश्नबाट मापन गर्छ। तर दिव्य प्रेम अत्यन्तै शान्तिदायी र असीम हुन्छ। यसको निर्वैयक्तिक हुनु भावनाहीन हुनु होइन, तर यसमा स्वार्थी इच्छा हुँदैन। अहंकारले छुट्टापन खोज्छ; आत्माले एकत्व चिन्छ। त्यसैले दिव्य प्रेममा प्राप्त गहिरो एकत्व आत्माले अनुभूति गर्छ, अहंकारले होइन। जब प्रेम ‘तिमीले मलाई के दियौ?’ बाट ‘म तिम्रो कल्याण कसरी चाह्न सक्छु?’ मा जान्छ, त्यही बेला त्यो प्रेम भावना मात्र होइन, आध्यात्मिक चेतना बन्न थाल्छ। “अरूलाई आफ्नै आत्माको विस्तारका रूपमा, र मैले ईश्वरबाट अनुभव गर्ने प्रेमको विस्तारका रूपमा प्रेम गर।” अर्थात् “हे अनन्त प्रभु, मलाई तिम्रो प्रेमको माध्यम बनाऊ! ममार्फत सबै प्रेमविहीन हृदयहरूमा प्रेमका बीउ छरिदेऊ।” — स्वामी क्रियानन्द (भावानुवाद) यी वचनहरूले दिव्य प्रेमका दुई आयाम स्पष्ट गर्छन्। पहिलो, अरू मानिस हामीबाट पूर्ण अलग छैनन्; उनीहरू पनि एउटै आत्माका अभिव्यक्ति हुन्। दोस्रो, ईश्वरबाट प्राप्त प्रेम आफैंमा थुनेर राख्ने सम्पत्ति होइन; आफूलाई माध्यम बनाएर संसारमा प्रवाहित गर्ने शक्ति हो। त्यसैले प्रेमको आध्यात्मिक मूल्य मात्र गहिरो अनुभूति होइन, त्यो अनुभूति हाम्रो व्यवहारमा कति परिवर्तन ल्यायो भन्नेमा पनि हुन्छ। परिवार: अध्यात्मको पहिलो साधनास्थल यदि प्रेम चेतनाको विस्तार हो भने यसको पहिलो अभ्यास कहाँबाट सुरु हुन्छ? जवाफ धेरै टाढा छैन, आफ्नै घरबाट! मन्दिर, आश्रम, ध्यान, प्रार्थना र तीर्थयात्रा अमूल्य माध्यम हुन्, तर तिनको उद्देश्य जीवनबाट अलग कुनै पवित्र संसार बनाउन होइन, जीवनलाई नै पवित्र बनाउनु हो। यदि ध्यानले घरमा धैर्यता बढेन भने, प्रार्थनाले भाषा कोमल बनाएन भने, साधनाले अहंकारलाई नरम बनाएन भने अध्यात्म विचारमै सीमित छ, व्यवहारमा अवतरित छैन। घर हाम्रो चरित्रको पहिलो विद्यालय हो र अध्यात्मको पहिलो प्रयोगशाला पनि। बाहिरी संसारमा हामी विनम्र, उदार वा आध्यात्मिक देखिन सक्छौं, तर घरमा त्यो अभिनय टिक्दैन। त्यहाँ अधैर्य, अपेक्षा, नियन्त्रणको चाहना, असुरक्षा र अहंकार बारम्बार प्रकट हुन्छ। परिवारले केवल प्रेम गर्ने मौका होइन, हाम्रो अपरिपक्वता देखाएर त्यसलाई रूपान्तरण गर्ने अवसर पनि दिन्छ। हाम्रो जीवनभर खोजेको प्रेम बाहिर कतै हराएको थिएन। त्यो त हाम्रो आफ्नै चेतना स्वार्थको साँघुरो घेराबाट मुक्त भएर विस्तार हुने प्रतीक्षामा थियो। यही प्रेमबाट अध्यात्म सुरु हुन्छ र यही