
बाढीपीडितहरूको सहयोगमा नेपाली कलाकारहरूको सक्रिय भूमिका
१४ भदौ, गत १० भदौमा आएको विनाशकारी बाढीपछिको राहत तथा उद्धार कार्यमा नेपाली कलाकारहरूले उल्लेखनीय सक्रियता देखाइरहेका छन्। देशभित्र र विदेशमा रहेका कलाकारहरुले विभिन्न तहमा सहयोग जुटाउन महत्त्वपूर्ण योगदान गरिरहेछन्। उनीहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा मात्र नभई राहत सामग्री वितरणका विविध क्षेत्रमा समेत सक्रियता जनाएका छन्।
वर्षा शिवाकोटीले ३ लाख रुपैयाँ सहयोग गरिन् भने कन्टेन्ट क्रिएटर तथा अभिनेता पारस बम ठकुरी (कुल ब्वाय)ले ५ लाख रुपैयाँ सहयोग प्रदान गरे। गायक तथा अभिनेता प्रकाश सपूतले एक लाख रुपैयाँ सहयोग गरे भने गायिका रचना रिमालले पनि योगदान दिइन्। गायिका समीक्षा अधिकारीले शनिबार कास्की जिल्लाको जिल्ला प्रशासन कार्यालयमार्फत बाढीपीडितहरूको लागि खाद्यान्नसहित अत्यावश्यक सामग्री वितरण गर्दै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग पनि गरेकी छन्।
दुर्गेश थापाले बाढी प्रभावित क्षेत्रहरूमा लत्ताकपडा, सिरक, डसना, सिरानी, तन्ना लगायत आवश्यक सामग्री वितरण गर्न नुवाकोट पुगेका थिए। पाहुना टूरको क्रममा अस्ट्रेलिया र न्यूजील्यान्ड भ्रमणमा रहेका गायक सुशान्त केसीले त्यहाँबाट बाढी प्रभावितका लागि १० लाख रुपैयाँ सहयोग दिए भने अमेरिकाका जोन एन्डी लोकल्स ब्यान्डले ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन्। कन्दरा ब्यान्डले अमेरिकाको एट्लान्टामा आयोजना गरेको प्रस्तुति श्रद्धाञ्जली तथा स्मृति कार्यक्रममा परिणत गरी त्यसबाट प्राप्त रकम आकस्मिक राहत कोषमा जम्मा गर्ने र आवश्यकताअनुसार पीडित र प्रभावित समुदायमा वितरण गर्ने योजना बनाएको छ। कलाकारहरूले आर्थिक सहयोगका साथै यस संकटको समयमा एकताको आह्वान पनि गरिरहेका छन्।