Skip to main content

चन्द्रमाको उज्यालोमा मिथिलाको आस्था

समाचार सारांश समीक्षा पश्चात तयार गरिएको। यस वर्ष तीज र चौरचन एकै दिन परेका छन्। चौरचन मिथिलामा भाद्र शुक्ल चतुर्थीको साँझ मनाइन्छ। चन्द्रमालाई अर्घ्य दिँदै परिवारको कल्याण र सन्तानको दीर्घायुको कामना गरिन्छ। हामी जहाँ धेरै पर्वहरू मनाइन्छन्। हरेक पर्वका आफ्नै विशेषता छन्। पहाडमा तीजको रौनक झल्किए पनि तराई–मधेसमा त्यसको प्रभाव छ। पहिलेकालका सांस्कृतिक परम्परामा सीमित हुने पर्वहरू अहिले सबैले साझा रूपमा मनाउन थालेका छन्। सामान्यतया तीज चौरचनको अघिल्लो दिन पर्छ भने कहिलेकाहीँ दुवै पर्व एउटै दिन पनि पर्न सक्छ। यस वर्ष तीज र चौरचन एकै दिन परेका छन्। मिथिलाकी महिलाहरूले पनि तीजको व्रत बस्ने गर्छन्। यस्तै, तराईको छठ अब अब तराईमा मात्र सीमित छैन। यस्तो सांस्कृतिक आदानप्रदानले हाम्रो समाज परिवर्तन हुँदै गइरहेको छ। एउटै देशमा बस्ने मानिसहरूले एकअर्काका आस्था, परम्परा र उत्सवलाई आत्मीय भावले स्वीकार गर्दैछन्। तीजको आफ्नै कथा छ। चौरचनको पनि मौलिकता छ। तीजमा शिव–पार्वतीको प्रेम, श्रीमानको आयु, दाम्पत्य जीवन र पारिवारिक सुख–शान्तिको कामना गरिन्छ। चौरचनमा भने मिथिलाको आँगनबाट चन्द्रमातर्फ अर्घ्य चढाइन्छ। परिवारको कल्याण, सन्तानको दीर्घायु र जीवनमा सुख–शान्तिको प्रार्थना गरिन्छ। दुबै पर्वमा महिलाको आस्था, व्रत र पारिवारिक मंगलकामना जोडिएको भए पनि सांस्कृतिक अभिव्यक्ति फरक हुन्छ। यही भिन्नताले नेपालको सांस्कृतिक विविधताको सौन्दर्य झल्काउँछ। भाद्र शुक्ल चतुर्थीको साँझमा दिनभरि आएको तातो घाम बिस्तारै कम हुन्छ। घरको आँगन सफा गरिन्छ। कतै गोबरले लिपेको भूमिमा पिठार र सिन्दूरले अरिपन (चौका) बनाइन्छ। कतै छतमा पूजा सामग्री सजाइन्छ। भान्साबाट ठेकुवा, पुरी, खीर र दहीको सुँगध फैलिएर आउँछ। घरका महिलाहरू चन्द्रमाको उदयको प्रतीक्षा गर्छन् भने बालबालिकाहरू प्रसाद पाउने उत्सुकतामा हुन्छन्। जब क्षितिजमा चन्द्रमाको उज्यालो देखा पर्छ, हातमा फलफूल, पकवान र पूजा सामग्री बोकेर परिवारका सदस्यहरू आकाशतर्फ मुख फर्काउँछन्। चन्द्रमालाई अर्घ्य दिइन्छ। यस्तो जीवन, संस्कृति, पारिवारिक सम्बन्ध र पुस्तौँदेखि चल्दै आएको आस्थामा आधारित उज्यालोलाई मिथिलामा ‘चौरचन’ भनिन्छ। चन्द्रमालाई हेर्ने कि नहेर्ने? चौरचनलाई मिथिलाको लोकभाषामा चौठिचन्द, चौठीचाण वा चौथचन्द्र पनि भनिन्छ। भाद्र शुक्ल चतुर्थी अर्थात् गणेश चतुर्थीको साँझ मनाइने यो पर्व नेपाल मधेस र कोशी प्रदेशका मैथिली सांस्कृतिक क्षेत्र र भारतको उत्तरी बिहारमा विशेष महत्वका साथ मनाइन्छ। मिथिलाको यो पर्वमा गणेश चतुर्थीको दिन चन्द्रमा हेर्न नहुने जनविश्वास पाइन्छ। तर त्यहीं दिन चन्द्रमालाई श्रद्धापूर्वक अर्घ्य दिइन्छ। यही भिन्नताले चौठिचन्दलाई मनोरम बनाउँछ। चौरचनको दिन चन्द्रमालाई अर्घ्य दिनेलाई आफ्नो परिवारको कल्याण, सन्तानको दीर्घायु र जीवनमा सुख–शान्तिको कामना गरिन्छ। यसकारण यो पर्व चन्द्रपूजा मात्र नभई पारिवारिक मंगलकामनाको पर्व पनि हो। चौरचनसँग जोडिएको चर्चित पौराणिक विश्वास चन्द्र दर्शन र गलत कलंकसँग सम्बन्धित छ। लोकविश्वास अनुसार गणेश चतुर्थीमा चन्द्रमालाई हेर्दा व्यक्तिलाई झुठा आरोप वा कलंक लाग्न सक्छ। कतिपय ठाउँमा चोरीको आरोप वा चरित्रसम्बन्धी गलत दोषसँग पनि जोडिन्छ। यो कारणले कतिपय