ओडीआई रैंकिङमा अस्ट्रेलिया एक स्थान तल झर्यो, इंग्ल्यान्ड र पाकिस्तानले गर्यो उकालो

१३ असोज, काठमाडौं । आईसीसी ओडीआई टोली वरीयतामा विश्व विजेता अस्ट्रेलियन क्रिकेट टोली एक स्थान तल झरेको छ। आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयतामा अस्ट्रेलिया चौथो स्थानबाट पाँचौं स्थानमा झरेको छ भने पाकिस्तान चौथो स्थानमा उक्लिएको छ। यद्यपि, अस्ट्रेलिया र पाकिस्तानको वरीयता अंक समान १०० रहेको छ। हाल अस्ट्रेलिया दक्षिण अफ्रिकासँग शृङ्खला खेलिरहेको छ र दुई खेलमा पराजित भइसकेको छ।
इंग्ल्यान्डले पनि एक स्थान माथि उक्लिएर छैटौं स्थानमा पुगेको छ। इंग्ल्यान्डले श्रीलंकासँग ओडीआई शृङ्खला खेलिरहेको छ, जहाँ पहिलो खेल जितेको थियो र दोस्रो खेलमा पराजित भएको थियो। इंग्ल्यान्ड र श्रीलंकाको रेटिङ अंक समान ९५ रहेको छ। ओडीआई वरीयतामा शीर्ष स्थान भारतले कायम राखेको छ, दोस्रो स्थानमा न्युजिल्यान्ड र तेस्रो स्थानमा दक्षिण अफ्रिका कायम छन्। खेलाडीहरूको व्यक्तिगत वरीयता बुधबार अपडेट गरिनेछ।






