Skip to main content

नेपाल विद्युत् प्राधिकरणको नाफा ३ अर्ब ८७ करोडले घट्यो

नेपाल विद्युत् प्राधिकरणको आम्दानी बढे पनि आर्थिक वर्ष २०८२/८३ मा करअघिको नाफा अघिल्लो वर्षको तुलनामा ४३ प्रतिशतले घटेर ५ अर्ब ४ करोड रुपैयाँमा सीमित भएको छ। विदेशी विनिमय दरमा भएको वृद्धि, ह्रास कट्टी र ब्याज खर्चका कारण नाफामा कमी आएको कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले बताउनुभयो। गत आर्थिक वर्षमा प्राधिकरणले कुल १ खर्ब ६६ अर्ब रुपैयाँ आम्दानी गरेको छ भने विद्युत् निर्यातबाट २९ अर्ब ३१ करोड रुपैयाँ आम्दानी गर्न सफल भएको छ।

नेपाल विद्युत् प्राधिकरणको आम्दानीमा वृद्धि भए पनि नाफामा गिरावट आएको छ। आर्थिक वर्ष २०८२/८३ मा प्राधिकरणको करअघिको नाफा ५ अर्ब ४ करोड रुपैयाँ रहेको छ। अघिल्लो आर्थिक वर्ष २०८१/८२ को तुलनामा खुद नाफा करिब ४३ प्रतिशत अर्थात् ३ अर्ब ८७ करोड रुपैयाँले घटेको हो। उक्त वर्ष प्राधिकरणको करअघिको नाफा ८ अर्ब ९१ करोड रुपैयाँ थियो। कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठका अनुसार प्राधिकरणले आर्थिक वर्ष २०८२/८३ मा विद्युत् बिक्री र अन्य आम्दानीबाट कुल १ खर्ब ६६ अर्व रुपैयाँ आम्दानी गरेको छ।

विद्युत् बिक्रीबाट प्राप्त आम्दानी अघिल्लो वर्षको तुलनामा १८.२० प्रतिशतले वृद्धि भई १ खर्ब ४८ अर्ब ६२ करोड पुगेको छ। प्राधिकरणले आफ्नो समग्र कार्यसम्पादन सुधार, विद्युत् चुहावट न्यूनीकरण, र विद्युत् निर्यातमा वृद्धि गरेको कारण आम्दानीमा सुधार भएको जनाएको छ। कुल सञ्चालन नाफा गत वर्षको तुलनामा ७.२८ प्रतिशतले वृद्धि भएको पनि जानकारी दिइएको छ।

विदेशी विनिमय दरमा वृद्धिका कारण प्राधिकरणको व्यहोर्नुपर्ने दायित्व अघिल्लो वर्षको तुलनामा २७२.८६ प्रतिशतले बढेर ११ अर्ब ५१ करोड पुगेको छ। ह्रास कट्टी र ब्याज खर्चको वृद्धिले प्राधिकरणको खुद नाफामा ह्रास आएको छ। यसैगरी, इम्पेयरमेन्ट नोक्सानी (खर्च) का लागि गरिएको व्यवस्थाले पनि नाफामा कमी ल्याएकोले यस बर्ष कम नाफा भएको हो। आर्थिक वर्ष २०८२/८३ को अन्त्यसम्म नेपालमा कुल जडित् विद्युत् उत्पादन क्षमता ४ हजार १ सय २० मेगावाट पुगेको छ।

गत वर्ष मात्र ५ सय २९ मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा थपिएको छ। प्राधिकरणका अनुसार, विद्युत ग्राहक संख्या गत वर्षको तुलनामा ३.८५ प्रतिशतले बृद्धि भई ५९ लाख २७ हजार पुगेको छ। ग्राहकमध्ये घरेलु ग्राहकको हिस्सा ९०.६४ प्रतिशत, औद्योगिक ग्राहकको हिस्सा १.२० प्रतिशत र अन्य ग्राहकहरूको हिस्सा ८.१६ प्रतिशत रहेको छ। आन्तरिक विद्युत् खपत ९.२७ प्रतिशतले वृद्धि भए पनि विद्युत चुहावट अघिल्लो वर्षको १२.२६ प्रतिशतबाट घटेर १२.१६ प्रतिशतमा कायम भएको प्राधिकरणले जनाएको छ। गत आर्थिक वर्षमा नेपालले १० अर्ब ५६ करोड रुपैयाँ विद्युत आयातमा खर्च गरेको छ भने विद्युत निर्यातबाट २९ अर्ब ३१ करोड रुपैयाँ आम्दानी गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ६८ प्रतिशतले बढी हो।