Skip to main content

नेपाल पुलिसले जित्यो मदन भण्डारी कप अन्तर्राष्ट्रिय भलिबल उपाधि

१८ असोज, बुटवल। दोस्रो संस्करणको मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रण रनिङ्ग शिल्ड पुरुष भलिबल प्रतियोगिताको उपाधि विभागीय टोली नेपाल पुलिस क्लबले जितेको छ। बुटवलको बीआईसीसी सम्मेलन केन्द्रमा शनिबार भएको फाइनल खेलमा पुलिसले सभापोखरी भलिबल क्लब संखुवासभालाई ३–० को सोझो सेटमा हराउँदै उपाधि प्राप्त गर्‍यो। पुलिसले सभापोखरीमाथि २५–२३, २५–२३, २५–२२ को नतिजामा जित हासिल गर्‍यो। भारतीय खेलाडी समेत रहेको सभापोखरीमाथि पुलिसले उत्कृष्ट दबाबमूलक खेल प्रदर्शन देखायो।

लिग चरणदेखि नै राम्रो प्रदर्शन गरिरहेको सभापोखरी फाइनलमा भने निराश तुल्यायो। उपाधिसँगै पुलिसले सात लाख रुपैयाँ पुरस्कार प्राप्त गर्‍यो। उपविजेता सभापोखरीले तीन लाख ५० हजार रुपैयाँ पुरस्कार पायो। त्यस्तै विभागीय टोली एपिएफ क्लब प्रतियोगितामा तेस्रो स्थानमा रह्यो। तेस्रो स्थानका लागि शनिबार गरिएको खेलमा एपिएफले खैरा भलिबल क्लब पञ्जाबलाई ३–१ को सेटमा हरायो। एपिएफले खैरामाथि १८–२५, २५–१९, २५–१३, २५–११ को नतिजामा जित हात पारे।

तेस्रो स्थान हासिल गरेको एपिएफले एक लाख ७५ हजार रुपैयाँ पुरस्कार पायो। चौथो स्थानमा रहेको खैरा भलिबल क्लबले सान्त्वना स्वरूप ७५ हजार रुपैयाँ पुरस्कार पायो। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी पुलिसका पहल गहतराज घोषित भए, जसले १५ हजार रुपैयाँ पुरस्कार पाएका छन्। त्यस्तै विभागगत अवार्डमा एपिएफका सरोज बर्देवा उत्कृष्ट स्पाइकर, पुलिसका बलराम गुरुङ उत्कृष्ट सेटर, पुलिसका रेशम छन्त्याल उत्कृष्ट सर्भर, सभापोखरीका सिभानसेन भी उत्कृष्ट ब्लकर, सभापोखरीका सन्तोष राई उत्कृष्ट डिफेन्डर र पुलिसका चन्द्र कुँवल उत्कृष्ट प्रशिक्षकका रूपमा चयन भए। उत्कृष्ट सबै खेलाडीले जनही आठ हजार रुपैयाँ पुरस्कार पाएका छन्। प्रतियोगिताको विजेता टोली र खेलाडीहरूलाई लुम्बिनी प्रदेशका युवा तथा खेलकुद मन्त्री रामजी घिमिरे, पूर्व मन्त्री एवं नेकपा एमालेका छवीलाल विश्वकर्मा, प्रदेश सभा सदस्य भोज प्रसाद श्रेष्ठ र विष्णु पन्थी, बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रा अर्याल तथा आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले पुरस्कार प्रदान गरेका थिए। असोज १२ गतेदेखि सुरु भएको प्रतियोगितामा विदेशका तीन र नेपालको चार गरी कुल सात टोलीले भाग लिएका थिए।