
कोशी प्रदेशमा नेकपा एमाले र नेकपाबीच सहमतिपछि मुख्यमन्त्री हिक्मतकुमार कार्कीको नेतृत्वमा नयाँ गठबन्धन सरकार गठन भएको छ। नयाँ सरकारमा नेकपाबाट चार मन्त्री र एक राज्यमन्त्रीसहित पाँच जना सहभागी भई सोमबार अपराह्न शपथ ग्रहण गरेका छन्। मन्त्रिपरिषद् विस्तारसँगै एमालेका केही मन्त्रीहरूको जिम्मेवारी हेरफेर गरिएको छ भने जीवन आचार्यले भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी पाएका छन्। १ भदौ, विराटनगर।
नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच सहमतिपछि कोशी प्रदेशमा पुरानै नेतृत्वमा नयाँ गठबन्धन सरकार गठन भएको हो। एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डबीच ३ बुँदे सहमति भएको २३ दिनपछि कोशी प्रदेशमा हिक्मतकुमार कार्कीको नेतृत्वमा नयाँ गठबन्धन सरकार बनेको हो। यसअघि एमाले–कांग्रेस गठबन्धन हुँदा पनि कार्कीकै नेतृत्वमा गठबन्धन सरकार रहेको थियो।
तीन बुँदे सहमतिपछि ओलीले कोशी प्रदेशको मुख्यमन्त्रीबाट हिक्मतकुमार कार्कीलाई हटाएर तिलकुमार मेन्याङ्बोलाई मुख्यमन्त्री बनाउन चाहेका थिए। कार्कीलाई हटाउने प्रयास असफल भएपछि ओली पछि परे। कार्कीको निरन्तरता सुनिश्चित भएपछि नेकपा सरकारमा सहभागी भएको हो। यसअघि कार्कीको नेतृत्वमा कांग्रेसबाट ४ मन्त्री र एक राज्यमन्त्री थिए। नेकपा पनि चार मन्त्री र एक राज्यमन्त्री लिएर सरकारमा सहभागी भएको छ। नेकपाबाट पाँच जनामा तीन महिला रहेका छन्। पाँचै जना सोमबार अपराह्न शपथ ग्रहण गरेका छन्।






