
स्याङ्जाका दूध उत्पादक किसानलाई प्रतिलिटर पाँच रुपैयाँ अनुदान
४ भदौ, स्याङ्जा । स्याङ्जामा दूध उत्पादन गर्ने किसानहरूलाई प्रतिलिटर पाँच रुपैयाँ दरले अनुदान प्रदान गरिएको छ। भेटरिनरी अस्पताल तथा पशु सेवा कार्यालय स्याङ्जाले दूध उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले सहकारीमार्फत बिक्री भएका दूधको परिमाण अनुसार किसानहरूलाई अनुदान उपलब्ध गराएको हो। कार्यालयका अनुसार भीरकोट नगरपालिका–१ स्थित भीरकोट दुग्ध उत्पादक सहकारीमार्फत संकलन गरिएको १,२६,०२९ लिटर दूधका लागि ६ लाख ३० हजार १४५ रुपैयाँ अनुदान वितरण गरिएको छ। त्यस्तै, चापाकोट नगरपालिका–५ क्वामीस्थित रत्नपुर साना किसान सहकारीमार्फत संकलन गरिएको ७०,८१७ लिटर दूधका लागि पनि प्रतिलिटर पाँच रुपैयाँ दरले अनुदान प्रदान गरिएको छ। कार्यालयले सार्वजनिक गरेको सूचनाको आधारमा छनोट भएका सहकारीमा आबद्ध किसानहरूले गाई र भैँसी पालनबाट उत्पादन गरेको दूधमा अनुदान प्राप्त गरेका छन्, कार्यालय प्रमुख डा. रूपेश श्रेष्ठले जानकारी दिए।
उनका अनुसार सहकारीका दूध संकलन केन्द्रमार्फत बिक्री भएको दूधको परिमाणलाई आधार बनाएर अनुदान वितरण गरिएको हो। भेटरिनरी अस्पताल तथा पशु सेवा कार्यालयले दूधमा अनुदानसहितका पशुपालन तथा उत्पादन प्रवर्द्धनका विभिन्न कार्यक्रमअन्तर्गत कुल एक करोड २८ लाख ६७ हजार २०० रुपैयाँ अनुदान वितरण गरेको जनाएको छ। खोरदेखि बाख्रापालनसम्म अनुदान वृहत्तर पशु विकास प्रवर्द्धन कार्यक्रमअन्तर्गत नयाँ खोर, तारबार, टाट्नो, बोका तथा यान्त्रीकरणका लागि विभिन्न समूह तथा सहकारीलाई अनुदान प्रदान गरिएको छ। कार्यालयका अनुसार कालीगण्डकी गाउँपालिका–१ र २ मा रहेको कालीगण्डकी कृषि उद्यमी महिला सहकारी संस्थालाई ८ लाख ४६ हजार ७३९ रुपैयाँ, भीरकोट नगरपालिका–२ को बलामडाँडा शान्ति कृषि तथा पशुपन्छी पालन कृषक समूहलाई ८ लाख ११ हजार ३४ रुपैयाँ, भीरकोट–३ को बानेथोक देउराली बाख्रापालन समूहलाई ८ लाख ८८ हजार ९२४ रुपैयाँ र फेदीखोला गाउँपालिका–४ को छेलो हाल्ने महिला कृषक समूहलाई ८ लाख ४२ हजार २३१ रुपैयाँ अनुदान उपलब्ध गराइएको छ। अनि कालीगण्डकी करिडोर केन्द्रित पशुपन्छी र मत्स्य उत्पादन तथा प्रवर्द्धन कार्यक्रमअन्तर्गत गोठ तथा भकारो सुधारका लागि पकवादी कृषि सहकारी संस्थालाई १७ लाख ४० हजार ७३० रुपैयाँ, र आमा बहुउद्देश्यीय सहकारी संस्थालाई १७ लाख ६२ हजार ४४१ रुपैयाँ अनुदान प्रदान गरिएको छ। व्यावसायिक ब्लक विकास कार्यक्रमअन्तर्गत हरिनास गाउँपालिका–४, ५, ६ र ७ का लागि सूर्यमुखी बाख्रापालन तथा कृषि समूहलाई २७ लाख ८७ हजार ३०२ रुपैयाँ अनुदान दिइएको छ। कार्यालयले भनेको छ कि पशुपालन तथा कृषि क्षेत्रमा विभिन्न शीर्षकमा अनुदान दिँदै आइरहेको भएतापनि उत्पादन र वास्तविक आवश्यकताका आधारमा अनुदान वितरण, सहज र सहुलियतपूर्ण कृषि ऋण, र उत्पादित वस्तुको बजार सुनिश्चितता अहिलेको मुख्य आवश्यकताहरू हुन्।