चिनियाँ राष्ट्रपति सी ह्वाइट हाउसमा, ट्रम्पसंग उच्चस्तरीय छलफल सुरु

चीनका राष्ट्रपति सी जिनपिङ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग उच्चस्तरीय भेटघाटका लागि ह्वाइट हाउस पुगेका छन्। विश्वका दुई मुख्य शक्तिहरूबीच संवेदनशील सम्बन्ध व्यवस्थापन गर्ने उद्देश्यले दिनभर विभिन्न बैठकहरू र कार्यक्रमहरू आयोजना हुँदैछन्। सी र उनकी पत्नी पेङ लियुआन कालो रंगको सरकारी कारमा ह्वाइट हाउस पुगेका थिए। उनीहरूलाई अमेरिकी राष्ट्रपति ट्रम्प र उनकी पत्नी मेलानियाले रातो कार्पेटमा स्वागत गरेका थिए। यस क्रममा अमेरिकी मरीन कोर्प्सको ब्यान्डले बजाएको संगीतले ह्वाइट हाउसको माहोल अझ विशेष बनाएको थियो।
सी ह्वाइट हाउसमा पुगेपछि ट्रम्पले हात मिलाएर फोटो खिचाए। त्यसपछि, अमेरिका र चीनका झण्डा बोकेको सैनिकहरूको बिचमा चारै जनाले केही समय फोटो खिचाइरहेका थिए र ह्वाइट हाउसभित्र प्रवेश गरे। उनीहरूबीच सो क्रममा खासै संवाद नभएको देखिएको थियो। भित्र प्रवेश गरेपछि, ट्रम्पले बोल्दै भने, ‘मेलानिया र म तपाईंलाई वाशिङटनमा स्वागत गर्न पाउँदा सम्मानित महसुस गर्दैछौं,’ ट्रम्पले भने, ‘राष्ट्रपति सी दोस्रोपटक औपचारिक राजकीय भ्रमण गर्ने पहिलो चिनियाँ नेता हुनुहुन्छ।’






