मुद्दा अझै लामो समयसम्म चल्नेछ – म्यानचेस्टर सिटीका प्रमुख कार्यकारी अधिकृत फेरान सोरियानो

१३ असोज, काठमाडौं । प्रिमियर लिगका धेरै आर्थिक आरोपमा दोषी ठहर भएपछि म्यानचेस्टर सिटीका प्रमुख कार्यकारी अधिकृत फेरान सोरियानोले क्लबले आरोपविरुद्ध कानुनी लडाइँ जारी राख्ने बताएका छन् । युरोपियन फुटबल क्लबहरूको बोर्ड बैठकमा उनले उक्त प्रक्रिया लामो समयसम्म चल्ने बताए । सोरियानोले अन्य क्लबका कार्यकारीहरूसमक्ष सिटीले आरोपविरुद्ध लड्ने र कानुनी प्रक्रिया अझै धेरै बाँकी रहेको स्पष्ट पारेका थिए ।
प्रेस एसोसिएशनका अनुसार सोरियानोले सन् २०१८ मा प्रिमियर लिगको अनुसन्धान सुरु भएको उल्लेख गर्दै भने, ‘यहाँसम्म आइपुग्न आठ वर्ष लाग्यो र अझै धेरै समय लाग्नेछ ।’ बैठकपछि सञ्चारकर्मीको प्रश्नको जवाफ नदिइ फर्किएका थिए । म्यानचेस्टर सिटीमाथि प्रिमियर लिगका वित्तीय नियम उल्लंघनसम्बन्धी ११५ आरोप लगाइएको थियो र तीमध्ये अधिकांश प्रमाणित भएको रिपोर्ट शुक्रबार सार्वजनिक गरिएको छ ।
क्लबमाथि सम्बन्धित कम्पनीबाट प्राप्त प्रायोजन आम्दानी बढाएर देखाएको र वित्तीय नियम छल्न अन्य भुक्तानी लुकाएको आरोप गरिएको थियो । सिटीले उक्त निर्णयविरुद्ध अपिल गर्ने तयारी गरेको जानकारी प्राप्त छ । केही प्रिमियर लिग क्लबहरूले पनि सम्बन्धित संभवित क्षतिपूर्तिका विषयमा कानुनी सल्लाह लिन थालेका छन् ।
क्लबमाथि हुनसक्ने कारबाही भने अहिलेसम्म घोषणा भएको छैन । अपेक्षित कारबाहीमा अंक कटौती, ठूलो जरिवाना वा प्रिमियर लिगबाट निष्कासनसम्मका विकल्पहरू हुन सक्छन् । प्रिमियर लिगले यसबारे टिप्पणी गर्न अस्वीकार गरेको छ । सिटीले कानुनी प्रक्रिया अझै जारी रहेको र महत्वपूर्ण पक्षहरू पूरा हुन बाँकी रहेको जानकारी त गरे पनि प्रक्रिया गोपनीय रहेको जनाएको छ । सिटीका अध्यक्ष खाल्दुन अल मुबारकले शनिबार समर्थकलाई पत्र लेख्दै क्लबले आफ्नो निर्दोषता प्रमाणित गर्ने विश्वास व्यक्त गरेका थिए । उनले कानुनी प्रक्रियाका कारण आफ्नो पक्षका सबै कुरा सार्वजनिक गर्न नसकेको भनेका थिए । ‘प्रिमियर लिगको प्रक्रिया अझै लामो छ र क्लबको निर्दोषता प्रमाणित गर्ने हाम्रो आत्मविश्वास र दृढता सुरुदेखि नै बलियो छ’ अल मुबारकले उल्लेख गरेका थिए।





