
श्रीलङ्कामा चिकित्सकहरूले एक व्यक्तिको मूत्राशयबाट करिब ३.१ किलोग्राम तौल भएको पत्थरी निकालेका छन्। उनीहरूको दाबी अनुसार यो अहिलेसम्म मूत्राशयबाट निकालिएको सबैभन्दा ठूलो पत्थरी हो। यो शल्यक्रिया गत साता श्रीलङ्काको पूर्वी क्षेत्रमा अवस्थित ट्रिन्कोमालीस्थित अस्पतालमा गरिएको थियो। ती बिरामी मस्तिष्काघातपछि अस्पतालमा भर्ना भएका थिए। उनको उमेर ५५ वर्ष रहेको बताइएको छ। उपचारको क्रममा उनलाई पिसाब फेर्न समस्या भएपछि चिकित्सकहरूले मूत्राशयमा पत्थरी रहेको पत्ता लगाए।
शल्यक्रियाबाट निकालेको उक्त पत्थरी नवजात शिशुको तौलजस्ता र अस्ट्रिचको अण्डाजस्तो आकारको थियो। “उपलब्ध अभिलेखअनुसार यो अहिलेसम्म शल्यक्रियामार्फत निकालिएको सबैभन्दा ठूलो मूत्राशयको पत्थरी हो,” शल्यक्रियाको नेतृत्व गरेका डा. प्रहलहन बालकृष्णनले भने। बिरामीको स्वास्थ्य स्थिति अहिले राम्रो रहेको र अस्पतालमा अरू समस्याको उपचार भइरहेको चिकित्सकहरूले बताएका छन्।
डा. बालकृष्णनले उक्त पत्थरी बिरामीको मूत्राशयमा पाँचदेखि १० वर्षदेखी रहेक हुनसक्ने अनुमान गरेका छन्। मूत्राशयमा रहेको खनिज पदार्थहरू जमेर पत्थरी बन्न्छ। सामान्यतया मूत्राशय पूर्ण रूपमा खाली नहुँदा बाक्लो पिसाब क्रिस्टलमा परिणत भई पत्थरी बन्ने गर्दछ। सानो पत्थरीहरू भने आफैं पिसाबमा मिसिएर बाहिर निस्कन सक्छन्, तर एक सेन्टिमिटरभन्दा ठूला पत्थरी प्रायः पिसाबको प्रवाहलाई अवरुद्ध पार्छन्। ती निकालन औषधि वा शल्यक्रिया आवश्यक पर्छ।
चार सेन्टिमिटरभन्दा ठूलो पत्थरीलाई विशाल पत्थरी मानिन्छ। गिनिस वर्ल्ड रेकर्ड्स अनुसार अहिलेसम्मकै सबैभन्दा ठूलो मूत्राशयको पत्थरी सन् २००३ मा ब्राजिलबाट निकालिएको थियो। त्यसो पत्थरीको तौल १.९ केजी र लम्बाइ १७.९ सेन्टिमिटर थियो। गत साता श्रीलङ्कामा निकालिएको मूत्राशयको पत्थरी करिब १७ सेन्टिमिटर लामो थियो।






