
ऊर्जा तिला पावर कम्पनीद्वारा प्रवर्द्धित ४२० मेगावाट क्षमताको तिला-२ जलविद्युत् आयोजनाका लागि बैंक तथा वित्तीय संस्थाहरूसँग वित्तीय व्यवस्थापन सम्झौता सम्पन्न भएको छ। कालिकोटमा निर्माण हुने अर्धजलाशययुक्त यस आयोजनाको कुल लागत ७० अर्ब ७ करोड रुपैयाँ रहेको छ, जसमा ७५ प्रतिशत ऋण लगानी हुनेछ। आयोजनाले सुक्खा समयमा दैनिक ६ घण्टा पिकिङ क्षमतासहित वार्षिक २३१८.७९ गिगावाट आवर विद्युत् उत्पादन गरी राष्ट्रिय प्रसारण प्रणालीमा योगदान पुर्याउने लक्ष्य राखेको छ।
१ भदौ, काठमाडौं। ऊर्जा तिला पावर कम्पनीद्वारा प्रवर्द्धित ४२० मेगावाट क्षमताको तिला-२ जलविद्युत् आयोजनाका लागि एभरेस्ट बैंक लिमिटेडको नेतृत्वमा विभिन्न बैंक तथा वित्तीय संस्थासँग लगानी सम्झौता सम्पन्न भएको छ। आयोजनामा लगानी गर्ने कन्सोर्टियम बैंकहरूमा सहअगुवाका रूपमा सानिमा बैंक रहेको छ भने प्राइम कमर्सियल बैंक, एनआईसी एसिया बैंक, र ग्लोबल आईएमई बैंक को-लिड बैंकहरू हुन्। सहभागी बैंकहरूमा सिद्धार्थ बैंक, नबिल बैंक, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, कृषि विकास बैंक, मुक्तिनाथ विकास बैंक र कामना सेवा विकास बैंक रहेका छन्।
कर्णाली प्रदेश कालिकोट जिल्लामा निर्माण हुने उक्त आयोजनामा तिलागुफा नगरपालिकामा बाँध र खाँडाचक्र नगरपालिकामा विद्युत् गृह निर्माण गरिनेछ। दैनिक ६ घण्टासम्म पिकिङ अवधारणामा सञ्चालन गर्न सकिने अर्धजलाशययुक्त (पाइप्ड रोफ रिटर्न) प्रकृतिको यो आयोजनाको कुल लागत ७० अर्ब ७ करोड रुपैयाँ छ। कुल लागतको ७५ प्रतिशत अर्थात् ५२ अर्ब ५५ करोड बैंक तथा वित्तीय संस्थाबाट ऋणका रूपमा जुटाइनेछ भने बाँकी २५ प्रतिशत अर्थात् १७ अर्ब ५२ करोड स्वपूँजीबाट व्यवस्थापन गरिने छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा तथा सर्वसाधारणका लागि २० प्रतिशत सेयर छुट्याएको छ।
आयोजनाले २०७५ भदौ ७ गते विद्युत् विकास विभागबाट विद्युत् उत्पादन अनुमति प्राप्त गरिसकेको छ भने २०७८ कात्तिक ७ गते नेपाल विद्युत् प्राधिकरणसँग २९६.७४ मेगावाट क्षमताका लागि विद्युत् खरिद-बिक्री सम्झौता (पीपीए) सम्पन्न गरेको छ। आयोजनाको निर्माण सुरु भएको चार वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। संचालनमा आएपछि सुक्खा समयमा दैनिक ६ घण्टासम्म पिकिङ क्षमतासहित सञ्चालन हुने यो आयोजनाबाट कुल वार्षिक २३१८.७९ गिगावाट आवर विद्युत् उत्पादन हुनेछ, जसमा सुक्खा समयमा पिक समयमा ४५१.०५ गिगावाट आवर, अफ पिक समयमा २०५.४५ गिगावाट आवर र वर्षायाममा १६६२.२९ गिगावाट आवर उत्पादन गरी राष्ट्रिय प्रसारण प्रणालीमा जोडिनेछ।
लगानी सम्झौता सम्पन्न भएसँगै आयोजनाको वित्तीय व्यवस्थापनको महत्वपूर्ण चरण पूरा भएको छ। उच्च माग हुने समयमा विद्युत् उत्पादन गर्न सक्ने यस आयोजनाले राष्ट्रिय विद्युत् प्रणालीमा थप योगदान पुर्याउने विश्वास गरिएको छ। यस आयोजनाका मुख्य प्रवर्द्धकहरूमा स्ट्रिम इन्भेस्टमेन्ट, ऊर्जा इम्प्याक्ट फन्ड, रविन्स यूएसए लगायत संस्थागत र व्यक्तिगत लगानीकर्ता रहेका छन्।






