पब्जी मोबाइल विश्वकपमा नेपालका होरा ईस्पोर्ट्स आठौँ स्थानमा, प्राप्त गरे करिब दुई करोड पुरस्कार रकम

फ्रान्सको पेरिसमा सम्पन्न पब्जी मोबाइल विश्वकपमा नेपालको होरा ईस्पोर्ट्सले कुल १०९ अंकसहित आठौँ स्थान हासिल गरेको छ। अन्तिम दिनको उत्कृष्ट प्रदर्शनका कारण होरा ईस्पोर्ट्सले आठौँ स्थान सुरक्षित गर्दै ७० हजार अमेरिकी डलर पुरस्कार जितेको छ। समूह चरणमा चौथो स्थानमा रहेर ग्रान्ड फिनालेमा प्रवेश गरेको नेपाली टोली होरा ईस्पोर्ट्सले अघिल्लो संस्करणमा नवौँ स्थान हासिल गरेको थियो।
फाइनलको अन्तिम दिन स्म्याश रुल लागू गरिएको थियो, तर खेलको निर्णय अन्तिम खेलसम्म पर्खनुपर्यो। होराले १८ खेलहरूमा कुल १०९ अंक जोडेर आठौँ स्थान पाएको हो। आठौँ स्थानमा पुगेर होराले कुल १ लाख २७ हजार ५०० अमेरिकी डलर पुरस्कार प्राप्त गरेको छ। समूह चरणबाट ५७ हजार ५०० डलर र फाइनलमा थप ७० हजार अमेरिकी डलर कमाएको होराले ठूलो सफलता हासिल गरेको छ। यो रकम नेपाली रुपैयाँमा करिब १ करोड ९४ लाख ३१ हजार रूपैयाँ बराबर हुन्छ, जुन आजको विनिमय दर अनुसार गणना गरिएको हो।
फाइनलको पहिलो दिन होराले ४ खेलमा १९ अंक जोडेको थियो भने दोस्रो दिन ८ खेलमा ३९ अंक थपेको थियो। तेस्रो दिन होराको प्रदर्शन झन उत्कृष्ट रह्यो र ५१ अंक थपियो। तेस्रो दिनको पहिलो खेलमा होराले अंक जोड्न सकेन, तर दोस्रो र तेस्रो खेलमा क्रमशः २१ र १४ अंक जोडेर उत्कृष्ट प्रदर्शन गर्यो। चौथो खेलमा जोनले साथ नदिएपछि १ अंक मात्र जोड्न सफल भयो।
पछिल्लो संस्करणमा नवौँ स्थान दर्ता गरेको होराले यसपटक राम्रो सुधार गर्दै आठौँ स्थानमा पुग्यो। समूहमा चौथो भई ५७ हजार ५०० डलर पुरस्कार पक्का गरेको थियो। ग्रान्ड फिनालेको विजेता टोली टर्कीको एसटुजी ईस्पोर्ट्सले ५ लाख अमेरिकी डलर पुरस्कार जितेको छ। पब्जी मोबाइल ग्रान्ड फिनालेमा १६ टोलीले नगद पुरस्कार पाउनेछन्।






