
१३ असोज, बेइजिङ । चीनले एकै दिन चार ठूला उच्चगतिका रेलमार्गहरू सञ्चालनमा ल्याएको छ। यी नयाँ रेलमार्गहरू हेबेई प्रान्तको स्युङआनदेखि हेनानको साङछिउ, शान्सीको सिआनदेखि आनकाङ, हुबेईको यिछाङदेखि सिङसान र हेइलोङजियाङको हार्बिनदेखि यिछुनसम्म रहेका छन्। यी नयाँ रेलमार्गहरूले चीनका विभिन्न क्षेत्रहरूबीच यातायात सम्पर्कलाई अझ सहज बनाउँदै क्षेत्रीय आर्थिक विकासमा ठूलो योगदान पुर्याउने अपेक्षा गरिएको छ, चीनको समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ। चीन विश्वकै सबैभन्दा ठूलो उच्चगतिको रेल सञ्जाल भएको देश हो।
उत्तरी चीनमा रहेको स्युङआन–साङछिउ खण्डको मुख्य रेलमार्ग ५५२ किलोमिटर लामो छ। यसले स्युङआन नयाँ क्षेत्र हुँदै हेबेई, शानडोङ र हेनानका विभिन्न शहरहरू जोड्दै साङछिउसम्म पुग्छ। चीन रेलवे बेइजिङ ग्रुपका अनुसार, यस खण्डमा रेल सञ्चालनपछि स्युङआनदेखि साङछिउसम्मको यात्रा समय २ घण्टा २७ मिनेटमा सिमित हुनेछ। उत्तरपश्चिम चीनमा सञ्चालनमा आएको सिआन–आनकाङ रेलमार्ग १७१ किलोमिटर लामो छ। छिनलिङ पर्वतमाला पार गर्ने क्रममा जटिल भौगोलिक अवस्था र वातावरण संरक्षणलाई मध्यनजर राखेर निर्माण गरिएको यस रेलमार्गको डिजाइन गति प्रतिघण्टा ३५० किलोमिटर छ। यसमार्फत सिआनदेखि आनकाङसम्मको यात्रा करिब ४५ मिनेटमै पूरा हुनेछ।
केन्द्रीय चीनमा रहेको यिछाङ–सिङसान खण्ड निर्माणमा पनि कठिन भौगोलिक चुनौतीहरू पार गरिएको थियो। यो रेलमार्ग दाबा पर्वत हुँदै अघि बढ्छ, जसमा १६.९ किलोमिटर लामो गहिरो सुरुङ र उच्च उचाइमा विशाल पुल निर्माण गरिएको छ। यो रेलमार्गले याङ्त्से नदी हुँदै जाने सांघाई–छोङछिङ–छेङ्दु उच्चगति रेलमार्ग र छेङ्दु–छोङछिङ उच्चगति रेलमार्गलाई जोड्नेछ। यसले याङ्त्से नदी आर्थिक क्षेत्रमा आर्थिक क्रियाकलाप विस्तारमा थप गति प्रदान गर्ने चीन रेलवे वुहान ग्रुपले जनाएको छ।
पर्माफ्रोस्ट क्षेत्रमा समेत रेलमार्ग निर्माण उत्तरपूर्वी चीनमा सञ्चालनमा आएको हार्बिन–यिछुन उच्चगति रेलमार्ग ३१८ किलोमिटर लामो छ। यो चीनमा अहिलेसम्म बनेको सबैभन्दा उत्तरी उच्चगति रेलमार्ग हो। यो रेलमार्गको यिछुन वेस्ट स्टेशन समुद्री सतहबाट करिब ४७ डिग्री उत्तरी अक्षांशमा रहेको छ। चीन रेलवे कन्स्ट्रक्सन ग्रुपका अनुसार, पर्माफ्रोस्ट अर्थात् स्थायी रूपमा जमेको भूभागमा बनेको चीनको पहिलो उच्चगति रेल स्टेशन भवन हो। हार्बिनलाई यिछुनसँग जोड्ने यस नयाँ रेलमार्गले दुई शहरबीचको यात्रा समय करिब ७ घण्टाबाट घटाएर २ घण्टामा पुर्याउनेछ। यसले चीनको उच्चगति रेल सञ्जाललाई उत्तरी र तुलनात्मक रूपमा कम पहुँच भएका क्षेत्रहरूमा समेत विस्तार गरेको छ।
पर्यटन प्रवर्द्धनमा सहयोग गर्ने अपेक्षा चीनको राष्ट्रिय दिवसअघि सञ्चालनमा आएका यी रेलमार्गले पर्यटन प्रवर्द्धनमा पनि सहयोग गर्ने अपेक्षा गरिएको छ। नयाँ मार्गले प्रमुख शहरहरूलाई यिछाङको थ्री गर्जेज बाँध र यिछुनका वन क्षेत्रहरु जस्ता पर्यटकीय गन्तव्यहरूसँग जोड्नेछ। चीन स्टेट रेलवे ग्रुपका अनुसार, सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म चल्ने मध्य–शरद पर्व तथा राष्ट्रिय दिवसको लामो बिदामा करिब २८ करोड ४० लाख यात्रु आवतजावत गर्ने अपेक्षा गरिएको छ। चीनले घरेलु बजार र उद्योगको बढ्दो आवश्यकतालाई ध्यानमा राख्दै उच्चगति रेल सञ्जालको विस्तार र स्तरोन्नतिलाई तीव्रता दिएको छ। सन् २०२५ को अन्त्यसम्म चीनमा सञ्चालनमा रहेका कुल रेलमार्गहरूको लम्बाइ १ लाख ६५ हजार किलोमिटर पुग्नेछ, जसमा ५० हजार किलोमिटरभन्दा बढी उच्चगतिका रेलमार्गहरू समावेश हुनेछन्।






