
उपभोक्ता हित संरक्षण मञ्च नेपालकी कानुन अधिकृत आकृति त्रिपाठीले उपभोक्ताले गुणस्तर चिन्ह, लेबल, म्याद र बिल–बिजकको जांच गरेर आफ्नो अधिकार प्रयोग गर्नुपर्ने बताइन्। उनले कृत्रिम अभाव, कालोबजारी, मिसावट, म्याद गुज्रिएका सामान र भ्रामक विज्ञापनविरुद्ध वाणिज्य विभाग, उपभोक्ता अदालत र हेलो सरकारमा उजुरी गर्न सकिने उल्लेख गरिन्। बजारमा जाँदा उपभोक्ता आफूले किनेको वस्तु गुणस्तरीय छ कि छैन, लेबलमा सही विवरण छ कि छैन र आफू ठगिएमा कहाँ उजुरी गर्ने भन्ने विषयमा कति सचेत हुन्छन्? बजारमा कृत्रिम अभाव सिर्जना गरी मूल्य बढाउनेदेखि मिसावटयुक्त वस्तु तथा म्याद गुज्रिएका सामान बिक्री गर्ने समस्या व्याप्त छ। भ्रामक विज्ञापन गर्ने र समान किन्दा बिल नदिने प्रवृत्ति पनि उत्तिकै छ। यस्तो अवस्थामा आफ्नो अधिकारका लागि उपभोक्ता नै सचेत हुनुपर्ने अवस्था छ।
उपभोक्ता अधिकारबारे जानकारी हुनुका बाबजुद पनि त्यसलाई व्यवहारमा प्रयोग नगर्ने प्रवृत्तिमा परिवर्तन आवश्यक रहेको आकृति त्रिपाठीले बताइन्। उनका अनुसार उपभोक्ता अधिकार सरकार वा नियामक निकायको मात्र जिम्मेवारी होइन, स्वयं उपभोक्ताले पनि आफ्नो अधिकार माग्न र प्रयोग गर्न जान्नुपर्छ। उपभोक्ता वास्तवमा को हुने हो? सामान्य भाषामा भन्नुपर्दा कुनै पनि वस्तु, सेवा वा वर्तमान परिवेशमा डिजिटल कन्टेन्टसमेत उपभोग गर्ने व्यक्ति वा संस्था उपभोक्ता हो। उपभोक्ताको अधिकार भन्नाले उपभोक्ताले वस्तु वा सेवा उपभोग गर्दा पाउने अधिकार बुझिन्छ। ती अधिकारको सुरक्षा कुनै न कुनै निकायले गर्ने गरेको हुन्छ।
उपभोक्ता अधिकारको अवधारणा आज मात्रको होइन। यसको प्रारम्भिक रूप वस्तु तथा सेवाको आदानप्रदानसँगै विकास भएको मान्न सकिन्छ। मानिसहरूले वस्तु साटासाट गर्न थालेदेखि नै आफूले पाएको वस्तु वा सेवाको गुणस्तर र मूल्यसँग सम्बन्धित प्रश्न उठ्न थाले। विशेषगरी औद्योगिक क्रान्तिपछि वस्तुहरूको ठूलो मात्रामा उत्पादन हुन थालेपछि उपभोक्ता अधिकार अझ महत्वपूर्ण बनेको छ। उपभोक्ताले गुणस्तरीय वस्तु छनोट गर्न पाउनु उसको मूलभूत अधिकार हो। उत्पादक, पैठारीकर्ता तथा विक्रेताको दायित्व पनि कानुनले स्पष्ट गरेको छ।