दिव्य प्रेममा अध्यात्म परिपूर्ण हुन्छ। सबैलाई प्रेम गर्नुले सबैसँग एउटै प्रकारको सम्बन्ध राख्नु हुँदैन। प्रेम सार्वभौमिक हुन सक्छ तर जिम्मेवारी सधैं समान हुँदैन। सूर्यको प्रकाश सबैमा पर्छ तर रूखले त्यसबाट रस ग्रहण गर्छ। उस्तै प्रकाश ग्रहण गरेर फरक स्वादका फल जन्मन्छ। त्यसरी नै सम्पूर्ण मानवताप्रति हाम्रो करुणा फैलिन सक्छ तर पहिलो जिम्मेवारी त्यतिका लागि हुन्छ जसले हाम्रो समय, सुरक्षा र सेवाको जिम्मा पाएको छ। यदि म आफ्नी बहिनीलाई प्रेम गर्छु भने त्यो सम्बन्धबाट संसारका सबै महिलालाई बाँध्नु हुँदैन। म सबै महिलाप्रति सम्मान, सुरक्षा र शुभकामना व्यक्त गर्न सक्छु; तर बहिनीप्रति विशेष जिम्मेवारी स्वाभाविक छ। त्यस्तै, आमाबाबु, जीवनसाथी, सन्तान वा घनिष्ठ मित्रप्रति निष्ठा अरू सबैप्रतिको करुणासँग विरोधाभासमा हुँदैन। भिन्न सम्बन्धमा प्रेम निभाउन सक्नुपर्छ, त्यसपछि मात्र त्यो प्रेम विश्वव्यापी बन्न सकोस्। आज कतिपयले प्रेमको गहिराइ मापन गर्न सम्बन्धको सङ्ख्या, सामाजिक सञ्जालका अनुयायी वा ‘सबै मेरो परिवार हुन्’ भन्ने घोषणाले गर्छन्। तर प्रेमको सत्यता शब्द र मीठो संवादले होइन, कठिन समयमा निभाइएको उपस्थिति, निष्ठा र जिम्मेवारीले मापन हुन्छ। जो आफ्ना नजिकका सम्बन्धमा प्रेम जिउन सकेन, उसका लागि सम्पूर्ण मानवतालाई प्रेम गर्ने घोषणा धेरै पटक सुन्दर कल्पना मात्रै हुन सक्छ। आध्यात्मिक अभ्यास साधारण देखिन्छन्: बिहान परिवारका सदस्यलाई मुस्कानले अभिवादन गर्नु; वृद्ध आमाबाबुको दोहोरिएको कुरा धैर्यपूर्वक सुन्नु; जीवनसाथीको भिन्नतालाई आक्रमण होइन फरक अनुभवको रूपमा ग्रहण गर्नु; सन्तानको गल्तीलाई अपमान होइन, अवसर बनाउनु; घरमा सेवा गर्ने व्यक्तिको सम्मान गर्नु। यिनै साना क्षणहरूले मन परिष्कृत हुन्छ र प्रेम व्यवहारमा परिणत हुन्छ। प्रेम, आसक्ति र विवेक धेरै जना प्रेमलाई केवल सुन्दर भावना ठान्छन्। कसैले प्रशंसा, आवश्यकताका आधारमा वा विशेष महसुस गराएर हामी भन्छौं, ‘म उसलाई प्रेम गर्छु।’ तर भावना परिवर्तन भएपछि प्रेम सकिएन भने त्यो परिपक्व प्रेम होइन। साँचो प्रेम सुखद परिस्थितिमा मात्र टिक्दैन; कठोर परिस्थितिमा आफ्नो वास्तविक स्वरूप देखाउँछ। आमाले बिरामी सन्तानको शय्याछेउ रातभर जागिर गर्न सक्छिन्। वृद्ध जीवनसाथीले वर्षौंसम्म अरूको सेवा गर्न सक्छ। मित्रले प्रतिफल नपाउने थाहा पाएर पनि संकटमा साथ दिन सक्छ। त्यस्ता क्षणहरूमा