Skip to main content

मलेसियाबाट म्यान्माका नागरिकहरू स्वदेश फर्काइँदै

१३ असोज, क्वालालम्पुर (रासस/एएफपी)। मलेसियाले मंगलबार लगभग एक हजार ५ सय म्यान्माका नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको छ। यो म्यान्माका पाँच हजार नागरिकलाई स्वदेश फिर्ता पठाउने योजनाको पहिलो चरण हो। मलेसिया सरकारले उनीहरूलाई स्वेच्छिक रूपमा स्वदेश फर्काउन लागिएको जानकारी दिएका छन्। तर, मानवअधिकार तथा आप्रवासी अधिकारसम्बन्धी संस्थाहरूले हिरासत केन्द्रमा रहेका कठिन परिस्थितिका कारण ती नागरिकहरू स्वदेश फर्कन बाध्य भएका हुन सक्छन् भनी चिन्ता व्यक्त गरेका छन्।

म्यान्मामा सन् २०२१ देखि जारी सशस्त्र द्वन्द्वका कारण सुरक्षा अवस्था अझै अस्थिर रहेकाले स्वदेश फर्काइएका व्यक्तिहरू जोखिममा पर्न सक्ने मानवअधिकारवादी संस्थाहरूको भनाइ छ। मंगलबार प्रहरी सुरक्षासहित दर्जनौँ बसहरू लुमुटस्थित एक रंगशालामा पुगेका थिए। त्यहाँ आवश्यक प्रक्रिया पूरा गरेपछि उनीहरूलाई नजिकैको नौसैनिक केन्द्रमा लगिने र जहाजमार्फत म्यान्मामा पठाइने बताइएको छ।

पहिलो समूहमा कति रोहिंग्या रहेको छ भन्नेबारे मलेसिया र म्यान्माले अहिलेसम्म स्पष्ट जानकारी दिएका छैनन्। संयुक्त राष्ट्रसंघका अनुसार मलेसियामा रहेका करिब एक लाख ९० हजार म्यान्माका शरणार्थी तथा शरण खोजिरहेका व्यक्तिमध्ये करिब दुई तिहाइ रोहिंग्या छन्। रोहिंग्या समुदाय लामो समयदेखि म्यान्मामा उत्पीडनमा परेको बताइन्छ। सन् २०१७ मा भएको सैन्य कारबाहीपछि लाखौँ रोहिंग्या म्यान्माबाट विस्थापित भएका थिए। मलेसिया सन् १९५१ को शरणार्थीसम्बन्धी महासन्धिको पक्षराष्ट्र होइन र त्यहाँ शरणार्थीलाई औपचारिक कानुनी मान्यता पनि छैन। मानवअधिकार संस्थाहरूले म्यान्माको वर्तमान सुरक्षा अवस्थालाई ध्यानमा राख्दै स्वदेश फिर्ता प्रक्रिया तत्काल रोक्न माग गरेका छन्।