

जेन्सेन ह्वाङले ३० मिनेटमै ७.४ अर्ब डलर गुमाए, फोर्ब्सको धनीहरूको सूचीमा दुई स्थान तल झरे


चिनियाँ गुप्तचर संस्थासँग जोडिएकी पूर्व कार्यकारीसँगको सम्बन्धबारे अनुसन्धान सुरु भएपछि एनभिडियाका सीईओ जेन्सेन ह्वाङको सम्पत्ति सोमबार ७.४ अर्ब डलर घटेको छ। ह्वाङको व्यक्तिगत विवादपछि एनभिडियाको सेयर ४.३ प्रतिशतले घट्यो र फोर्ब्स वरीयतामा उनी आठौँबाट दसौँ स्थानमा झरेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाङबारे एफबीआईले अनुसन्धान गरिरहेको बताए पनि उनले ह्वाङले चिन्ता लिनुपर्ने कारण नभएको बताएका छन्।
एनभिडियाका सीईओ जेन्सेन ह्वाङले सोमबार ३० मिनेटको कारोबारमा ७.४ अर्ब डलर गुमाएका छन्। लगभग १५४ अर्ब डलर खुद सम्पत्ति रहेका ह्वाङ, फोर्ब्सको अर्बपति वरीयतामा बर्कसायर हाथवेका वारेन बफेट र ओराकलका ल्यारी एलिसनभन्दा पछाडि पर्दै आठौँबाट दसौँ स्थानमा झरेका छन्। चीनको गुप्तचर संस्थाका लागि काम गरेको आशङ्का गरिएकी एक कार्यकारीसँगको प्रेम सम्बन्धपछि ह्वाङ जासुसीको निशाना बनेको भन्ने प्रतिवेदनहरूमाथि कम्पनीको सञ्चालक समितिले अनुसन्धान सुरु गरेपछि सोमबार एनभिडियाको सेयर पनि ४.३ प्रतिशतले घटेको थियो।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संदिग्ध चिनियाँ एजेन्टसँग ह्वाङको सम्बन्धबारे एफबीआईले अनुसन्धान गरिरहेको बताएका छन्। तर, उनले एआईको विकासमा सहयोग पुर्याएका यी कार्यकारीले चिन्ता लिनुपर्ने कुनै कारण छ भन्ने आफूलाई नलागेको बताएका छन्। ‘मलाई थाहा छ एफबीआईले यसलाई अर्कै सन्दर्भमा हेरिरहेको छ, र मलाई लाग्छ उनी सही स्थितिमा रहनेछन्,’ ह्वाङ ह्वाइट हाउसको ब्रिफिङमा ट्रम्पले भने।
ह्वाङ सबैभन्दा शक्तिशाली प्रविधि नेताहरूमध्ये एक हुन्, र ट्रम्पसँग उनको निकट सम्बन्ध छ। विगतमा, उनले चीनसहित विश्वभर चिप्स बिक्री गर्ने एनभिडियाको क्षमतामाथिको प्रतिबन्ध हटाउन आह्वान गरेका छन्। जेन्सेन ह्वाङको अनैतिक सम्बन्धलाई लिएर विवाद एनभिडियाका सीईओ वरपरको विवाद ह्वाङले आइतबार आफ्नी पत्नीप्रति अविश्वासी रहेको स्वीकार गर्दै आफ्ना कार्यहरूको ‘पूर्ण जिम्मेवारी’ लिएपछि सतहमा आएको हो। गत महिना, द न्युयोर्क टाइम्सले गरेको रिपोर्ट अनुसार, ह्वाङको सिङ्गापुरस्थित कम्पनी मेगास्पीडकी पूर्व कार्यकारी (जसको उनीसँग कुनै पारिवारिक सम्बन्ध छैन) एलिस ह्वाङसँग सम्बन्ध थियो। जसलाई अमेरिकी अधिकारीहरूले अनुसन्धान गरी चिनियाँ गुप्तचर सम्पत्ति (इन्टेलिजेन्स एसेट) भएको निष्कर्ष निकालेका थिए।
‘म मेरो पत्नीप्रति अविश्वासी भएँ। मेरो व्यवहारले उनी र हाम्रा बालबच्चालाई चोट पुर्याएको छ। मैले जे गरेँ त्यसका लागि कुनै बहाना हुन सक्दैन। म गहिरो दुःख व्यक्त गर्दछु,’ ह्वाङले एनभिडियामै काम गर्ने आफ्ना दुई सन्तान, छोरी म्याडिसन ह्वाङ र छोरा स्पेन्सर ह्वाङसहित कर्मचारीहरूलाई पठाएको सन्देशमा लेखेका छन्। एनभिडियाले उनलाई संदिग्ध चिनियाँ जासुससँग जोड्ने प्रतिवेदनहरूबारे स्वतन्त्र अनुसन्धान सुरु गरेको छ। एनभिडियाले यस विषयमा जारी अनुसन्धानका क्रममा ह्वाङ सीईओकै रूपमा निरन्तर रहने जनाएको छ। ‘मैले जे गरेँ र त्यसबाट जुन चोट पुग्यो। म त्यसको पूर्ण जिम्मेवारी लिन्छु। यससँगै आउने आलोचनाहरूलाई स्वीकार गर्छु,’ ह्वाङले थपे।

सम्बन्धित खबर