प्रेम भावना मात्र रहदैन; त्यो निर्णय, जिम्मेवारी र चरित्र बन्न पुग्छ। प्रेमको परिपक्वता कतिको आनन्द दियो भन्नेमा मात्र होइन, कतिको जिम्मेवारी स्वीकार गर्‍यो भन्नेमा पनि देखिन्छ। यहीं प्रेम र आसक्तिको भिन्नता प्रष्ट हुन्छ। आसक्तिले अर्को व्यक्तिलाई आफ्ना अपेक्षाअनुसार बदल गर्न खोज्छ; प्रेमले उसको सर्वोत्तम सम्भावनामा पुग्न सहयोग गर्छ। आसक्तिले स्वामित्व खोज्छ; प्रेमले स्वतन्त्रता दिन्छ। आसक्ति गुमाउने डरबाट जन्मिन्छ; प्रेम विश्वासबाट। आसक्तिले भन्छ, ‘तिमी मेरो हुनुपर्छ।’ प्रेमले भन्छ, ‘तिमी आफ्नो सम्पूर्ण सम्भावनामा फुल्न सक्छौं।’ तर स्वतन्त्रता दिनु उदासीन हुनु होइन र प्रेम गर्नु विवेक त्याग्नु होइन। जहाँ हिंसा, अपमान, दुव्र्यवहार वा निरन्तर आत्मसम्मानको क्षति हुन्छ, त्यहाँ स्वस्थ सीमारेखा आवश्यक हुन्छ। कहिलेकाहीं सम्मानजनक दूरी बनाउनु पनि प्रेमकै रूप हो किनभने प्रेमको उद्देश्य आत्माको विकास हो, आत्मसम्मानको विनाश होइन। करुणा र सत्य विरोधी होइनन्; परिपक्व प्रेममा दुवै सँगै हुन्छन्। एक चिकित्सक सबै बिरामीप्रति करुणाशील हुन्छ तर शल्यक्रियाको समयमा ध्यान एउटा बिरामीमा केन्द्रीत गर्छ। यसले अरूप्रति करुणा कम गर्दैन तर तत्कालको जिम्मेवारी स्पष्ट हुन्छ। त्यसरी जीवनले दिएको सम्बन्धमा निष्ठापूर्वक बाँच्नु सार्वभौमिक प्रेमको विरोध होइन, त्यो पहिलो पाठ हो। प्रेम मानिसलाई सानो बनाउँदैन, तर बढी फैलाउँछ। एउटा दीपले अर्को दीप बाल्दा आफ्नो प्रकाश गुमाउँदैन। तसर्थ विश्वास छ कि साँचो प्रेम बाँड्दा घट्दैन, झन् बढ्छ। प्रेम केवल भावना मात्र होइन स्वार्थबाट सेवा, अधिकारबाट जिम्मेवारी र ‘म’ बाट ‘हामी’ तर्फ चेतनाको विस्तार गर्ने आध्यात्मिक अनुशासन हो। कर्म, संस्कार र प्रेमको सम्पदा मान्छेले संसारमा छोड्ने सबैभन्दा दीर्घकालीन सम्पत्ति धनी पद होइन; त्यो हो उसको व्यवहारबाट सिर्जित संस्कार। कर्मलाई मात्र भविष्यको फल दिने नियम मान्नु गम्भीर त्रुटि हो। प्रत्येक सोच, शब्द र व्यवहारले हाम्रो चेतना र समाजमा प्रभाव पार्छ। दोहोरिएको व्यवहार स्वभाव बन्ने र स्वभावले चरित्र, चरित्रले सम्बन्ध र समाजको गुणस्तर निर्धारण गर्छ। एउटा बच्चा हेरिरहेको हुन्छ कि आमाबुबाहरूले बुज्रुक, परिवारका सदस्य, छिमेकी र अपरिचितसँग कस्तो व्यवहार गर्छन्। उसले शब्द मात्रै होइन, सम्मान, धैर्य, करुणा साथै कहिलेकाहीं कठोरता, उपेक्षा र अहंकार