Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

भोटेकोशी-त्रिशूली बाढी: यसपालि तिहार ‘रौनकविहीन’

Advertisement800×200-1

तिहारमा घरआँगन सफा गरी दीप बाल्ने, झिलमिली बत्ती र फूलले घर सजाउने चलन रहिआए पनि गत भदौको विनाशकारी बाढीबाट ठूलो धनजनको क्षति बेहोरेका बाढीपीडितहरूले यो वर्ष चाडपर्वप्रति कुनै उत्साह नै नभएको बताएका छन्। गाँस, बासकै समस्यासँग जुझिरहेका उनीहरूले यसपालि चाडपर्वको उमङ्गले आफूहरूलाई छुन नसकेको दुखेसो गरेका छन्। विनाशकारी भोटेकोशी-त्रिशूली बाढीका कारण नुवाकोटमा मात्रै १,८६० वटा घरमा पूर्ण रूपमा क्षति पुगेको जिल्ला प्रशासन कार्यालय नुवाकोटको तथ्याङ्कले देखाउँछ। कतिपय बाढीपीडितहरू कोठा भाडामा लिएर बस्न थालेका छन् भने कतिपय अस्थायी शिविर त्रिपालमुनि बस्दै आएका छन्।

आफन्त तथा घरबार गुमाएर अन्य ठाउँमा आश्रय लिई बस्दै आएका बाढीपीडितले आफूहरूका लागि अहिलेको चाडपर्वले कुनै उत्साह ल्याउन नसकेको साझा दुखेसो गरेका हुन्। नुवाकोटको विदुर नगरपालिका-१ स्थित त्रिशूली बजारमा पुस्तौँदेखि व्यवसाय गर्दै आएका मोहनबहादुर श्रेष्ठ बाढीमा व्यवसायसँगै तीन वटा घर गुमाएको बताउँछन्। जीवनभरि कमाएको सम्पत्ति र जीविकोपार्जन गर्ने व्यावसाय गुमेर विचलित बनेको आफ्नो परिवारमा तिहारको कुनै उत्साह नै आएको उनले सुनाए। “झन्डै ६०-७० वर्ष मेहनत गरेर कमाएको सम्पति केही क्षणमै स्वाहा भयो। हामी त अहिले शून्यमा पुगेका छौँ। सरकारले केही गरिदिएन भने हामीसँग मागेर खानुबाहेक अर्को विकल्प नै हुँदैन,” गहभरि आँसु पार्दै श्रेष्ठले भने।

“चाडपर्व भनेको क्षमताअनुसार मनाउने न हो। मसँग पैसा भए पो, कुनै क्षमता भए पो मनाउनु? यसरी त कसरी हामीले चाडपर्व मनाउनु?” वडा कार्यालयमा क्षतिको विवरण टिपाउन आएकी त्रिशूलीकी ज्ञानु अमात्यले बासको खोजीमा रहेको आफ्नो परिवारमाझ चाडपर्वको कुनै रौनक नछाएको सुनाइन्। बाढीले सबै थोक बगाएर शून्य अवस्थामा पुर्‍याएको आफ्नो परिवारका लागि बस्ने ठाउँको यकिन गरी व्यवस्थापन गरिदिन उनले सरकारलाई आग्रह गरिन्।

“हाम्रो लागि न दशैँ न तिहार, यसपालि केही पनि छैन। भएभरका सबै थोक बाढीले लगिदियो। दशैँपछि अहिले तिहार पनि आइसक्यो। हाम्रो त खाने र बस्ने नै ठेगान छैन। चाडबाड कसरी पो मनाउनु?,” अमात्यले भनिन्। “सरकारलाई विन्ती छ सुरक्षित ठाँउ हेरेर सुरक्षित घर बनाइदेओस्। हामी बाढीपीडितका लागि सरकारले सुरक्षित स्थानमा घर बनाइदियो भने त्यो जस्तो राम्रो कुरा अरू केही हुँदैन,” उनले अगाडि थपिन्।


Advertisementadv-800×200.png

सम्बन्धित खबर