Skip to main content

पहिले घर बनाउँछौं, पछि सडक खोज्छौं

नेपालमा तीव्र शहरीकरण भएता पनि योजनाविहीन भौतिक संरचनाले कृषि भूमि क्षति र जोखिमयुक्त बस्तीहरु बढ्ने समस्याहरू देखिएका छन्। दीर्घकालीन समृद्धिका लागि भवन निर्माण अघि वैज्ञानिक भूमिको सदुपयोग र जोखिम संवेदनशील शहरी योजनाको प्रभावकारी कार्यान्वयन आवश्यक छ। ‘समृद्ध नेपाल’ भन्ने शब्द मैले अनेक पटक भाषण, नीति दस्तावेज, बैठक तथा हरेक विकास नारामा सुनेको छु। तर जब म शहरका गल्लीहरूमा हिँड्छु, नयाँ बस्तीहरू फैलिएको देख्छु, वर्षात् कालमा डुबेका सडकहरू नियाल्छु र घरका पर्खालसँगै साँघुरिँदो सार्वजनिक स्थानहरू देख्छु, तब एउटै प्रश्न उठ्दछ– के समृद्ध देशको निर्माण केवल कल्पना हो वा हाम्रो साझा प्रतिबद्धता?

हामी पहिले घर बनाउँछौं, पछि सडक खोज्छौं। बस्ती बसाइसकेपछि ढल कहाँ बनाउने भनेर छलफल गर्छौं। खोला मिचेर घर बनाउँछौं, बाढी आएपछि भनिरहेका हुन्छौं– ‘यो त बगर पो रहेछ!’ प्रत्येक मनसुनमा डुबेका सडकका तस्बिर सामाजिक सञ्जालमा राखेर केही दिन चर्चा गर्छौं। तर केही समयपछि फेरि त्यही ठाउँमा अर्को घर बनिन्छ, बस्ती विस्तार हुन्छ। नेपाल तीव्र गतिमा शहरीकरण भइरहेको छ। नयाँ शहरहरु थपिएका छन्, पुराना शहरहरु फैलिएका छन्, र भौतिक निर्माणका गतिविधिहरु बढिरहेका छन्। तर स्वीकार्नुपर्छ, भौतिक संरचना निर्माणको गति योजनाभन्दा धेरै अघि छ।

यसको परिणाम खोलासहित खुला सार्वजनिक स्थानहरू हराउने, कृषि भूमि कंक्रीटमा परिणत हुँदै जाने र आधारभूत पूर्वाधारले बढ्दो जनसंख्याको आवश्यकता पूरा गर्न संघर्ष गर्ने बनेको छ। कहिलेकाहीं हामी शहर होइन, समस्या निर्माण गरिरहेका छौं जस्तो लाग्छ। हाम्रो विकासको तरिका यस्तो छ: पहिले पर्खाल उठ्छ, पछि कोठामा जाने ढोका कहाँ राख्ने भन्ने विचार गरिन्छ। पहिले शहर फैलिन्छ, वर्षौंपछि सोधिन्छ– ‘अब सडक कहाँ निकाल्ने?’ शहर एकै दिनमा बन्छ भन्ने हुँदैन। यो दशकौंका सही र गलत निर्णयहरूको परिणाम हो।