पनि सिक्छ। हामी सन्तानलाई प्रेमको परिभाषा कम सिकाउँछौं तर कसरी प्रेम गर्न सिकाउँछौं भन्ने कुराको पाठ व्यवहारबाट दिइरहेका छौं। जहाँ वृद्धको आवश्यकतालाई बोझ ठाने, कठोर शब्दलाई सामान्य बनाइयो र सम्मान औपचारिकता सिमित गरियो, त्यहाँ बच्चाले त्यस सम्बन्धको भाषा ग्रहण गर्छ। त्यो भाषा अर्को पुस्तामा फर्किन सक्छ। यसलाई भाग्य मात्र नभई व्यवहार र संस्कारको परिणाम पनि भन्न सकिन्छ। हामीले जे रोप्छौं, त्यो अरूको चेतनामा उम्रेर फर्किन सक्छ। ‘मातृदेवो भव:, पितृदेवो भव:’ को गहिरो अर्थ केवल धार्मिक कर्तव्य होइन; कृतज्ञता सिक्नु हो। जसले जीवन, पालनपोषण र संस्कार दिने मान्छेलाई सम्मान गर्न सिक्छ, त्यसले जीवनप्रति सम्मान विकास गर्छ। कृतज्ञता केवल राम्रो बानी होइन, ‘मैले सबै कुरा आफ्नै बलले पाएँ’ भन्ने अहंकार पगाल्ने साधना हो। यसको अर्थ अन्धाधुन्ध अनुगमन होइन। सबै परिवार समान हुँदैनन् र सबै परम्परा न्यायपूर्ण हुँदैनन्। अध्यात्मले अन्याय सहन सिकाउँदैन, सत्यलाई करुणासँग सामना गर्न सिकाउँछ। स्वस्थ सीमारेखा, स्पष्ट संवाद, समयमा माफी माग्नु, निःस्वार्थ सेवा, क्रोधमा सचेत मौन—यी साना कर्मले चेतनालाई परिवर्तन गर्छन्। चेतनाबाट संस्कार, संस्कारबाट सम्बन्ध र सम्बन्धबाट समाजको भविष्य बनाउँछ। त्यसैले प्रेम व्यक्तिगत अनुभूति मात्र नभएर विरासत पनि हो। हामी सन्तानलाई सम्पत्ति मात्र होइन बोली, सम्बन्ध निभाउने तरिका, क्षमा गर्ने क्षमता र मानवीय गरिमाको दृष्टिकोण पनि हस्तान्तरण गर्छौं। मान्छेको ठूलो सफलता आँक्छे कति धनी भयो भन्दा कति सत्य, करुणा र प्रेम अर्को पुस्तामा रोप्न सक्यो भन्नेमा हुन्छ। ‘म’ बाट ‘हामी’ हुँदै समस्त सृष्टी तर्फ प्रेमको यात्रा नजिकको सम्बन्धबाट सुरु हुन्छ तर त्यहीमा सीमित हुँदैन। सुरुमा मान्छे आफूलाई छुट्टै मान्छ; त्यसपछि परिवारसँग एकत्व अनुभव गर्छ; विस्तारै त्यो अनुभूति समाज, राष्ट्र, मानवता र सृष्टितर्फ फैलिन्छ। एक दिन ‘म’ र ‘अरू’ बीचको विभाजन मेटिन थाल्छ र जीवन एउटै दिव्य चेतनाका विभिन्न अभिव्यक्ति देखिन्छ। विभिन्न परम्पराले यसलाई मुक्ति, ईश्वरप्रेम, आत्मसाक्षात्कार वा परम शान्ति भनिरहेका छन्। यो विस्तार एकै दिनमा हुने कुरा होइन। एकछिन रोकिने धैर्यता, गल्ती स्वीकार्ने विनम्रता, क्षमा माग्ने साहस, अर्काको सफलतामा आनन्द लिने उदारता र कसैको पीडामा संवेदनशीलता—यी साधारण अभ्यासले असाधारण चेतना सिर्जना