Skip to main content
Advertisementxtreme adv

मोन्स्टर्स गाइज सुनवलले जित्यो २४औं लिस्नु कपको उपाधि

१९ असोज, बुटवल । २४औं लिस्नु कप नकआउट फुटबल प्रतियोगिताको उपाधि मोन्स्टर्स गाइज सुनवलले जितेको छ । आइतबार तिलोत्तमा–१५ कोटिहवास्थित पशुपति माध्यमिक विद्यालयको मैदानमा भएको फाइनलमा आयोजक लिस्नु युवा क्लबलाई ६–२ गोलले पराजित गर्दै मोन्स्टर्स गाइज च्याम्पियन बनेको हो । मोन्स्टर्स गाइजका लागि १२औं मिनेटमा सामुयल सुनार, १७औं मिनेटमा सवि गुरुङ, ३८औं र ४६औं मिनेटमा विदेशी खेलाडी विन्दे तथा ५१औं र ७४औं मिनेटमा बिकी राईले गोल गरेका थिए । आयोजक लिस्नुका लागि गणेश हमालले आठौँ मिनेटमा पहिलो गोल गरेका थिए भने सुशिल राईले ८४औं मिनेटमा दोस्रो गोल थपेका थिए ।

प्रतियोगितामा मोन्स्टर्स गाइजका प्रतिक सुनार उत्कृष्ट गोलरक्षक, विदेशी खेलाडी सिल्लाह उत्कृष्ट डिफेंडर, लिस्नुका सुशिल राई उत्कृष्ट मिडफिल्डर, मोन्स्टर्सका बिकी चामलिङ राई सर्वाधिक गोलकर्ता तथा लिस्नुका विश्व थापा उदयमान खेलाडी घोषित भए । फूलवारी गाइज बुटवलले अनुशासित टिमको पुरस्कार पायो । मोन्स्टर्सका सदीप केसी प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भएको म्याच कमिशनर सुरज खरेलले बताए । प्रतियोगितामा रुपन्देही, चितवन, कास्की, स्याङ्जा, पश्चिम नवलपरासी, पाल्पा र कपिलवस्तुका १२ टोलीको सहभागिता थियो । विजेताले ३ लाख ५१ हजार १११ रुपैयाँ तथा उपविजेताले २ लाख १ हजार १११ रुपैयाँसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गरे । उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, सर्वाधिक गोलकर्ता र उदयमान खेलाडीलाई जनही ११ हजार रुपैयाँ प्रदान गरिएको थियो । बिजयी टिम तथा खेलाडीलाई क्लबका अध्यक्ष तीर्थराज मल्ल, तिलोत्तमा–१५ का वडाध्यक्ष खेमराज गुरुङलगायतले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए ।