अफगानिस्तानले २०२६ एसियन गेम्सका लागि टोली घोषणा गर्यो, नाबीका छोरा पहिलोपटक समावेश

अफगानिस्तानले जापानमा हुने २०२६ एसियन गेम्सका लागि डार्विश रसुलीको कप्तानीमा १५ सदस्यीय युवा टोली घोषणा गरेको छ। टोलीमा अनुभवी खेलाडीहरूका साथै मोहम्मद नाबीका छोरा हसन इसाखेल पहिलोपटक सिनियर राष्ट्रिय टोलीमा समावेश भएका छन्। एसियन गेम्समा अफगानिस्तानले समूह चरणमा नेपाल र जापानसँग प्रतिस्पर्धा गर्ने तालिका छ। १ भदौ, काठमाडौं।
जापानको आइची–नागोयामा आयोजना हुने २०२६ एसियन गेम्सका लागि अफगानिस्तानले क्रिकेट टोलीमा १५ जनाको युवा टिम घोषणा गरेको छ। अफगानिस्तानले युवा खेलाडीहरूलाई प्राथमिकता दिँदै यो टोली तयार पारेको छ। अफगानिस्तान क्रिकेट बोर्डले घोषणा गरेको टोलीको कप्तानी डार्विश रसुलीले गर्नेछन्। टोलीमा अनुभवी नजिबुल्लाह जदरान र करिम जनतसहित हाल घरेलु क्रिकेटमा राम्रो प्रदर्शन गरेका युवा खेलाडीहरू समावेश छन्।
यो टोलीमा प्रसिद्ध अलराउन्डर मोहम्मद नाबीका छोरा हसन इसाखेल पहिलो पटक सिनियर राष्ट्रिय टोलीमा समावेश भएका छन्। उनी नेपाल प्रिमियर लिगको पहिलो संस्करणमा चितवन राइनोजबाट पनि खेलिसकेका छन्। घरेलु क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेका हसनलाई एसियन गेम्सका लागि टोलीमा स्थान दिएको हो। नियमित कप्तान राशिद खान यस पटक एसियन गेम्स टोलीमा छैनन्।
यस्तै रहमानुल्लाह गुरबाज, अजमतुल्लाह ओमरजाइ, नाबील लगायतका मुख्य खेलाडीहरू पनि टोलीमा समावेश गरिएका छैनन्। टोलीका अधिकांश खेलाडी हालै सम्पन्न शापागिजा क्रिकेट लिगको ११औं संस्करणबाट छनोट भएका छन्। सो प्रतियोगितामा मोहम्मद अकरमले आठ इनिङमा ३३९ रन बनाउँदै एक शतक र दुई अर्धशतक प्रहार गरेका थिए। इस्मत आलमले २९४ रनसहित नौ विकेट लिएर प्रतियोगिताको उत्कृष्ट खेलाडी ठहरिएका थिए। एसियन गेम्स अन्तर्गत क्रिकेट सेप्टेम्बर २४ देखि अक्टोबर ३ सम्म आयोजना हुँदैछ। त्यसअघि अफगानिस्तानसँग भारतका विरुद्ध दिल्लीमा तीन खेलको टी–२० अन्तरराष्ट्रीय शृंखला खेल्ने तयारी छ।
अफगानिस्तानको टोली : डार्विश रसुली (कप्तान), मोहम्मद इसाख (विकेटकिपर), मोहम्मद अकरम, हसन इसाखेल, खालिद तानिवाल, इमरान मिर, फैसल खान सिनोजादा, नजिबुल्लाह जदरान, फरमानुल्लाह सफी, इस्मत आलम, करिम जनात, नाङ्गयाल खरोटी, अरब गुल मोमन्द, फरिदुन दाउदजाई र अब्दुल्लाह अहमदजाई।