गर्छ। प्रेमलाई दैनिक जीवनमा उतार्ने बाटो सतत साना निर्णयहरूको परिणाम हो। हामी ईश्वर भेट्न तीर्थ जान्छौं, पुस्तक पढ्छौं, ध्यान गर्छौं र गुरुको मार्गदर्शन खोज्छौं। यी सबै अमूल्य छन्। तर अन्ततः तिनीहरूको उद्देश्य हृदयलाई निर्मल बनाउन हो कि जीवनका सबै सम्बन्ध, प्रत्येक अस्तित्व र समयमा त्यही दिव्य उपस्थिति महसुस गर्न सकियोस्। परमेश्वर खोज्न सुन्दर ठाउँ केवल गुफा, पहाड वा मन्दिर होइन; त्यो हाम्रो व्यवहारभित्र लुकेको पनि हुन्छ। यस अर्थमा अध्यात्म संसारबाट भाग्ने बाटो होइन; संसारलाई नयाँ दृष्टिले हेर्ने कला हो। प्रेम केवल भावना होइन, चेतना हो। जिम्मेवारी बोझ होइन, प्रेमको अभिव्यक्ति हो। सेवा मात्र कर्तव्य होइन, उपासना हो। यी साँचो हुँदा ध्यान जीवनबाट अलग हुँदैन, जीवन स्वयं ध्यान हुन्छ; परिवार साधनास्थल हुन्छ; सम्बन्धहरू आत्म-विकासका अवसर बन्छन्। उपनिषद्हरूको अद्वैत, बुद्धको करुणा, येशूको प्रेम, पैगम्बर मुहम्मदको रहमत, गुरुहरूको सेवा र योगानन्द तथा स्वामी क्रियानन्दले सिकाएको दिव्य प्रेम, सबैको केन्द्र चेतनाको विस्तार हो। धर्मका भाषा, संस्कृति र विधि फरक हुन सक्छ; तर हृदय स्वार्थ मुक्त भएर प्रेममा फैलिँदा मार्गहरू एउटै सत्यमा जोडिन्छन्। अन्ततः जीवनले हामीलाई सोध्ने प्रश्नहरू सरल हुन सक्छन्: हाम्रो सम्पर्कमा भएका मानिसले आफूलाई कति सुरक्षित, सम्मानित र स्वीकारिएको महसुस गरे? हाम्रो व्यवहारले कति हृदय शान्त बनायो? हाम्रो प्रेमले कतिलाई बाँध्यो नभएर स्वतन्त्र बनायो? प्रेमको मापन शब्द, सम्बन्धको संख्या वा छविले होइन; हाम्रो उपस्थितिले ल्याएको मौन परिवर्तनले हुन्छ। कुनै दिन हाम्रो नाम बिर्सिएला र उपलब्धि इतिहासको पानामा मात्र सीमित रहला। तर हाम्रो प्रेमले एउटा हृदय उदार बनायो, एउटा परिवार नजिक ल्यायो, एउटा बालकलाई करुणा सिकायो वा एउटा मानिसलाई ईश्वरप्रतिको विश्वास दिलायो भने त्यो प्रेम जीवित रहन्छ। साँचो अध्यात्म असाधारण अनुभूति मात्र होइन, साधारण जीवनलाई असाधारण प्रेमसँग बाँच्ने कला हो। हामीले जीवनभर खोजेको प्रेम बाहिर कतै हराएको थिएन। त्यो त हाम्रो आफ्नै चेतना स्वार्थको साँघुरो घेराबाट मुक्त भएर विस्तार हुने प्रतीक्षामा थियो। यही प्रेमबाट अध्यात्म सुरु हुन्छ र यही दिव्य प्रेममा अध्यात्म परिपूर्ण हुन्छ। (लेखक लामो समयदेखि क्रियायोग साधक तथा IIT दिल्लीमा इन्जिनियरिङ अनुसन्धानरत विद्यार्थी हुन्।)