छोरीको पढाइका लागि खाली खुट्टै दौडिएकी आमा भाइरल, भारतमा शिक्षा प्रणालीको बहस सुरु

पश्चिम भारतकी रामाबाई रणवीरले दौडका लागि कुनै तालिम लिएकी थिइनन्, साथै उनीसँग दौडने जुत्तासमेत थिएन। पहिलो पटक दौडमा भाग लिएकी उनी खाली खुट्टै दौडेर प्रथम भइन्। आफ्ना श्रीमान् गुमाएकी ४७ वर्षीय रामाबाई सामुदायिक तहमा अगस्ट महिनामा आयोजना गरिएको ३ किलोमिटर लामो दौडमा भाग लिनुको एउटै उद्देश्य थियो– पुरस्कार जितेर आफ्ना दुई छोरीको पढाइ खर्च जुटाउनु। अरूभन्दा चाँडो दौड पूरा गरेपछि उनी निकै खुसी भइन्। उनले ३,००० भारतीय रुपैयाँ अर्थात ४,८०० नेपाली रुपैयाँ बराबरको पुरस्कार जितेकी थिइन्, जसले छोरीहरूको किताब र पठन सामग्री किन्न थोरै भए पनि मद्दत पुर्याउँथ्यो।
उनले पुरस्कारमा पाएको रकम धेरै थिएन। यसले भारतमा उच्च शिक्षा खर्चको एक अंश पनि नपुग्ने बताइन्छ। उनकी एक छोरीले सरकारी जागिरका लागि तयारी कक्षा लिइरहेकी छिन्, जसको शुल्क पनि उक्त पुरस्कारले पूरै तिर्न सक्दैन। तर ती दुई छोरीकी आमा खाली खुट्टै दौडिएको भिडिओ सामाजिक सञ्जाल र पत्रपत्रिकामा भाइरल भएपछि धेरैको ध्यान आकर्षित भयो। यसले भारतको शिक्षा प्रणालीमाथि थप बहसलाई जन्म दियो। “यो गौरवको कुरा हो वा हाम्रो समाजका लागि लज्जाको विषय?” सामाजिक सञ्जालका एक प्रयोगकर्ताले प्रश्न उठाएका छन्।
जीवनमा धावक बन्ने कल्पनासमेत नगरेकी ती महिला एउटा ठूलो विषयको प्रतीक बनिन्। शिक्षा पाएर आफ्ना सन्तानको जीवन राम्रो हुने आशामा केही भारतीय परिवारले कति संघर्ष गर्छन् भन्ने उदाहरणका रूपमा उनलाई हेरिन थालियो। दौडमा भाग लिने निर्णय रामाबाईका लागि निकै सजिलो थियो। “मेरी ठुली छोरी बिहानै आएर भनिन्, ‘आमा, म दौड प्रतियोगितामा भाग लिन चाहन्छु’,” बीड जिल्लास्थित आफ्नो घरबाट उनले भनिन्। “मैले उनलाई कहाँ दौडन लागेको भनेर सोधेँ, उनले नजिकै हो भनिन्। पुरस्कारको पैसा जित्न सके पढाइमा सहयोग पुग्ने कुरा उनी बताइन्छ।
नान्देडमा बस्ने उनकी कान्छी छोरी आरतीलाई किताब किन्नका लागि पैसा जुटाउनु कठिन भइरहेको थियो। “मैले उनको किताब किन्न पैसा पठाउन नसकेपछि उनी आठ दिनसम्म फोनमा कुराकानी गरिनन्। त्यसपछि मैले दौडनैपर्छ र दौड जित्नैपर्छ भन्ने निर्णय गरेँ,” रामाबाईले बताइन्। आमा छोरी नै दौडमा दौड सुरु गरेपछि उनका चप्पल फुट्न थाले। उनले चप्पल फुकालिन्, सारीलाई मजबुत बाँधिन् र खाली खुट्टै दौडिइन्। महिलातर्फ ३० देखि ६० वर्ष उमेर समूहमा अरूलाई पछि पार्दै उनी पहिलो भइन्।