धार्मिक परम्परामा चन्द्र दर्शन नगर्ने नीति पाइन्छ। गणेश र चन्द्रमाको सम्बन्धित कथा प्रचलित छ। कथाअनुसार एकपटक चन्द्रमाले गणेशको रूपमा उपहास गरेपछि क्रोधित गणेशले ‘भाद्र शुक्ल चतुर्थीमा तिमीलाई हेर्ने मानिस कलंकित हुनेछन्’ भनेर चन्द्रमालाई श्राप दिएका थिए। पछि चन्द्रमाले माफी मागेपछि श्राप कम भयो र यस दिन विधिपूर्वक चन्द्र पूजा गरी अर्घ्य दिएमा कलंकबाट मुक्ति पाइन्छ भन्ने कथा छ। चौरचनमा चन्द्रमाको पूजा यही लोकविश्वाससँग जोडिएको मानिन्छ। तर यसको कथा मात्र यही सीमित छैन। श्रीमद्भागवत महापुराणमा वर्णित स्यमन्तक मणिको प्रसंगलाई पनि यस पर्वसँग जोडिन्छ। श्रीकृष्ममाथि स्यमन्तक मणि चोरीको आरोप लाग्छ तर पछि त्यो आरोप गलत प्रमाणित हुन्छ। यो कथालाई चौठीचन्द्रको दिन चन्द्र दर्शनले लाग्ने कलंकसँग जोडेर व्याख्या गर्ने परम्परा छ। मिथिलाको आँगनमा चौरचन चौरचनको दिन घर सफा गरी आँगन लिपपोत गरिन्छ। पिठार र सिन्दूरले अरिपन (चौका) बनाइन्छ। अरिपन मिथिलाको परम्परागत चित्रकला हो जसमा धार्मिक विश्वास, प्रकृति र जीवनका प्रतीकहरू समेटिएका छन्। त्यही चौकामा पूजा सामग्री राखिन्छ। धूप, बत्ती, फूल, अक्षता, सिन्दूर तथा अन्य सामाग्री राखिन्छ। घरमा बनाइएका पकवान र प्रसादलाई विशेष मान दिइन्छ। ठेकुवा, पुरी, खजुरिया, दही, खीर, मिठाई, फलफूल, मखान आदि सामग्री स्थान र परिवार अनुसार तयार गरिन्छ। कतिपय घरमा माटोको भाँडोमा दही जमाइन्छ। मौसम अनुसार केरा, काँक्रो, स्याउजस्ता फलफूल पनि पूजा सामग्रीमा राखिन्छन्। चौरचनको साँझ चन्द्रमा उदाएपछि परिवारका सबै सदस्यहरू पूजा सामग्री लिएर आँगन वा छतमा जम्मा हुन्छन्। व्रतालुहरूले चन्द्रमालाई अर्घ्य दिन्छन्। परिवारका सदस्यहरूले चन्द्रमालाई प्रणाम गर्दै सन्तानको दीर्घायु, परिवारको सुख तथा जीवनको समृद्धिका लागि कामना गर्छन्। पूजा सकिएपछि प्रसाद ग्रहण गरिन्छ र व्रत समाप्त हुन्छ। त्यसपछि परिवारमा खुशी र आत्मीयता फैलिन्छ। प्रसादको मिठास भन्दा परिवारको समन्वित मिठास ठूलो हुन्छ। अन्न, प्रकृति र श्रमको सम्मान चौरचनको प्रसाद प्राकृतिक स्रोत तथा मानवीय श्रमबीचको सम्बन्धलाई सम्झाउँछ। चामल खेतबाट आउँछ, दूध पशुपालनबाट, फलफूल प्रकृतिको उपहार हुन्। ठेकुवा र पुरी घरको भान्सामा बनाइन्छ। यसले किसानको पसिना, पशुपालकको मेहनत र घर सम्हाल्ने महिलाको परिश्रम देखाउँछ। प्रकृतिको उदारतासँग मानिसको सम्बन्ध झल्काउँछ। त्यसैले चौरचनको प्रसादलाई केवल धार्मिक भोग मात्र हैन, अन्न, श्रम र प्रकृतिप्रति कृतज्ञता पनि मानिन्छ। मिथिलाको कृषि संस्कृतिमा चन्द्रमा, ऋतु, वर्षा र अन्नबालीको गहिरो सम्बन्ध छ। चन्द्रमाको शीतल उज्यालोमा अर्घ्य दिँदै परिवार जीवन धान्ने प्रकृतिप्रति आभार प्रकट गर्छ। बदलिँदो समय र चौरचन आजको समयमा गाउँका माटोका आँगनहरू धेरै ठाउँमा सिमेन्ट भएका छन्। संयुक्त परिवारहरू एकल परिवारमा रूपान्तरण हुँदै छन्। युवा रोजगारी र अध्ययनका लागि शहर र विदेशमा छन्। तर चौरचनको आस्था हराएको छैन। कतै गाउँको आँगनमा दियो बलिरहेको छ, कतै शहरको छतमा अरिपन बनाइएको छ। कतै विदेशमा रहेका छोरी–बुहारी भिडियो कलमार्फत परिवारको पूजामा सहभागी हुँदैछन्। परम्पराको स्वरूप बदलिन सक्छ, पूजा सामग्री फरक पर्न सक्छ, बस्ने स्थान पनि परिवर्तन हुन सक्छ। तर परिवारको मंगलकामना र संस्कृतिप्रतिको आत्मीयता यथावत रहनेछ।